निर्वाचनको स्वच्छतालाई खल्बल्याउँछु सोच्नु दिवास्वप्न मात्रै हुन्छ : दिनेश थपलिया – Nepal Press

निर्वाचनको स्वच्छतालाई खल्बल्याउँछु सोच्नु दिवास्वप्न मात्रै हुन्छ : दिनेश थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेकाले आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागेको भन्ने मनोगत प्रकारका मिथ्या सूचना प्रवाह नगर्न आग्रह गरेका छन् । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि सञ्चालनमा ल्याएको निर्वाचन इ—बुलेटिन र कल सेन्टरको शुभारम्भ कार्यक्रममा प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् ।

आयोग आफ्नो संवैधानिक दायित्व, प्रेस स्वतन्त्राको हक र सम्बन्धित निकायको जिम्मेवारीप्रति आफूहरू स्पष्ट रहेको बताए । उनले सञ्चारमाध्यमका अन्तर्राष्ट्रिय मूल्य र मान्यताप्रति आयोगले सँधै सम्मान गर्ने र आयोगका औपचारिक दस्तावेजमा निर्वाचनको वातावरण र यसलाई स्वच्छ, निपष्क्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आम सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको स्पष्ट उल्लेख गरिएको स्मरण गराए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आयोगका बारेमा कतिपय मिथ्या सूचना आएकामा हामी गम्भीर भएका छौँ । हामी कसैको निगरानी गर्दैनौँ । हामी सञ्चारमाध्यमलाई हाम्रो पनि निगरानी गरिदिन आग्रह गर्दछौँ । तर, सानातिना विषयलाई विवादमा ल्याएर निर्वाचनको स्वच्छतालाई खल्बल्याउन सक्छु भन्ने कसैले सोचेको छ भने त्यो दिवास्वप्न मात्रै हुनेछ । असल प्रयत्नलाई गलतरूपमा नबुझ्न म आग्रह गर्दछु ।’

उनले प्रेस काउन्सिल नेपाल, ऐन २०४८ बमोजिम काउन्सिलले गहनतापूर्वक पत्रकार आचारसंहिताको अनुगमन गरोस् र त्यसबारे आयोगलाई जानकारी गराओस् भनेर निर्देशन दिने निर्णय भएको पनि स्पष्ट पारे । प्रमुख आयुक्त थपलियाले काउन्सिल सशक्त होस् र पत्रकार आचारसंहिताबमोजिम सञ्चारमाध्यमलाई स्वनियमन र स्वमूल्यांकन गराउन काउन्सिलले पहल गरोस् भन्ने आयोगको चाहना रहेको पनि अवगत गराए । स्वनियमन र स्वमूल्यांकनलाई प्रभावकारी बनाउँदा सञ्चारमाध्यमलाई कसैले निर्देशन दिइरहनु वा उसमाथि अनुगमन गरिरहनुनपर्ने पनि उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *