निर्वाचन इ-बुलेटिनको शुभारम्भ – Nepal Press

निर्वाचन इ-बुलेटिनको शुभारम्भ

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन इ—बुलेटिन सञ्चालन गरेको छ ।

आयोगले स्थापना गरेको प्रेस अफिसको संयोजनमा सञ्चालित भएको सो इ-बुलेटिनको शुक्रवार एक कार्यक्रमकाबीच आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुभारम्भ गरेका हुन् ।

इ-बुलेटिन शुभारम्भ गर्दै थपलियाले सञ्चारमाध्यम र सम्बद्ध पक्षलाई आयोगका निर्णय, गतिविधि र निर्वाचनका सूचना अनलाइनका रूपमा प्रवाह गर्न उक्त सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।

निर्वाचन लक्षित नि:शुल्क ११०२ नम्बरको कल सेन्टर 

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै कल सेन्टर सञ्चालनमा ल्याएको छ । मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालाका प्रश्न तथा जिज्ञासालाई सम्बोधन गर्न स्थापित कल सेन्टरको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुभारम्भ गरे ।

निःशुल्क रहेको टोल फ्री नं ११०२ नम्बरमा जुनसुकै दूर सञ्चार सेवा प्रदायकका फोनबाट सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा आएको हो । कल सेन्टर २४ घण्टा नै सञ्चालनमा रहने छ । यद्यपि तत्कालका लागि कर्मचारी भने दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म रहने छन् ।

उनीहरू नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वतः रेकर्ड हुने व्यवस्था गरिएको थपलियाले बताए । उक्त रेकर्डेड प्रश्नलाई पछि कर्मचारीले सुनेर सम्बन्धित व्यक्तिको उत्तर दिने व्यवस्था गरिएको छ । कल सेन्टरको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले शिष्ट र नम्र भाषामा प्रश्नकर्ताको उत्तर दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर