गृहमन्त्रीको निर्वाचन क्षेत्रमा अदलबदल : एकैदिन राप्रपाका नगर अध्यक्ष कांग्रेस र कांग्रेसका अध्यक्ष राप्रपा प्रवेश – Nepal Press

गृहमन्त्रीको निर्वाचन क्षेत्रमा अदलबदल : एकैदिन राप्रपाका नगर अध्यक्ष कांग्रेस र कांग्रेसका अध्यक्ष राप्रपा प्रवेश

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सिद्धार्थनगर नगरपालिका नगर सभापति ई. चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले उनलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । रुपन्देही ३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए ।

उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि छन् । लुम्बिनी विकास कोषमा काम गरेका ई. श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा दखल राख्छन् । उनलाई पार्टी प्रवेश गरेलगत्तै कांग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरेको जिल्ला सभापति रामकृष्ण खाणले बताए ।

शुक्रबार नै नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दल शुद्धोधन गाउँपालिका रुपन्देहीका निवर्तमान सभापति ओमप्रकाश चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन् ।

कांग्रेस परित्याग गरेका चौधरीलाई राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही–३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, पूर्वगृहमन्त्री निरञ्जन थापालगायत नेताले पार्टीमा प्रवेश गराएका हुन् । चौधरीसहित दर्जनौं युवाहरु राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

रुपन्देही क्षेत्र नं २ मा नेताहरुले दल अदलबदल गरिरहेका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रस नेता तथा गृहमन्त्री बालकृष्ण खाण तथा एमाले र जसपाको समर्थनमा राप्रपा नेता दीपक बोहोरा प्रतिनिधि सभाका लागि मैदानमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर