‘पृथ्वीसुब्बासँग उच्चस्तरको समझदारी छ, गण्डकीमा बहुमतको सरकार बनाउँछौं’ – Nepal Press
नेपाल टक

‘पृथ्वीसुब्बासँग उच्चस्तरको समझदारी छ, गण्डकीमा बहुमतको सरकार बनाउँछौं’

खगराज भन्छन्- पीएस गुरुङ र म रोजेर होइन पार्टीले खटाएको ठाउँमा उठेका हौं, गण्डकीमा प्रत्यक्षतर्फ २२ सीट जित्छौं

पाेखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख हुन्, खगराज अधिकारी । स्वास्थ्य र गृह मन्त्रालय सम्हालिसकेका अधिकारी आगामी चुनावमा भने प्रदेशसभामा लड्दैछन् । उनी निर्वाचनपछि मुख्यमन्त्रीका प्रबल दावेदार मानिन्छन् । उनको इच्छा पनि त्यही नै छ । कास्की १ (क) बाट प्रदेशसभा निर्वाचन लड्न लागेका अधिकारी आफूलाई केन्द्रीय राजनीतिमै खुशी हुने व्यक्तिका रुपमा चित्रण गर्छन् । तर, उनी किन अहिले प्रदेशसभा निर्वाचन लड्न राजी भए ? उनले जित्ने आधार के के छन् ? पार्टीमा गुट-उपगुटको चर्चा चल्दा उनलाई जित्न कति सहज छ ?

यी नै विषयमा केन्द्रित रहेर नेता खगराज अधिकारीसँग नेपालप्रेसका अनिष भट्टराईले गरेको कुराकानी यहाँ प्रस्तुत छः

– प्रतिनिधिसभा सदस्य, स्वास्थ्यमन्त्री, गृहमन्त्री भइसक्नुभएको व्यक्ति, प्रदेशमा चाहिँ के गर्न सक्छु भन्ने लागेर झर्नुभयो ?

पहिलो कुरा त पार्टी नेकपा एमालेले आफ्ना नेता, कार्यकर्तालाई संघीय संसद वा प्रदेशसभामा लडाउने, समानुपातिकमा राख्ने निर्णय गर्छ । मैले पनि मेरो इच्छाभन्दा पार्टीको निर्णयलाई मानेको हुँ ।

जनताको नजिकको सरकार प्रदेश सरकार हो । स्थानीय सरकार र केन्द्र सरकारबीच समन्वय गर्ने प्रदेश सरकारले हो । तर, प्रदेश सरकार बनाएर व्यक्तिवादी चरित्र देखाउनुभएन । आफ्ना परिवारका मृतक सदस्यका नाममा कोष खडा नगरियोस्, घरपरिवारलाई बजेट नबाँडियोस् । साधनस्रोत पहिचान गरेर समृद्धितर्फ लैजानुपर्छ प्रदेशले । गण्डकीको धौवादी फलाम खानी छ, बागलुङ, पर्वत, तनहुँमा अरु फलाम खानी पनि छन् । युरेनियमको सम्भावना पनि गण्डकीमा छ । यी सम्भावनाको खोजी हुनुपर्छ । यिनले गण्डकीलाई समृद्ध प्रदेश बनाउन सक्छन्, यिनको अध्ययन जरुरी छ ।

– प्रदेशमा लड्ने इच्छा छैन, केन्द्रीय राजनीतिमै खुशी छु भन्नुहुन्थ्यो । पार्टीले प्रदेशमै पठाउँदा तपाईंको खुशी खोसिएन ?

मेरो खुशी प्राथमिक होइन । संगठनमा लागेपछि नै आफ्नो खुशी पहिला हेर्ने बानी हटेको हो, २०३६ सालमा । दुई पटक पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएँ, अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भएँ, युवा संघको संस्थापक भएँ । यी सबै हुँदा मैले खुशी हेरेको होइन, पार्टीले जहाँ पठाउँछ त्यहाँ इमानका साथ काम गर्न खटिएको हुँ । मेरो रुचिको विषय के थियो भन्ने कुराका बावजुद पार्टीले आफ्नो आवश्यकताअनुसार पठाउँछ । हामी त पार्टीका पार्टपुर्जा न हौं, पार्टीले जहाँ फिट हुन पठाउँछ त्यही जाने हो ।

हामी त पार्टीका पार्टपुर्जा न हौं, पार्टीले जहाँ फिट हुन पठाउँछ त्यही जाने हो ।

– पार्टीको निर्णय त हो नै । तर, तपाईं त पार्टी नेतृत्वलाई आग्रह गर्न सक्ने ल्याकत भएको व्यक्ति त हो नि फेरि ?

गरें मैले । पार्टीले यही काम गर भनेर पठायो । पार्टीका यहाँ (गण्डकी) का साथीहरु सबैलाई सम्मान छ, उहाँहरुको सहयोग र साथले मात्र म काम गर्न सक्छु । एमालेलाई बलियो बनाउन यहाँकै साथीहरुको साथको अपेक्षा छ । प्रदेशमा आइसकेपछि अब मैले काम गर्दिनँ भन्ने छुट छैन । प्रदेश संरचनाको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ । संविधानतः प्रदेशले पाएका अधिकारको अधिकतम प्रयोग गरेर प्रदेश सरकारको महत्व प्रस्ट्याउने गरी काम गर्न म प्रतिबद्ध छु ।

– अहिले एमालेविरुद्ध गठबन्धन छ । संघ र प्रदेशमा एमालेको उपस्थिति कस्तो हुने आँकलन गर्नुहुन्छ ?

सुविधाजनक बहुमतका साथ केन्द्रमा एमालेले सरकार बनाउँछ । गण्डकीका जनताले पनि अहिले एमाले रोज्नुहुन्छ । किनकि अहिले एमालेले मात्रै हो काम गर्नसक्ने । जनमतसंग्रहका बेला त्यत्रो धाँधली गर्दा पनि कास्कीमा बहुदलले १० हजार मतको अन्तर पारेको थियो, पञ्चायतसँग । यहाँका जनतामा विवेक छ । नक्कली कुरा गर्ने, कांग्रेससँग मिलेर आफूलाई कम्युनिष्ट भन्नेलाई भन्दा हामी सक्कली कम्युनिष्टलाई यहाँका जनताले मत दिनुहुन्छ भन्नेमा म स्पष्ट छु । कहिल्यै पनि एमालेले एकल बहुमत ल्याएन, हामी अब एकल बहुमत ल्याएर स्थिर सरकार सञ्चालन गर्छौं ।

– प्रदेशमा चाहिँ कति सीट जित्ने आँकलन छ ?

आँकलन २२ सीटको हो । हामीले प्रत्यक्षमा २२ सीट जित्छौं ।

– के आधारले २२ सीट जित्छौं जस्तो लागेको हो ? यो मन भुलाउने ललीपपमात्र त होइन ?

हामीले विगतमा जितेको र स्थानीय तहमा पनि हामी गठबन्धन हुँदा पनि पहिलो पार्टी नै छौं । लोकप्रिय मत पनि हाम्रै छ । केही ठाउँ हामीले हाम्रै व्यवस्थापकीय कमजोरीका कारण गुमायौं । अहिले त्यो कमजोरी पनि हामी दोहो¥याउन्नौं । हिजो हामीले प्रदेश र केन्द्र सरकार सञ्चालन गर्दा बनाएका नीति, गरेका राष्ट्र हितका कामले अबको चुनावमा हामीलाई जिताउँछन् ।

– तपाईंले जित्ने आधार चाहिँ के छन् त ?

पोखरा सात तालको शहर हो । राष्ट्रिय ताल प्राधिकरणमा रहेर मैले केही नयाँ कामहरु गरें । ती काम मूर्त रुप लिएर अहिले रुपा ताल संरक्षण र एकीकृत विकास परियोजना बनेको छ । मादी करिडोर बनाएका छौं, मुग्लिन पोखरा बाटो हाम्रै सपना हो । गण्डकी विश्वविद्यालय निर्माणमा सक्रिय बनें । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनायौं, शिशुवाको अस्पताल होस् वा सिक्लेसलाई पर्यटकीय गन्तव्य बनाएको कुरा होस्, त्यो हामीले नै गरेको हो । लर्निङ सेन्टर बनायौं, लेखनाथमा ।

सूर्तीजन्य पदार्थ बेच्दा ९० प्रतिशत चित्र देखाएर सन्देश दिनुपर्छ भन्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय पुरस्कारबाट पनि पुरस्कृत भयौं, जुन निर्णय म स्वास्थ्यमन्त्री हुँदा गरेको थिएँ । स्वास्थ्य बीमा मैले सुरु गरेको हुँ, जस अर्कै (गगन थापा)ले लिए ।

प्रदेश संरचनाको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ । संविधानतः प्रदेशले पाएका अधिकारको अधिकतम प्रयोग गरेर प्रदेश सरकारको महत्व प्रस्ट्याउने गरी काम गर्न म प्रतिबद्ध छु ।

पोखराको पूर्वी भेगमा विकासको तीव्र गति छ । सयौं काममा मैले सहजीकरण र समन्वय गर्न सकें । त्यसको श्वेतपत्र नै निकाल्छौं । राष्ट्रिय र स्थानीय स्तरमा काम गरेको हुँदा मैले नजित्नुपर्ने कुनै कारण नै छैन । तर, अरु पार्टीले भने काममा सिरियसनेस देखाएको देख्दिनँ । म पहिलो पटक सांसद भएर थालेका काम, म २५ वर्षपछि सांसद भएर फर्कंदा पनि त्यस्तै थिए ।

– तपाईंले अघिल्लो पटक जसलाई (दीपक कोइराला) जिताउन लाग्नुभयो । अहिले उहाँसँगै तपाईंको प्रतिस्पर्धा छ । उहाँले पहिला मैले नै खगराजजीलाई जिताएको हुँ, उहाँ डेट एक्सपाएर्ड हो भन्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । साँच्चै तपाईं अब आउटडेटेड क्यान्डिडेट भइसक्नु भएको हो ?

(हाँस्दै) त्यो त मंसिर ४ गते थाहा हुनेछ । उहाँ कसको आडभरोसामा जित्नु भएको थियो भन्ने उहाँले ४ गते देखिहाल्नुहुन्छ नि ! उहाँले साहस गरेर त्यसो भन्नुभएको हो । उहाँ कहाँबाट आउनुभएको हो, हामीले उहाँलाई अहिले यो स्तरसम्म ल्याइपुर्‍यायौं । उहाँ जथाभावी बोल्न थाल्नुभएछ, मलाई रमाइलो लागिरहेको छ । यसमा मलाई कुनै टिप्पणी गर्नुछैन ।

डेट एक्सपाएर्ड सिटामोल त उहाँहरुले बोक्नुभएको हो । उहाँ माओवादी हुनुहुन्छ, जसका विरुद्ध हतियार बोकें भन्नुहुन्छ उसैलाई (शेरबहादुर देउवा) प्रधानमन्त्री बनाएर चुनावमा आउँदै हुनुहुन्छ । डेट एक्सपाएर्ड त उहाँकै सिद्धान्त छ बरु । उहाँलाई त कसैले चिन्दै चिन्दैन । चिनाउने काम त हामीले गर्‍यौं । कसको साथ र बलमा उहाँले जित्नुभयो, उसैलाई डेट एक्सपाएर्ड भन्नुभयो । डेट एक्सपाएर्ड हुन चुनावसम्म पर्खनुहोस् । एकदिन यस्तो आउनेछ जब उहाँ मलाई अभिभावक मानेर मकहाँ आउनुपर्छ, यही पाँच वर्षभित्र ।

– उहाँको अभिव्यक्ति आंशिकमात्रै भए पनि सत्य त छ नि ! २०४८ सालमा चुनाव लडेको तपाईं २०७९ सालमा पनि चुनावमै हुनुहुन्छ । नयाँ, युवालाई अघि सारौं भन्ने लाग्दैन ? कि लेखनाथ पौडेलले भनेझैं मैं खाऊँ, मैं लाऔं गर्ने हो ?

आंशिक सत्य होइन, यो पूर्ण असत्य हो । नयाँ युवालाई अघि सारौं भन्ने लागेर त प्रतिनिधिसभामा अहिले मनबहादुर गुरुङ उठ्नुभएको छ । उहाँ त युवा नै हो नि ! पार्टीले मलाई प्रदेशमा किन खटायो भन्ने त सान्दर्भिकता र औचित्य छ नि ! यही औचित्यसँग तर्र्सिएर साथीहरु मलाई डेट एक्सपाएर्ड भन्दै हुनुहुन्छ । मैले नयाँलाई नै अघि सार्नुपर्छ भन्ने मान्यता छ । हिजो म यहाँको इन्चार्ज हुँदा पोखरा महानगरपालिकाको प्रमुखमा मानबहादुर जीसीलाई मौका दिएँ । म युवामैत्री नै छु ।

– तपाईंलाई एमालेबाट मुख्यमन्त्रीको क्यान्डिडेटका रुपमा प्रोजेक्ट गरिएको छ । तपाईं त्यसमा कति इच्छुक हुनुहुन्छ ?

म आफ्नो योग्यता परीक्षण भइसकेर आएको मान्छे हुँ । भूकम्पपछि संकटका वेला स्वास्थ्य मन्त्रालय चलाएर आएको हुँ । गृह मन्त्रालय चलाएको पनि अनुभव छ । म केन्द्रीय राजनीतिबाट निश्कलंक भएर आएको हुँ । मैले जुनै जिम्मेवारी सजिलै पूरा गर्न सक्छु भन्ने आँट छ । तर, म आफैंले आफैंलाई मुख्यमन्त्रीका रुपमा उभ्याउने वेला भइसकेको छैन । म अहिले यतिमात्रै भन्छु, सबैको साथ समर्थन हुँदा जुनसुकै भूमिकामा काम गर्न सक्छु ।

कहिल्यै पनि एमालेले एकल बहुमत ल्याएन, हामी अब एकल बहुमत ल्याएर स्थिर सरकार सञ्चालन गर्छौं ।

– पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङमा एक कार्यक्रममाझ ‘गण्डकीको मुख्यमन्त्री फेरि पनि लमजुङले पाउँछ । जमिन्द्रमान घले मुख्यमन्त्री हुनुहुन्छ’ भन्ने खालको अभिव्यक्ति दिएर तपाईंलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने जनाउ दिइसक्नुभएको छ नि ?

होइन । उहाँले त्यसो भन्नुभएकै होइन । लमजुङका जमिन्द्रमान घले पनि मुख्यमन्त्रीकै लागि क्षमता राख्नुहुन्छ, नभए मन्त्री हुनुहुन्छ भन्नुभएको हो । उहाँको भनाइ जस्ताको तस्तै टिप्दा राम्रो हुन्छ । र, उहाँले भनेको ठीक पनि हो । म त्यसलाई स्वीकार्छु ।

– एमालेमा अहिले गुट उपगुट, खिचातानी, सांगठनिक अराजकता हावी भो भन्ने सुनिन्छ । यसले त एमाले उम्मेदवारहरु गठबन्धनकासँग भन्दा पनि आफ्नैसँग असुरक्षित देखिन्छन् नि ?

यो हल्ला हो । यो कुराको जवाफ त हाम्रा उम्मेदवार चयनले नै देखाउँछ नि ! कास्कीमा एमालेको जिल्ला अध्यक्ष हुनुभएका मनबहादुर गुरुङ कास्की १ बाट र अध्यक्षका प्रत्याशी दामोदर बैरागी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाइनुभएको छ । यहाँ त हाम्रो एकता देखेर अत्ताल्लिएका होलान् साथीहरु । सपना चक्नाचुर भयो नि विपक्षी साथीहरुको ।

– तपाईंले यो भने पनि पार्टीभित्रै खिचातानी छ भन्ने त सुनिन्छ नि ! पोखरा मेयरकै चुनावमा पनि देखिएकै हो त ?

सबैको चाहना फरकफरक हुन सक्छन् । तर, पार्टीभित्र हामी नेता, कार्यकर्तामा एकदमै हार्दिक सम्बन्ध छ । पार्टीमा आन्तरिक एकता सबल छ ।

रिझाउने नै हो भने त मैलेभन्दा बढी त उहाँले नै सक्नुहुन्छ नि ! उहाँ नै सचिवालयमा हुनुहुन्छ, उपमहासचिव हुनुहुन्छ । म त स्थायी कमिटी सदस्यमात्र हुँ ।

– अझै बुझ्नुभएन । तपाईं त पार्टीको संगठन विभाग प्रमुख हुनुहुन्छ । पार्टीमा सांगठनिक अराजकता नै छैन त ?

सांगठनिक अराजतकता अन्त्य गरौं, दक्षिणपन्थी अवसरवादलाई परास्त गरौं भन्ने त हाम्रो केन्द्रीय कार्यभार नै हो । सांगठिनक अराजतकता त देखिएकै छ । स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साहहरुले अराजतकता त देखाइसक्नुभयो । त्यो प्रवृत्ति थियो, पार्टीमा त्यही प्रवृत्तिको बीउ छरें भन्नेहरु पनि छन् । तर, बीउ नै आकार लिन नसक्ने, कुहिएका छन् । सांगठनिक अराजकताका लागि पार्टीमा छुट छैन ।

– तपाईंले पृथ्वीसुब्बा गुरुङसँग टकराव छैन भन्ने गरे पनि टकरावका झिल्को देखिन्छन् । अहिले पनि पृथ्वीसुब्बा गुरुङ प्रदेशमै उठेर मुख्यमन्त्री बन्न चाहे पनि आन्तरिक रुपमा तपाईंले पार्टी अध्यक्ष रिझाएर प्रदेशमा झर्नुभयो, पृथ्वीसुब्बाको सेन्टिमेन्ट हर्ट गर्नुभयो भन्ने तर्क पनि आइरहेका छन् नि ?

यो झूट कुरा हो । हाम्रा साथीहरुमा झूटको खेती गरेर, नेताहरु विभाजन गरेर पद हत्याउने दाउ छ भने छाडिदिए हुन्छ । उहाँ र मेरो अहिलेको जिम्मेवारी रुचिअनुसारको होइन । तर पनि हामीले यो जिम्मेवारीलाई सहर्ष स्वीकारेकै छौं । हाम्रा आफ्ना रुचि जिम्मेवारी नपाउँदासम्म बाझिएको थिएन । उहाँ प्रदेशमा उठ्न खोज्नुभएको थियो, म केन्द्रमै । अहिले उहाँले केन्द्रको जिम्मेवारी पाउनुभयो र मैले प्रदेशको । जिम्मेवारी पनि बाझिएन, रुचि पनि बाझिएको थिएन । हाम्राबीच उच्चस्तरको समझदारी छ, हामी घनिष्ठ मित्र हौं ।

– तपाईंले प्रदेशमै उठ्न पार्टी अध्यक्ष रिझाएर बाहिर सुनाउनकै लागि केन्द्र लड्छु भन्दै हिँड्नुभयो भन्ने सुनिन्छ नि ?

त्यो रिझाएर भन्ने शब्दको प्रयोग त उचित भएन । तर, रिझाउने नै हो भने त मैलेभन्दा बढी त उहाँले नै सक्नुहुन्छ नि ! उहाँ नै सचिवालयमा हुनुहुन्छ, उपमहासचिव हुनुहुन्छ । म त स्थायी कमिटी सदस्यमात्र हुँ । रिझाएर हुने भए उहाँले नै सक्नुहुन्थ्यो । त्यसकारण यो टिप्पणी असत्य हो । हामी छलफल गरेरै बढेको हो, पार्टीले जे निर्णय गर्‍यो त्यसैलाई मानेकोमात्रै हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर