कास्कीका दुई बागीलाई ओली र देउवाको फोन: एउटाले माने, अर्को पछि हटेनन् – Nepal Press

कास्कीका दुई बागीलाई ओली र देउवाको फोन: एउटाले माने, अर्को पछि हटेनन्

पोखरा । उम्मेदवारी मनोनयनका दिन कास्कीमा एमाले र कांग्रेसका एक-एक जनाले बागी उम्मेदवारी दिए । प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट जगननाथ बास्तोलाले कास्की ३ र कांग्रेसका महादेव गुरुङले कास्की २ मा बागी उम्मेदवारी दिए ।

कास्की ३ मा एमालेले दामोदर पौडेल बैरागीलाई उठाएको छ भने कास्की २ मा गठबन्धनले नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराललाई उम्मेदवार बनाएको छ । तर, पार्टी निर्णयविरुद्ध गएर बास्तोला र गुरुङले उम्मेदवारी दिए ।

बागी उम्मेदवारी दिएका यी दुवै कास्कीका नेतालाई उनीहरुका पार्टी नेतृत्वको फोन आयो । बास्तोलालाई नेकपा एमाले अध्यक्ष केपी ओली र महादेव गुरुङलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले फोन नै गरेर उम्मेदवारी फिर्ता लिन सुझाए ।

पार्टी अध्यक्ष ओलीको फोन आएपछि बास्तोलाले उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवार दामोदर बैरागीलाई समर्थन गर्ने घोषणा गरे । घोषणापश्चात उम्मेदवार परिचय कार्यक्रममा बैरागीसँगै उनी हिँडेका छन् ।

‘अध्यक्ष कमरेडले सम्पर्क गर्नुभयो । पार्टीमा उचित जिम्मेवारी दिने तथा अन्याय हुन नदिने बताएपछि मैले फिर्ता लिएको हुँ’, बास्तोलाले भने । एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य बास्तोलाले यसअघिका तीन निर्वाचनमा पनि नाम गएको र अन्तिममा काटिँदै आएको र अहिले पनि काटिएपछि बागी बनेको बताएका थिए । अन्त्यमा पार्टी अध्यक्षको फोनपछि आश्वस्त भएका उनले उम्मेदवारी फिर्ता गरे ।

कांग्रेसका गुरुङले भने उम्मेदवारी फिर्ता गर्न मानेनन् । पर्यटन राज्यमन्त्री भइसकेका गुरुङलाई देउवाले फोन गरेर अहिलेको चुनावमा सहयोग गर्न आग्रह गर्दै गुण पछि तिर्ने वाचा दिएका थिए । तर, उनले त्यसलाई अस्वीकार गरे । उल्टै कांग्रेसलाई पाठ सिकाउने ध्याउन्नमा छन् गुरुङ। कांग्रेसकै मत ल्याएर चुनाव जित्ने दृढता गुरुङमा देखिन्छ ।

‘म उठेको कांग्रेसको कुनै पनि उम्मेदवार नभएर हो । कांग्रेसका साथीहरु म उठेपछि उत्साही हुनुहुन्छ । मत नपाउने कुरै छैन’, उनी भन्छन् ।

गठबन्धनका उम्मेदवार बराललाई हराउन नभई देउवालाई हराउन आफूले उम्मेदवारी दिएको गुरुङ बताउँछन् । टिकट बेचेर खर्बपति बन्न देउवा, प्रचण्ड, ओलीका लागि प्रजातन्त्र नल्याएको भन्दै प्रजातन्त्र रक्षार्थ चुनावमा लागेको गुरुङले जिकिर गरे ।

‘शेरबहादुरको खिलाफमा चुनाव लडेको हुँ । शेरबहादुर, बालकृष्ण खाणका दुलहीलाई सांसद बनाउन हामी लडेको हो र ? समानुपातिक टिकटमा १५-२० करोडमा बिके भन्ने सुन्न आएको छ’, उनले भने, ‘हिजो प्रजातन्त्र, बहुदलका लागि लडेका सहिदले आजको अवस्था देखे भने धिक्कार्दैनन् ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर