मोरङ ३ मा गठबन्धनको चुनावी कमाण्डर हर्कमान, सुनिल शर्माको पक्षमा संयुक्त अपिल – Nepal Press

मोरङ ३ मा गठबन्धनको चुनावी कमाण्डर हर्कमान, सुनिल शर्माको पक्षमा संयुक्त अपिल

विराटनगर । सत्ता गठबन्धनका दलहरुले मोरङ क्षेत्र नं ३ मा गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा न्यौपानेलाई जिताउन संयुक्त आह्वान गरेका छन् ।

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवार डा. शर्मासहितका उम्मेदवारलाई जिताउन अपिल गरेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा डा. शर्मा प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवार छन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेशकुमार खड्का, नेकपा माओवादी केन्द्रका क्षेत्रीय संयोजक खेमराज भट्टराई (दीपक) र नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य चण्डीप्रसाद राईले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्तासहित आम नागरिकमा अपिल गरेका हुन् ।

जसका लागि नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पूर्वसांसद हर्कमान तामाङको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र तथा अनुगमन समिति गठन गरिएको छ ।

‘संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका विभिन्न शीर्ष नेताहरूबीच आ–आफ्नो पक्षहरूबीच व्यापक जनपरिचालन गर्नेछौं’, विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *