एमाले छाडेपछि गुमनाम सुवास- ३० वर्षपछि सिन्धुको ‘चुनावी सीन’बाट आउट – Nepal Press

एमाले छाडेपछि गुमनाम सुवास- ३० वर्षपछि सिन्धुको ‘चुनावी सीन’बाट आउट

गठबन्धनमा माओवादीले बदला लिए, पार्टीभित्र दोस्रो दर्जाको व्यवहार पाए

चौतारा । २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनको मनोनयन तत्कालीन जिल्ला विकास समितिको कार्यालयमा राखिएको थियो । सुरुमा नेकपा एमालेले मनोनयन दर्ता गरेर फर्कने क्रममा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरुसँग टुँडिखेलमा झडप भयो । झडपमा माओवादी र एमाले दुवैतर्फका कार्यकर्ताहरु घाइते भए ।

एमालेको नेतृत्व गरेका थिए तत्कालीन जिल्ला सचिव सुवास कर्माचार्यले । कर्माचार्य आफैं क्षेत्र नम्बर २ का उमेदवार थिए र उनका प्रतिस्पर्धी थिए माओवादीका अग्निप्रसाद सापकोटा ।

झडपपछि एमालेका कार्यकर्ताहरु तितरबितर भए तर कर्माचार्यले मैदान छाडेनन् । उनी एक्लै भए पनि माओवादीसँग भिडिरहे र एमालेका कार्यकर्ताहरुलाई उत्साही बनाइरहे ।

२०६४ पछि हरेक निर्वाचनमा कर्माचार्य अग्रपंक्तिमा नै हुन्थे र एमालेको चुनावी रणनीतिलगायत हरेक गतिविधिमा उनी ‘प्रधान’ हुने गर्दथे । एमालेभित्र उनी यति धेरै सक्रिय थिए कि सिन्धुपाल्चोकको एमालेभित्र उनी सर्वाधिक लोकप्रिय र कार्यकर्ताहरुको संरक्षण गर्ने नेताका रुपमा स्थापित थिए ।

२०६४ को संविधानसभा निर्वाचनमा उनको भन्दा सापकोटाको झण्डै दोब्बर मत आयो, २०७० मा पनि उनी पुनः सापकोटासँग नै आमनेसामने भए । तर, त्यतिवेला मतान्तर थोरै भयो । करिब ७ सय मतले उनी पराजित भए ।

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने एमाले र माओवादीबीच गठबन्धन भएपछि उनले टिकट पाएनन् र उनी चुनावी कमाण्डरका रुपमा दुवै क्षेत्रमा सक्रिय भए ।

साविकको क्षेत्र नम्बर-२ मा उनको पकड निकै राम्रो थियो त्यतिवेला । अझ हालको जुगल आसपासमा त नेता भनेका सुवासमात्रै हुन् भन्ने मान्यता स्थापित थियो । २०५१ को निर्वाचनमा उनी सिन्धुपाल्चोक-२ बाट उम्मेदवार भएका थिए । त्यतिवेला उनी राप्रपाका विष्णुविक्रम थापासँग पराजित भएका थिए ।

२०५६ को आमनिर्वाचनमा भने कर्माचार्यले थापालाई पराजित गर्दै जनप्रतिनिधिको रुपमा आफ्नो पहिलो ‘इनिङ’ थालेका थिए ।

राजनीतिमा त्यति धेरै सक्रिय एउटा पात्र २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने गुमनाम छन् । एमालेका कार्यकर्ताहरुले उनको अभाव महसुस गरिरहेका देखिन्छन् भने जिल्लामा सर्वाधिक सक्रिय र स्थापित भएका नेता उम्मेदवार मनोनयनका क्रममा कतै पनि देखिएनन् ।

चितवनमा सम्पन्न नेकपा एमालेको नवौं महाधिवेशनमा उनी केन्द्रीय सदस्य पदका आकांक्षी थिए । उनी टीममा परेनन्, उम्मेदवारी दर्ता त गरे । तर, पछि सबैको आग्रहमा उम्मेदवारी फिर्ता लिए । केन्द्रीय कमिटीले मनोनीत गर्ने लिस्टमा उनी पर्ने सबैको आँकलन थियो । तर, केन्द्रीय कमिटीमा उनी नपरेपछि पार्टी छाड्ने तयारीमा लागे ।

एमालेका धेरै नेता-कार्यकर्ताहरुले उनलाई एमाले नछाड्न आग्रह गरे पनि उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे केही नेता-कार्यकर्तासँगै । कर्माचार्यले एमाले छाडेपछि एमाले पंक्तिलाई लागेको थियो, अब धेरै नेता-कार्यकर्ताहरु समाजवादीमा जानेछन् र एमाले सिन्धुपाल्चोकमा तेस्रो शक्तिमात्रै हुनेछ ।

उनी एकीकृत समाजवादीमा प्रवेश गरे पनि पार्टीको सिन्धुपाल्चोकका संस्थापकहरुले कर्माचार्यलगायत पछि प्रवेश गरेकाहरुलाई ‘दोस्रो दर्जा’को रुपमा व्यवहार गर्न थालेको उनीसँगै समाजवादीमा प्रवेश गरेका एक नेताले बताए ।

हिजो एमालेभित्र कर्माचार्यबाट ‘पीडित’ भएका भनिएकाहरु एकीकृत समाजवादीमा गएका थिए । पुनः कर्माचार्य समाजवादीमा पुगेपछि उनीसँग पार्टीका संस्थापकहरुको राम्रो सम्बन्ध हुन नसकेको ती नेताले जानकारी दिए ।

स्थानीय निर्वाचनमा समेत कर्माचार्यको पकड बलियो हुन सकेन । चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुखमा एकीकृत समाजवादीका नेताहरु सोम सापकोटा, यज्ञराज सापकोटा र ईश्वरी श्रेष्ठ आकांक्षी थिए । कर्माचार्य सीता थापालाई उपप्रमुख बनाउन चाहन्थे ।

धेरै नेताहरुको दाबी भएपछि केन्द्रीय सदस्यसमेत रहेका कर्माचार्यलाई उम्मेदवार छनोटको जिम्मा दिइएको थियो । अन्तिममा कर्माचार्यले थापालाई नै उम्मेदवार बनाएपछि समाजवादीका केही नेताहरुले ‘बागी’ उम्मेदवारी दिए । पार्टी निर्देशनमा पछि फिर्ता लिएका थिए ।

आफूनिकटका नेतालाई टिकट दिएपछि कर्माचार्यको पार्टीभित्र आलोचना भएको थियो । जिल्ला समन्वय समितिको निर्वाचनसम्म आइपुग्दा समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेल, भगवती नेपाल, गम्भीरलाल श्रेष्ठ, सोम सापकोटालगायतको एउटा टीम र कर्माचार्यको अर्काे टीम भइसकेको थियो ।

कर्माचार्य एमाले, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन गरेर जिससको निर्वाचनमा सहभागी हुने तयारीमा थिए । अर्काे पक्ष कांग्रेससँग गठबन्धन गरेर उपप्रमुख लिने तयारीमा थियो । पछि कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसँगको छलफलपछि कर्माचार्य पनि कांग्रेससँग सहकार्य गर्न तयार भए । तर, उपप्रमुखमा पठाउने उम्मेदवार भने कर्माचार्यले प्रस्ताव गरेकोभन्दा अर्काे पक्षले तयार गरेको व्यक्ति फाइनल भएको थियो ।

जिसस निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएपछि माओवादीका नेताहरु कर्माचार्यसँग ‘फायर’ भएका थिए । मंसिर ४ मा हुने निर्वाचनमा कांग्रेससँग सहकार्य हुने र कर्माचार्यलाई समेत टिकट दिन समाजवादी र कांग्रेसबीच त्यतिवेला ‘अघोषित’ सहमति भएको स्रोतको दाबी थियो ।

एमाले छाड्दा घाटा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्माचार्य पनि टिकटका दाबेदार भए पनि जिससको निर्वाचनमा फरक गठबन्धन भएपछि भने माओवादीहरुले कर्माचार्यलाई ‘भ्यालु’ नदिएको समाजवादीका एक नेताले जानकारी दिए । एक प्रकारले भन्ने हो भने कर्माचार्यसँग बदला लिने माओवादीको घोषणा पूरा भयो ।

राजनीतिमा सक्रिय नै रहेका र जिल्लाभित्र एउटा स्थापित नेताको छबि बनाएका कर्माचार्य पार्टी परिवर्तनपछि भने गुमनाम जस्तै देखिएका छन् । एमालेभित्र हुँदा कार्यकर्तालगायत अन्य शक्तिसँग फराकिलो दायरा बनाएका कर्माचार्य अहिले पार्टी परिवर्तनपछि भने सीमित नेता-कार्यकर्ताहरुको बीचमा मात्रै छन् ।

एमालेभित्रै संघर्ष गरेर बसेका भए कर्माचार्य यो निर्वाचनमा जनप्रतिनिधिका रुपमा स्थापित हुने धेरै एमाले नेता-कार्यकर्ताहरुको विश्वास थियो । किनकि कर्माचार्य समाजवादीतिर लागेपछि उनले पुर्‍याउने क्षति माओवादीबाट पूर्ति गर्न एमालेले पूर्वमेयर तथा लोकप्रिय नेता अमानसिंह तामाङलाई पार्टी प्रवेश गरेर सो क्षेत्रमा प्रदेशसभा सदस्यको चुनाव लडाएको छ । नत्र कर्माचार्य यस क्षेत्रका निर्विकल्प उम्मेदवार थिए ।

एमाले छाडेपछि भने पूर्वएमालेका नेता-कार्यकर्ताहरुसँग समेत कर्माचार्यको धेरै बसउठ छैन । उनी चुनावी प्रक्रियामा कतै देखिएका छैनन् । यो दृश्य ३० वर्षपछि पहिलोपटक देखिएको छ । उनको पार्टीले सिन्धुपाल्चोकका संघ र प्रदेशका ६ सीटमा एक सीट पनि लिन नसकेपछि नेकपा एसको मात्र होइन उनको पनि राजनीतिक भविष्यमाथि यहाँ बादल लागेको छ ।

माओवादीका एक नेता भन्छन्, ‘जिल्लामा राजनीतिक रुपमा धेरै ठूलो हाइट बनाएका नेताको पार्टी परिवर्तनपछि दुःखद ‘अवसान’ हुँदो रहेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर