तेह्रथुमका पर्यटन श्रमिक लुम्बा माइलाले गरेको लोभलाग्दो प्रगति, भन्छन्- साइँलो छोराले मेरो बिँडो थाम्छ – Nepal Press

तेह्रथुमका पर्यटन श्रमिक लुम्बा माइलाले गरेको लोभलाग्दो प्रगति, भन्छन्- साइँलो छोराले मेरो बिँडो थाम्छ

इटहरी । लालीगुराँसको राजधानी टीएमजे छिर्ने प्रवेशद्वारमै रहेको तेह्रथुमको लालीगुराँस नगरपालिकाको चित्रे क्षेत्रबाट उत्तरका कञ्चनजंघादेखि मकालु हिमश्रृंखलाहरु देखिन्छन् । पालिकाबाट देखिने यी श्रृङ्खलाका पाउमा छुन पाउने स्थानीय अत्यन्तै थोरै छन् । तर, लालीगुराँस नगरपालिका- १ डुबकिलेका रामबहादुर तामाङलाई भने त्यी सबै क्षेत्र पानीपँधेरो जस्तो लाग्छ ।

‘मकालु र कञ्चनजंघा बेस क्याम्प कत्ति पुगियो पुगियो’, ४७ वर्षदेखि निरन्तर पर्यटन श्रमिक रहेका लुम्बा माइला भनेर परिचित उनी भन्छन्, ‘सुरुका पाँच वर्ष भरिया भएर काम गरें । अहिले नाइके भएर काम गरिरहेको छु ।’

लुम्बा माइलाले मकालु र कञ्चनजंघा आधार शिविर पुग्ने विदेशीहरुमात्रै हैनन् प्रदेश १ को मेची र कोसी क्षेत्रको चर्चित र्‍याफ्टिङ नदी तमोर पुग्नेहरुसँग समेत काम गरेका छन् । उनको धेरै समय तमोर जलबिहारकै काममा बितेको छ । २०३२ सालमा १५ वर्षको उमेरदेखि तमोर जलबिहारमा बसन्तपुरबाट आएका विदेशीको भारी बोकेर लुम्बा माइलाले पर्यटन जागिर सुरु गरेका थिए । बसन्तपुर, चौकी, गुफा, गोर्जा हुँदै दोभान पुगेर बिसाउने र त्यहाँबाट सुनसरीको चतरासम्म जलबिहारमा जानेलाई बिदा गरेर पुनः बसन्तपुर आउने उनको मिसन हुन्थ्यो ।

‘वर्षमा र्‍याफ्टिङको चार ट्रिपसम्म गरेको छु’, लुम्बा माइला भन्छन्, ‘नाइके भएर जाँदा एक ट्रिपमा आधा लाख त कमाइन्छ ।’ आफूले ४० हजारसम्मको त टिप्स् नै पाएको उनी बताउँछन् । ‘२०७४ मा नाउ पल्टिन खोजेपछि डोरी काट्न खोज्दा एउटा कुइरेनीले हात काटिन र मैले उनलाई सहयोग गरे’, लुम्बा माइला सबभन्दा धेरै टिप्स आएको कथा सुनाउँछन्, ‘पछि उनले मलाई ४० हजार दिइन् । त्यो ट्रिप उनको समस्याले क्यान्सिल नै भएको थियो ।’

अर्काको घरको नोकरीदेखि आफ्नै उद्यम हुँदै पर्यटनसम्मको यात्रा

६२ वर्षमा अहिले तराईमा मात्रै आठ ठाउँमा सात धुरदेखि दश कट्ठासम्मका जग्गा जोडेका लुम्बा माइलाको अहिले गाउँमै डेढ सय रोपनी हाराहारी जग्गा छ । दुई छोरा नेपाली सेनाको जागिर गरेर निवृत्त भइसकेका छन् । २१ सदस्य चार पुस्ते परिवारमा तीन श्रीमती, पाँच छोराबुहारी, तीन छोरी अनि लुम्बा माइलाकी वृद्ध आमा छिन् । दिनको पाँच किलो त चामलै घरमा लाग्छ । चाडबाड खर्च उत्तिकै छ । आगन्तुक र पाहुनाहरु आइरहेकै हुन्छन् ।

यी सबै खर्च गर्न लुम्बालाई तनाव छैन । उनी १३ ट्याक्टरभन्दा धेरै बन्दाकोभी फलाउँछन्, वर्षको घटीमा दुई लाखको आलु बेच्छन् । दूधबाट मासिक ४५ हजार आम्दानी गर्ने र खसी-कखुरा आदिबाट हुने कमाइ छँदैछ । ‘वर्षमा सबै कटाएर २५ लाख जति बच्छ’, लुम्बा माइला भन्छन्, ‘त्यो पैसाले नयाँ घडेरी जोड्छु ।’

१३ वर्षकै उमेरमा साक्षरमात्रै भएर धनकुटाको मूर्तिढुंगाको घर छाडेर हिँडेका उनको कृषि प्रगतिमा पर्यटनको योगदान छ । र, पर्यटन प्रगतिमा कृषिको योगदान छ । २०३२ सालको एक बिहान लुम्बा माइला केही थान कुखुरा, केही किलो आलु र केही लिटर दही लिएर बसन्तपुर बजारको लक्ष्मी होटल पुगेका थिए । होटलले मगाएर उत्पादन बेच्न पुगेका लुम्बा माइलाको काठमाडौंबाट आएका प्रकाश पाठकसँग भेट भयो । पाठक विद्यार्थी घुमाउन आएका रैछन् । सामान बोक्न उनले लुम्बा माइलालाई भने । लुम्बा माइला तयार भए । उनको इमानदारिता र मेहनतको पाठकले खुब विज्ञापन गरे ।

पछि बसन्तपुर बजारलाई मुकाम बनाएर हुने कञ्चनजंघा टे«किङदेखि तमोर जलबिहारसम्म लुम्बा माइलाकै खोजी हुन थाल्यो । त्यही सम्पर्क सूत्रबाट उनी मकालुसम्म पनि जान थाले । ‘सबै कुरा चिनजानकै रैछ एउटाले चिनेर काम गरेपछि अर्कोलाई भन्दोरहेछ । त्यही भएर म यता जोडिएँ’, उनी भन्छन्, ‘मोबाइल बोकेको त १२ वर्षमात्रै भयो । त्योभन्दा अगाडि त ट्रिप आउने खबर लिएर मान्छेहरु घरमै आउँथे ।’

लुम्बा माइलाको काम भारी बोक्ने युवाहरु खोज्ने, भारी बोक्नेलाई नेतृत्व गर्नेदेखि भान्साका कामहरुमा नेतृत्व लिने हुन्थ्यो । भारी बोक्नेबाट नाइकेमा बढुवा भए पनि उनले भारी बोक्न भने छाडेका छैनन् । हालसालै तेह्रथुमको लालीगुराँस नगरपालिकाले आयोजना गरेको तेह्रथुम, संखुवासभादेखि ताप्लेजुङसम्मको मुन्धुमी पदमार्ग यात्राको नाइके भएर हिँडेका लुम्बा माइलाले उक्त यात्रामा पनि भारी बोके । आफ्नो भारी बोकाइबारे उनले थपे, ‘नेपाली ट्रिपमा खासै धेरै पैसा हुन्न । घुम्न मन लागेर आएको यता चैं ।’

छोरालाई उत्तराधिकारी बनाएर अवकाश लिने योजना

चोःलुङ, मेन्छ्यायेम, असाङलुङ, सेमसेमलुङ, फक्ताङलुङ, केलाङ सित्लाङ क्षेत्रमा फैलिएको मुन्धुमी मार्गमा हिँडेका लुम्बा माइला भन्दै थिए, ‘अब बुढो भइयो धेरै वर्ष यसरी हिँड्न गाह्रो छ ।’ आफ्नो झण्डै पाँच दशक लामो पर्यटन श्रमिकको अनुभवमा लुम्बा माइलाले धेरै परिवर्तन देखेका छन् ।

पहिला-पहिला बसन्तपुरमा ओर्लिएर कञ्चनजंघा आधार शिविर जानेहरु अहिले सीधै गाडीमा ताप्लेजुङ पुग्छन् । लुम्बा माइलाले तमोर जलबिहारको भारी बोक्न थाल्दाको चार क्याम्प गाडीको कारण घटेर दुई क्याम्पमात्रै भएको छ । र्‍याफ्टदेखि ह्यांगर जस्ता सामान गाडीको बाटो सीधै इलाम भएर दोभान जान थालेको छ । बसन्तपुर बजारमा पहिलेजस्तो जलबिहारको जमघट छैन ।

यी सबै हुँदा पनि लुम्बा माइलाको अवसरमा भने कुनै कमि छैन । ‘अहिले पनि खानेकुराहरु यतैबाट बोकाएर लान्छन्’, उनी भन्छन्, ‘ट्रिप हेरेर २० जनादेखि १०० जनासम्म भारी बोक्नेहरु खोज्न मलाई नै लाउँछन् ।’

अब केही वर्षमा पर्यटन श्रमबाट विश्राम लिने सोचमा छन् लुम्बा माइला । विश्रामपछि के गर्ने योजना छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘साइँलो छोरा नरबहादुर तयार भएको छ । उसलाई सबै काम आउँछ । उसले मेरो बिँडो थाम्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *