बागमतीको भावी मुख्यमन्त्री को ? यस्तो छ मुख्य दलको प्राथमिकता – Nepal Press

बागमतीको भावी मुख्यमन्त्री को ? यस्तो छ मुख्य दलको प्राथमिकता

हेटौँडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मनोनयन दर्ता भएसँगै प्रदेश तहमा कुन दलले मुख्यमन्त्रीको दाबीको लागि कसलाई उम्मेदवार बनाए भन्ने विषय आम चासोको विषय बनेको छ ।

जनसंख्या तथा मतदाताको हिसाबले दोस्रो ठुलो प्रदेशको रुपमा रहेको बागमती प्रदेशमा पनि मुख्य राजनीतिक दलले मुख्यमन्त्रीको रुपमा कसलाई अघि सारेका छन् भन्ने विषयलाई चासो पूर्वक हेरिएको छ ।

यो पटक बागमती प्रदेशमा मुख्य दल नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रले आफ्ना–आफ्ना उम्मेदवारी दर्ता गरिसकेका छन् । बागमती प्रदेशमा लामो समय सत्ता सञ्चालन गरेको नेकपा एमालेबाट पूर्व मुख्यमन्त्रीहरु डोरमणी पौडेल र अष्टलक्ष्मी शाक्यले चुनावी प्रतिस्पर्धामा भाग नलिएपछि एमालेबाट यो पटक चितवनका नेता देवी ज्ञावलीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ ।

२०७४ सालमा भरतपुर महानगरपालिकामा मेयर पदका प्रत्यासी रहेका ज्ञावलीलाई यो पटक चितवनबाट प्रदेशसभा उम्मेदवार बनाएर एमालेले मुख्यमन्त्रीको दावा पेश गरेको हो । शालिन नेताको रुपमा परिचय बनाएका ज्ञावलीलाई एमालेले प्रदेशसभामा उम्मेदवार बनासँगै एमालेबाट मुख्यमन्त्रीको लागि अन्य बहस नहुने देखिएको छ ।

ज्ञावलीलाई एमालेको राम्रो मानिएको चितवनको क्षेत्र नंबर २ ‘ख’बाट उम्मेदवार बनाएसँगै एमालेले बहुमत ल्याएको अवस्थामा उनलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्न खोजिएको छ ।

प्रदेशसभाको दोश्रो शक्तिको रुपमा रहेको नेकपा माओवादी केन्द्रले धादिङका नेता शालिकराम जम्कट्टेललाई यो पटक पनि प्रदेशसभामा उम्मेदवार बनाएर मुख्यमन्त्रीको दावा पेश गरेको छ ।

बागमती प्रदेशमा यस अघि आन्तरिक मामिला तथा कानुन मन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका कट्टेलले धादिङबाट प्रदेशसभामा पुनः उम्मेदवारी दिएसँगै माओवादीले मुख्यमन्त्रीको लागि कट्टेललाई अघि सारेको हो । जमकट्टेल यो पटक धादिङको प्रतिनिधिसभा क्षेत्र नंबर १ को ‘ख’ बाट उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रसले मकवानपुरका नेता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । यसअघि नेकपा एकिकृत समाजवादीसँग आधा–आधा समय सरकारको नेतृत्व गर्ने लिखित सहमति गरेर पनि मुख्यमन्त्री पद प्राप्त नगरेका बानियाँ यो पटक पनि मकवानपुरबाट प्रदेशसभमा उम्मेदवार बनेका छन् ।

गठवन्धनको बहुमत आएको खण्डमा र माओवादी भन्दा ठुलो दल भएको खण्डमा बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना प्रबल रहेको कांग्रेस श्रोतको दाबी छ । बानियाँ यो पटक पनि आफु विजयी भएको मकवानपुर क्षेत्र नंबर २ को ‘ख’ बाट उम्मेदवार बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर