कमल थापालाई एमाले मकवानपुरमा ‘हिजो विरोध, आज स्वागत’ – Nepal Press

कमल थापालाई एमाले मकवानपुरमा ‘हिजो विरोध, आज स्वागत’

हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको ‘सूर्य’ चिन्हबाट मकवानपुर क्षेत्र नम्बर १ को टिकट प्राप्त गरेपछि एमाले मकवानपुरले आज कमल थापाको न्यानो स्वागत गरेको छ ।

थापालाई टिकट दिएको विरोधमा मनोनयनको दिन हिजो पार्टी कार्यालय तालाबन्दी गरेको एमालेका कार्यकर्ताहरूले आज उनै थापालाई पार्टी कार्यालयमा आयोजना भएको कार्यक्रममा सहभागी गराएर चुनावी मोर्चामा अब संयुक्त रूपमा अघि बढ्ने जनाउ गरेका छन् ।

एमाले मकवानपुरको पार्टी कार्यालय हेटौँडामा निर्वाचनको सन्दर्भमा भातृ संगठन परिचालनको विषयमा भएको कार्यक्रममा थापा पनि सहभागी भए । एमाले पार्टी कार्यालय पुगेर मन्तव्य व्यक्त गर्दै उनले एमालेको लोकप्रिय चुनाव चिन्हबाट चुनाव लड्न पाउनु आफ्नो सौभाग्य भएको बताए ।

उनले केबल एउटा चुनाव जित्न या एकथान सांसद प्राप्त गर्ने मात्र उद्देश्य लिएर आफूले सूर्य चिन्हबाट चुनाव नलडेको भन्दै थापाले राष्ट्रवादी शक्तिहरूको बिचमा एकता हुनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै एमालेको सहयोगमा निर्वाचनमा होमिएको बताए ।

उनले केपी ओली नेतृत्वको सरकारमा आफू परराष्ट्र मन्त्री हुँदा गरेको राष्ट्रवादी कामले गर्वको महसुस हुने गरेको समेत बताए ।

एमाले र राप्रपाबिच परम्परागत प्रतिस्पर्धा रहँदै आएको मकवानपुरमा यो पटक तालमेल भएपछि कार्यकर्ताहरू अलमलमा परेका थिए ।

मकवानपुर–१ बाटै प्रतिनिधिसभामा पटक–पटक एमालेले नै पराजित गरेको थापालाई यो पटक एमालेकै सहयोगमा जित दिलाउनुपर्ने भएपछि कार्यकर्ताहरू हिजो केहि समय आक्रोशित बनेका थिए ।


प्रतिक्रिया

One thought on “कमल थापालाई एमाले मकवानपुरमा ‘हिजो विरोध, आज स्वागत’

  1. हिजो टाउकाको मोल तोक्ने र टाउको काट्नेको घाँटी समेत जोडिएको बेलामा कमल थापाको कुरा निकालेर लेखिएको यो समाचार बकम्फुस्से हो ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर