डडेल्धुरामा भाँडियो एमाले र बीपी कांग्रेसबीचको चुनावी तालमेल, दुइटै दलका उम्मेदवार कायम – Nepal Press

डडेल्धुरामा भाँडियो एमाले र बीपी कांग्रेसबीचको चुनावी तालमेल, दुइटै दलका उम्मेदवार कायम

कैलाली । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध बीपी कांग्रेससँग तालमेल गर्ने नेकपा एमाले केन्द्रको निर्णय जिल्लामा उलङ्घन भएको छ ।

दुइटै प्रदेशसभामा एमालेका उम्मेदवार रहने र प्रतिनिधिसभातर्फ बीपी कांग्रेसलाई सहयोग गर्ने केन्द्रले निर्णय गरेको थियो । तर, प्रतिनिधिसभातर्फ पनि एमालेले उम्मेदवारी दर्ता गराएपछि दुई दलबीचको तालमेल भाँडिएको बताइएको छ । स्थानीय तह निर्वाचनमा पनि यहाँ एमाले र बीपी कांग्रेसले तालमेल गरेका थिए । तर, दुबै दलले कुनै पनि पालिका जित्न सकेनन् ।

लगातार ६ पटक डडेल्धुराबाट निर्वाचन जितेका देउवालाई हराउन एमालेले उनकै पुराना कार्यकर्ता कर्ण मल्ललाई अघि सार्ने रणनीति लिएको थियो । अघिल्लो पटकको निर्वाचनमा प्रदेशसभा (ख) तर्फ कांग्रेसबाट उम्मेदवार बनेका मल्ल ३५८ मतान्तरले विजयी भएका थिए । १३ हजार ४१३ मत प्राप्त गरेर मल्ल विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाले जिल्ला अध्यक्ष डा. तारा जोशीले १३ हजार ५५ मत प्राप्त गरेका थिए ।

अहिले जोशी नेकपा एकीकृत समाजवादीमा छन् । उनले पनि प्रदेशसभामा भाग नपरेको भन्दै गठबन्धनविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।

यता एमालेसँग तालमेल गर्ने भनिएका कांग्रेस बीपीका वरिष्ठ उपसभापति मल्लले पनि प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । दुइटै प्रदेशसभा र प्रतिनिधिसभातर्फ एमालेले उम्मेदवारी दर्ता गरेपछि तालमेलमा खटपट भएको छ । तर, एमाले डडेल्धुराले भने अहिले नै तालमेल गर्ने वा नगर्ने कुनै निर्णय भई नसकेको जनाएको छ ।

‘पार्टीको आधिकारिक रुपमा प्रतिनिधिसभा र प्रदेशसभामा हाम्रा उम्मेदवारहरूले मनोनयन दर्ता गराइसक्नु भएको छ’, एमाले जिल्ला सचिव गजेन्द्र शाहीले भने, ‘अहिले केन्द्रबाट त्यस्तो केही कुरा आएको छैन ।’

उनले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा छलफल जारी रहेको बताए । मल्लले भने तालमेलको विषयमा आफूहरूभन्दा बढी एमाले जानकार रहेको प्रतिक्रिया दिए ।

यहाँ एमालेले प्रतिनिधिसभामा चक्र स्नेही, प्रदेशमा पठानसिंह बोहरा र गजेन्द्र शाहीलाई उम्मेदवार बनाएको छ । केही समयअघि एकीकृत समाजवादीबाट एमाले फर्किएका विक्रम शाहीले पनि प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

शाहीले एमाले एकल रुपमा लड्ने अवस्था आए आफू फिर्ता हुने अन्य कुनै दलसँग तालमेल गर्ने अवस्थामा आफ्नो उम्मेदवारी कायम रहने बताएपछि तालमेलमा समस्या भएको बुझिएको छ ।

बीपी कांग्रेससँग तालमेल गरेर निर्वाचनमा होमिँदा दुइटै प्रदेशसभा जित्ने र प्रतिनिधिसभा पनि शेरबहादुर देउवालाई टक्कर दिन सकिने एमालेभित्रैका केहीको विश्लेषण छ । केहीले भने अघिल्लो पटक तालमेल गर्दा पनि केही उपलब्धि नआएको भन्दै तालमेलको विरोध गरेका छन् ।

यहाँ गठबन्धनबाट प्रतिनिधिसभामा देउवा उम्मेदवार बनेका छन् । प्रदेशसभामा प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहरा र माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट उम्मेदवार बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर