प्रदेशसभामा सबैभन्दा ठूलो दललाई नै दुइटामात्र सीट ! – Nepal Press

प्रदेशसभामा सबैभन्दा ठूलो दललाई नै दुइटामात्र सीट !

पाँच जिल्लामा गठबन्धनविरुद्ध एकीकृत समाजवादीको बागी उम्मेदवार

कैलाली । नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी सनाखतपछि सुदूर पश्चिम प्रदेशको सबैभन्दा ठूलो दल बनेको थियो । १४ जना प्रदेशसभा सदस्यसहित सबैभन्दा ठूलो दल बनेको एकीकृत समाजवादीले अहिले सुदूरपश्चिमका ३२ वटा प्रदेशसभा क्षेत्रमध्ये गठबन्धनमा २ वटामात्रै पाएको छ ।

सबैभन्दा ठूला दल हुँदा पनि सुदूरपश्चिममा एकीकृत समाजवादीले स्थानीय तहमा खासै राम्रो नतिजा ल्याउन सकेन । सत्ता गठबन्धन गरेर निर्वाचनमा होमिँदा पनि २ पालिका प्रमुखमात्रै जितेको थियो । एकीकृत समाजवादीले अहिलेको प्रदेशसभामा कैलाली क्षेत्र नम्बर ४ (ख) र कैलाली क्षेत्र नम्बर ३ (ख) मात्रै पाएको छ ।

सत्ता गठबन्धनका दलहरूबीच असोज २२ गते भएको सहमतिअनुसार कैलाली ४ (ख) कांग्रेस र एकीकृत समाजवादीको भागमा परेको थियो । अहिले उक्त क्षेत्र एकीकृत समाजवादीलाई दिइएको छ । त्यहाँबाट संसदीय दलका नेता रहेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी उम्मेदवार बनेका छन् ।

त्यस्तै कैलाली क्षेत्र नम्बर ३ (ख) मा निवर्तमान अर्थ राज्यमन्त्री अमर साउदले उम्मेदवारी दर्ता गराएका छन् ।

यसबाहेक केन्द्रकै सहमतिमा एकीकृत समाजवादीलाई एकल भाग नपर्दा समस्या भएको छ । ३ क्षेत्रमा एकीकृत समाजवादी र कांग्रेस तथा १ क्षेत्रमा एकीकृत समाजवादी र माओवादीको संयुक्त दाबी रहेको थियो । अहिलेसम्म ती क्षेत्र कांग्रेस र माओवादी केन्द्रले नछोडेपछि सुदूरपश्चिममा एकीकृत समाजवादी प्रदेशतर्फ २ क्षेत्रमै सीमित हुने भएको छ ।

बाजुराको प्रदेश (ख), अछामको २ (ख) र कञ्चनपुर २ (ख) मा कांग्रेसले दाबी नछोडेपछि गठबन्धनबाट छुट्टिएर गठबन्धनविरुद्ध नै एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गरेको छ । त्यस्तै कञ्चनपुर ३ (क) मा पनि माओवादीले दाबी नछोडेपछि एकीकृत समाजवादीले उम्मेदवार खडा गरेको छ ।

उता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा पनि गठबन्धनविरुद्ध एकीकृत समाजवादी मैदानमा उत्रिएको छ ।

कहाँ को बागी ?

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) मा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री खड्काले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । यहाँ गठबन्धनबाट कांग्रेसका बहादुरसिंह थापाले उम्मेदवार छन् ।

त्यस्तै कञ्चनपुर प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले उम्मेदवारी दर्ता गराए । यहाँ माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टले टिकट पाएका छन् ।

बैतडीमा एकीकृत समाजवादीका नरेन्द्र विष्टले प्रदेशसभा (क) मा बागी उम्मेदवारी दिएका छन् । यहाँ कांग्रेसका वीरबहादुर विष्ट गठबन्धनका उम्मेदवार छन् ।

दार्चुला (ख) मा पनि वीरबहादुर विष्टको बागी उम्मेदवारी छ । यहाँ माओवादीका मानबहादुर धामी गठबन्धनका उम्मेदवार छन् । उनी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री हुन् ।

अन्तिमसम्म माओवादी केन्द्रसँग सहमति नभएपछि बाजुरा (क) मा नरेशकुमार शाहीले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा माओवादीका कर्णबहादुर बिक गठबन्धनका उम्मेदवार छन् । फरक-फरक जिल्लामा गठबन्धनविरुद्ध बागीका कारण पार्टीको रक्षा भएको एकीकृत समाजवादीका नेताहरूको बुझाइ छ ।

‘जिल्ला नै शून्य हुने गरी गठबन्धन गर्दा पार्टीको अस्तित्वको कुरा आउने थियो’, एकीकृत समाजवादीका डोटी इन्चार्ज पूर्णा जोशीले भनिन्, ‘उहाँहरू पार्टीको रक्षाको निम्ति उठ्नु भएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर