मकवानपुर २ मा ‘गुरु-चेला’बीच हुने भयो भिडन्त – Nepal Press

मकवानपुर २ मा ‘गुरु-चेला’बीच हुने भयो भिडन्त

हेटौंडा । कुनै समय थियो, नेकपा एमालेका नेता विरोध खतिवडाको भाषणकला र चुनाव जित्ने रणनीतिको महेश बर्तौला ‘फ्यान’ थिए । गृह क्षेत्र भएको कारण पनि खतिवडासँग बर्तौलाको सामिप्यता प्रगाढ थियो ।

बर्तौला अनेरास्ववियु मकवानपुरको जिल्ला अध्यक्ष हुँदा खतिवडा पत्नी तथा समाजवादी नेतृ मुनु सिग्देल तत्कालीन समयमा एमाले मकवानपुरकी अनेरास्ववियु इन्चार्ज थिइन् । इन्चार्ज भएको कारण कतिपय महत्वपूर्ण छलफल उनै खतिवडा निवासमै हुने गर्थ्यो । यसकारण पनि बर्तौला र खतिवडाको सम्बन्ध अझ राम्रो थियो ।

अहिले समय फेरिएको छ । कुनै समय खतिवडाको चुनावी कमाण्ड सम्हालेका बर्तौला योपटक खतिवडाकै प्रतिस्पर्धी भएका छन् । एकीकृत समाजवादीबाट खतिवडा र एमालेबाट बर्तौलाले मकवानपुर २ उम्मेदवारी दर्ता गरेसँगै ‘गुरु-चेला’को भिडन्त पक्का भएको हो ।

मकवानपुरको चुनावी राजनीतिमा सबैभन्दा सफल खेलाडी हुन् खतिवडा । पञ्चयातकालबाटै संसदीय राजनीतिमा दख्खल राखेका उनले पहिलो पटक २०४३ सालमा बाहेक त्यसपछिको कुनै पनि चुनावमा पराजित हुनुपरेको छैन ।

बहुदल स्थापनापछि २०४८, २०५१, २०५६ तथा २०७४ सालमा भएका निर्वाचन उनी विजयी भए । तीन पटक एमाले एक्लैले जिताएको उनलाई अघिल्लो प्रतिनिधिसभामा भने माओवादीको साथ थियो । यो पटक खतिवडा कांग्रेस-माओवादीको साथमा निर्वाचन लड्दैछन् ।

यो पटक उनको चुनाव जित्ने सूत्र थाहा पाएका बर्तौला उनीविरुद्ध चुनावी मैदानमा छन् । खतिवडाले सिकाएको ‘सूत्र’को प्रयोग गर्दै चुनाव जित्ने दाउमा छन् बर्तौला ।

पटक-पटक सांसद हुँदा पनि मन्त्री हुन नपाएका खतिवडा एमाले विभाजित भएर एकीकृत समाजवादी पार्टी स्थापना भएपछि मात्रै मन्त्री बन्न पाए । २०७८ साल भदौ २ गते जन्मिएको एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य खतिवडालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचक मानिन्छ ।

एमाले अध्यक्ष ओलीको कडा विरोध गरेकै कारण एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले खतिवडालाई मन्त्री बन्ने अवसर दिएकोसमेत चर्चा चलेको थियो । स्वास्थ्यमन्त्री बनेका उनको कार्यकाल विवादमा परेको थियो ।

नेपाल प्रेससँग कुरा गर्दै ३९ वर्षका बर्तौलाले आफूहरुको तीन पुस्ताले खतिवडालाई मतदान गरेर जिताएको भन्दै उहाँले अब आराम गर्नुपर्ने समय आएको बताए । युवाहरुको राजनीतिमा प्रवेश अनिवार्य रहेको भन्दै उनले मकवानपुर २ का जनताले एमालेलाई विजयी गराउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर