गण्डकीका यी क्षेत्रमा हुनेछ हेभिवेटबीच रोचक चुनावी भिडन्त – Nepal Press

गण्डकीका यी क्षेत्रमा हुनेछ हेभिवेटबीच रोचक चुनावी भिडन्त

पोखरा ।आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गण्डकीमा केही हेभिवेट नेताले चुनाव लड्दै छन् । गण्डकीका १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शीर्ष पार्टीका पदाधिकारीसहित ठूला नेता चुनाव लड्दै छन् ।

आगामी निर्वाचनमा गण्डकीका सबैभन्दा हेभिवेट उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । उनी गोरखा २ बाट चुनाव लड्दै छन् । चितवन ३ बाट प्रचण्ड सुरक्षित स्थान खोज्दै गोरखा २ आइपुगेका हुन् ।

यहाँ उनलाई जिताउन पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का बाबुराम भट्टराईले नै चुनावमा नउठ्ने घोषणा गरेका थिए । प्रचण्डले आइतबार भट्टराईसँगै नारायणकाजी श्रेष्ठलाई सँगै लिएर उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रचण्डसँग आगामी निर्वाचनमा एमालेका अब्दुस मियाँ लड्दै छन् ।

प्रचण्डपछि गण्डकीबाट चुनाव लड्न लागेका अर्का हेभिवेट उम्मेदवार हुन्, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका किसान श्रेष्ठसँग ६ हजार मतले पराजित भएका उनी केही ‘मिसन’ बाँकी रहेकाले फेरि चुनाव उठ्न लागेको उद्घोष गरेका थिए । अघिल्लो पटक पौडेललाई हराएका श्रेष्ठ भने अहिले बारा क्षेत्र नम्बर ४ पुगेका छन् ।

पौडेललाई अहिलेको चुनावमा कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले प्रतिस्पर्धा दिँदैछन् । गठबन्धनको राजनीति अन्त्य गर्ने भन्दै जोशी चुनावमा होमिएका छन् । अघिल्लो पटक पनि जोशीले उम्मेदवारी दिएतापनि पौडेलकै सक्रियतामा उनको उम्मेदवारी खारेज गरिएको थियो । तर यसपटकको चुनावमा भने आफ्नो उम्मेदवारी खारेज गर्न नमिल्ने जोशीको दाबी छ ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ लमजुङबाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । अघिल्लो पटक यही क्षेत्रबाट निर्वाचित उनी फेरि पनि लमजुङबाट नै निर्वाचित बन्न चाहन्छन् । कास्की १ र लमजुङबाट उनको नाम सिफारिस भएतापनि गुरुङले अन्तिममा लमजुङबाट चुनाव लड्ने निर्णय लिएका थिए ।

अघिल्लो पटक वाम गठबन्धनबाट निर्वाचित उनी अहिले पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।लमजुङमा यसपटक रोचक भिडन्त हुने निश्चित छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र देव गुरुङको चुनावी भिडन्त रोचक हुनेछ । देव गुरुङ र पृथ्वीसुब्बा भिड्न आँटेको यस क्षेत्रमा गत स्थानीय चुनावमा १ लाख ३१ हजार ४९४ मतदाता थिए । यहाँको निर्वाचनमा दुवैलाई गाह्रो हुने देखिन्छ ।

स्थानीय तह प्रमुखको चुनावमा नेकपा एमाले एक्लैको मत गठबन्धनको मतभन्दा थोरैमात्र बढी छ । नेकपा एमालेले ८ पालिकाको प्रमुखमा कुल ४२ हजार ७२१ मत पाएको थियो । यता गठबन्धनका दलमध्ये नेपाली कांग्रेसको ३६ हजार ४१२ मत छ । माओवादी केन्द्रको मत ४ हजार ६५१ रहेको छ । नेकपा एमाले र गठबन्धनको प्राप्त मतको अन्तर १ हजार ६५८ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लाभर ८२९ मत पाएको थियो ।

यस्तै अर्को हेभिवेट भिडन्त स्याङ्जामा हुनेछ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल स्याङ्जा २ को प्रतिनिधिसभा निर्वाचनमा आमनेसामने हुनेछन् । यस क्षेत्रमा गत स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले ३६ हजार मत ल्याउँदा एमालेले ३४ हजार, माओवादीले १ हजार मत ल्याएको थियो । यो अंक गणितले यहाँको चुनाव पनि रोचक हुने देखिन्छ ।

शिक्षा मन्त्री तथा माओवादी सचिव देवेन्द्र पौडेल पनि गण्डकीबाट निर्वाचनमा लड्दै छन् । उनले बागलुङ २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । पौडेलसँग यस क्षेत्रमा एमालेकी मञ्जु शर्मा चालिसे चुनावी भिडन्तमा उत्रनेछिन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य शशांक कोइराला नवलपुर १ बाट चुनाव लड्दै छन् । उनी चुनाव जितेर आफू कांग्रेसबाट प्रधानमन्त्रीको दाबेदार रहेको घोषणा गरिसकेका छन् । कोइरालाविरुद्ध एमालेले सो क्षेत्रमा कृष्णप्रसाद पौडेललाई उठाएको छ ।

एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी कास्की क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभा निर्वाचन लड्दै छन् । उनी एमालेबाट मुख्यमन्त्रीको दाबेदार पनि हुन् । उनले गठबन्धनका दीपक कोइरालासँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै एमाले स्थायी कमिटी सदस्य तथा गण्डकीका पूर्व अर्थमन्त्री किरण गुरुङ तनहुँ २ बाट प्रतिनिधि सभा निर्वाचन लड्दै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर