दसैँको टीकापछि महत्वपूर्ण सराएँ नाच, यसरी मनाइन्छ लुम्बिनीमा – Nepal Press

दसैँको टीकापछि महत्वपूर्ण सराएँ नाच, यसरी मनाइन्छ लुम्बिनीमा

रुपन्देही । दसैँको टीकापछि विशेष मानिने सराएँ नाच लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विशेष महत्वका साथ खेलिन्छ । दसैँको दिनदेखि पूर्णिमासम्म शक्तिपीठमा हतियार जुधाएर नाचिने सराय नाच यो वर्ष पहाडी तथा तराईका जिल्लामा यस वर्ष निरन्तरको वर्षाले प्रभावित बनाएकाे थियाे । गुल्मी, अर्घाखाँची, प्यूठान, पाल्पा, बाग्लुङ, पर्वत लगायतका जिल्लाका दर्जनौँ शक्तिपीठ अर्थात कोतहरुमा नाचिन्छ ।

बितेका दुई वर्ष शक्तिपीठमा लाग्ने ठूलो जात्राबाट कोरोना संक्रमण बढ्ने भन्दै स्थानीय प्रशासनले रोकेका कारण सराएँ नाच प्रभावित भएको थियोे यो पटक वर्षाले प्रभावित भएको छ । शक्तिपीठमा जाने बाटोहरु पहिरोले रोकिएको र वर्षा निरन्तर परिरहेकाले दसैँँपछि ठूलो जमघटमा हुने नाच प्रभावित भएको थियो ।

यो वर्ष ठूलो वर्षा भएपनि विभिन्न स्थानमा यसको प्रदर्शन गरिएको छ र केही स्थानमा ठूलो तयारी गरिएको थियो ।इतिहासका जानकारहरुका अनुसार देवताले राक्षसमाथि विजयी हासिल गरेपछि टीका लगाउने र त्यसको खुशीयालीमा सराएँ नाच नाचिने गरिन्छ ।

विशेषगरी दुर्गा र कालिका मन्दिरमा खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी नाचिने सराएँ नाचमा हतियार एकआपसमा जुधाइन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको इतिहासका जानकारहरू बताउँछन् ।

यसरी नाच्दा देवी भगवती प्रशन्न हुने धार्मिक जनविश्वास छ । अर्घाखाँची, गुल्मी, प्युठानमा यो नाचका लागि प्रख्यात मानिन्छ । अर्घाखाँचीको अर्घा, भण्डारथुम, गुल्मीको इम्मा, चोयगालगायतका कोटहरूमा दसैँदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ ।

गुल्मी र अर्घाखाँचीका कोट नाम गरेका ठाउँहरू अर्घाको कोट, धुर्कोट, पुर्कोट, चन्द्रकोट, मानकोट, असुरकोट, छत्रकोटलगायतका स्थानको नाम सराएँसँग जोडिएर आउँछ । बाइसेचौबिसे राज्य हुँदाताका भुरेटाकुरे राजाहरूले आफ्नो कोटमा सराएँ नाच नचाउने गरेपछि नै यसको शुरूआत भएको यसका जानकारहरु बताउँछन् ।

संस्कृतविद् राजेन्द्रकुमार आचार्यका अनुसार लुम्बिनी प्रदेशमा अर्घाखाँचीको अर्घाबाट यसको शुरुवात भएको मानिन्छ । अर्घाको सराएँ, अर्घाको पून्यू, मेला नै अहिलेसम्म सराएँको शुरुवात भएको पाइएको छ यसलाई पूर्णिमा मेला पनि भनिन्छ । उनको अध्ययन अनुसार यसको सुरुवातीका विषयमा दुई फरक मत रहेका छन् । एकथरी मत अनुसार अज्ञात समय (परापूर्व काल)देखि अर्घामा सराय खेल्ने गरिएको भन्ने छ ।

यहाँबाट खाँचीकोट, प्युठान बिजुलीकोट, गुल्मी धुर्कोट, इस्मा, चोयगा तथा पाल्पामा लगेर खेल्न थालिएको भन्ने छ । अर्को चाँही गुरुङ्ग राजाले अर्घ दिने गरेको, १४ औं शताब्दीबाट मुस्लिम आक्रमणबाट हारेर नेपाल पसेका, करिब १५ औं शताब्दीबाट २२ से २४ से राज्य जम्मा भए, गुरुङ्ग (जाडेया राज्य चलाएका), मगर राज्य चलाएकालाई ठकुरी राज्य चलाएकाले जितेको र अर्घामा पनि जिल्ला राई भन्ने ठकुरीले आधुनिक राज्य बसाले र उनैले अर्घामा सराय शुरु गरेको आचार्य बताउँछन् । उनका तीन भाइले खाँची र धुर्कोटमा सराएँ लगेको इतिहास भेटिएको आचार्य बताउँछन् ।

इतिहासका जानकारहरुका अनुसार विसं १३८१ म भारतको दिल्लीबाट जिल्ला राई नाम गरेका राजा अहिलेको अर्घाखाँचीस्थित अर्घा आएर बसे । समथमा गीत गाउने गन्दर्भ, पूजागर्ने पुरोहित, लुगा सिलाउने परियार तथा हतियारसहित फौज लिएर आए । त्यातिबेला अर्घामै गुरुङ राजा थिए । उनीसँग लडाई जितेर १७ मौजा कब्जा गरे । बडादशैंको पूर्णिमाका दिन सराएँ निकाले ।

त्यसपछि पूर्णिका दिन अर्घाबाट सराएँ निकाल्न शुरु भयो । क्रमशः जिल्लाका अन्य दुर्गा स्थापना गरी मन्दिर बनाएर दसैँदेखि पूर्णिमासम्म सराएँ नाच निकाल्ने परम्परा शुरु भएको हो । बिस्तारै गुल्मी, प्यूठान, पाल्पा हुँदै छिमेकी जिल्लाहरुमा शुरुवात भएको पाइन्छ ।

मन्दिरबाट भगवान् बाहिर निस्कन सक्ने किंवदन्तीका आधारमा हरेक रात स्थानीय आलोपालो मन्दिरको ढोकानजिकै जाग्राम बसेर भगवानको रक्षा गर्ने संस्कार अझै पनि कतिपय स्थानमा कायम छ । खासगरी बहुमूल्य मूर्तिहरू, हातहतियारको सुरक्षाका लागि पनि सुरक्षाको संस्कार शुरू भएको भनाइ छ ।

नयाँ पुस्ताले सराएँको अनुशरण गर्न नसक्दा ऐतिहासिक संस्कृति संकटमा परेको पाकापुस्ताको चिन्ता छ । पहिले पुरुषहरु मात्र खेल्ने सराएँ नाच अहिले महिलाहरु पनि सक्रियताका साथ सहभागिता हुने गर्दछन् ।पहिले पहाडी जिल्लाहरुमा बढी खेलिने यो नाच बसाईसराईसँगै पहाडबाट तराईका विभिन्न जिल्लामा बस्नेहरुले तराईका विभिन्न क्षेत्रमा यसको शुरुवात गरेका छन् । अहिले प्रत्येक वर्ष अंग्रेज फौजलाई पराजित गरेको रूपन्देहीको बुटवलस्थित जितगढी किल्लामा पनि यो नाच नाचिन्छ ।

पछिल्ला वर्ष धेरै जिल्लामा नाचिए पनि सराएँ नाचको शुरूआत तराईमा सराय नाचको शुरुवात भएको जितगढी सराएँ नाच समितिका संयोजक ऋषि आजाद बताउँछन् । उनले आफ्नै सक्रियतामा बुटवलको जीतगढीमा केही वर्षयता यसकको शुरुवात गरेको र निकै धेरैले यसमा साथ दिएको बताए ।

‘अर्घाखाँची, गुल्मीबाट बसाइसराइ गरी रुपन्देही, कपिलवस्तु र दाङको तल्लो बेल्टतिर झरेकाहरूले पनि सराय नाच्छन्’ आजाद भन्छन्– ‘तराई झरेकाहरूले पनि संस्कृतिको जगेर्ना गर्न सराय नाच नाच्न थालेका छन् । तर नयाँ पिंढीमा यसको जानकारी दिन नसक्दा अहिले आएर यो नाच संकटमा परेकोले आफै अगुवाई गरेर रुपन्देहीको जितगढीमा हुरु गरेको हो ।’ उनका अनुसार यसपटकदेखि दशैंपछिको त्रियादशीमा यहाँ सराय नाच नाचिन्छ ।

यसरी नित्य पूजा भएपछि सराय हुने दिन विधिअनुसार पूजापाठपछि ठाउँ र परिस्थितिअनुसार बलि (अधिकांश स्थानमा राँगो) दिई सराएँ नाच शुरू हुन्छ । पहिला कोट वा मन्दिर वरिपरि परिक्रमा गरी पछि खुला ठाउँमा पुगेर दिनभर खुँडा वा लाठी नचाउँदै र जुधाउँदै बाजाका तालमा ‘वाख्खै’ ‘ह’ भन्दै सराय नाच्ने चलन छ ।

पहिलेका राजाहरूले युद्ध मन पराउने भएकाले त्यसको अभिनय गरी दसैँ बिदाइका बेला राजालाई देखाउने गरी नाच शुरू भएको हो । त्यसैले यसमा पनि पहिले लडाइँ वा युद्धमा प्रयोग हुने घरेलु हतियारको प्रयोग गरिन्छ ।तराई क्षेत्रमा भने नौलो मानिन्छ । शुरूका वर्षहरूमा पुरुषहरू मात्रै सरायमा सहभागी हुने भए पनि अहिले महिलासमेत नाच्ने गरेका छन् । पञ्चेबाजाको तालमा नाचिने सराय नाचमा ‘वाख्यै वाख्यै हो’ उच्चारण गरिने गरिएको छ ।

सप्तमीको दिन फूलपाती भित्र्याएपछि मन्दिर वा कोटमा आलम (भगवानको प्रतिमा) निकाल्ने गरिन्छ । विभिन्न रङ्गीचङ्गीसहितका ध्वजापताकाले सिँगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा मन्दिर बाहिर सजाएर राखेपछि दैनिक पूजापाठ गर्ने गरिन्छ ।
दाङका लेखक केबी मसालले प्युठानका केही ठाउँमा तिहारसम्म सराय नाच नाच्ने गरिएको बताए ।

प्युठानको विजुवार लगायतका क्षेत्रमा खेलिने डल्ले सराएँ तिहारसम्म खेलिन्छ । सराएँ हेर्नकै लागि बसाइँ सरेकाहरू समेत केही दिनको लागि आफ्नो पहाड घर फर्कन्छन् । सराएँ नाच्ने शक्तिपीठमा हेर्ने र नाच्नेले आनन्द मात्र लिँदैनन्, धेरैले व्यापार गर्ने अवसरसमेत पाउँछन् । सराएँ नाच्ने शक्तिपीठमा विशेषगरी जेरीको व्यापार धेरै हुने गर्दछ ।

संस्कृतविद् घनश्याम कोइराला सराय नाच मौलिक संस्कृति भएकाले यसको संरक्षण र संम्बद्र्धन गर्न आवश्यक रहेको बताउँछन् । ‘मौलिक संस्कृति जोगाउन यसको संरक्षण र सम्वद्र्धन आवश्यक छ कसैको वक्रदृष्टि नपरोस्’– उनले भने ।

लुम्बिनीमा कहाँ कहाँ खेलिन्छ सराएँ नाच ?

अहिले अर्घाखाँचीको अधिकांश कोटहरुमा ठाउँमा दशैंदेखि पूर्णिमासम्म सराएँ खेलिन्छ । अर्घाखाँचीमा अर्घासँगै भण्डारथुम, मालारानी, बामरुक, राँगामारे, छत्रकोट, चौडिला, उलुकछत्र, खाँचीकोट, ठाडा, असुरकोटलगायतका कोटहरुमा ।

गुल्मीको चोयगा, धुर्कोट रजस्थल, अर्जे, जुभुंग, चन्द्रकोट, जुनियाकोट, पौदी अमराईकोट, अर्जे अमरपुर, नयाँगाउँ, पिपलधारालगायतका क्षेत्रमा ।

प्यूठानको बिजुलीकोट, ओखरकोट, भित्रीकोटलगायतका क्षेत्रमा र विजुवारमा डल्ले सराय तिहारसम्म खेलिन्छ ।

पाल्पामा मुझुङ्गकोट, ख्याहा, गोखुंगा रैनादेवी, क्ुस्ुमखोला, बल्डेङ्गगढी क्षेत्र, रम्भादेवी, माथागढीमा खेलिन्छ । बाग्लुङ्ग र पर्वत, स्याङ्गजामा अहिले हराउँदै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर