सुस्ताका बस्तीमा पस्यो नारायणीको बाढी – Nepal Press

सुस्ताका बस्तीमा पस्यो नारायणीको बाढी

रुपन्देही । नारायणी नदीको बाढी पश्चिम नवलपरासीको सुस्ता गाउँमा पस्दा स्थानीय जोखिममा परेका छन् । सुस्तामा बनाएको १ नम्बर ठोकर नजिकको बाँध टुटेको छ । सुस्तास्थित सशस्त्र क्याम्मसमेत डुबानमा परेकाले थप जोखिम बढेको सुस्ताका रवीन्द्र जैसवालले जानकारी दिए ।

सुस्ताको थारु टोल हुँदै बस्तीमा बाढी पसेको र पानीको सतह बढिरहेकाले सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

पानीको सतह निरन्तर बढ्ने क्रममा रहेकाले सुस्ता जोखिममा रहेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । प्रदेश सरकारले बनाएको जनता आवाससम्म पानी नपुगे पनि कच्ची घरमा पानी पसेको उनले जानकारी दिए ।

पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गण्डक बाँधमा अहिले प्रतिसेकेन्ड ४ लाख ४० हजार क्युसेक पानीको बहाव रहेको गण्डक बाँधका नेपाली सम्पर्क अधिकारी अमित खड्काले जानकारी दिए ।

बाँधको संरचना पुरानो र कमजोर भएकाले ३ लाख ६७ हजार क्यूसेक पानी पुगेपछि खतराको तह मानिन्छ । पानीको वहाब बढ्न थालेपछि बिहीबार बिहानैबाट गण्डक बाँधका ३६ वटै ढोका खोलिएको छ । गण्डक बाँधका कारण पश्चिम नवलपरासीका दुई दर्जन बढी गाउँ डुबानको जोखिममा पर्दै आएका छन् ।

गण्डक बाँध क्षेत्रको स्थलगत निरीक्षण गरी जोखिम बढेकाले नदी तटीय क्षेत्रमा तीनै तहका सुरक्षा टोलीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *