मधेस प्रदेशका सभामुख यादवले सार्वजनिक गरे आफ्नाे पाँचवर्षे उपलब्धि (भिडिओसहित) – Nepal Press

मधेस प्रदेशका सभामुख यादवले सार्वजनिक गरे आफ्नाे पाँचवर्षे उपलब्धि (भिडिओसहित)

जनकपुरधाम । मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आफ्नो ५ वर्षे कार्यकालको उपलब्धि र गर्न नसकेका महत्वपूर्ण कामहरु सार्वजनिक गरेका छन् ।

सभामुख यादवले प्रदेशको नाम र राजधानी तोक्न सफल हुनु नै आफ्नो सबैभन्दा महत्वपूर्ण उपलब्धि रहेको बताए । उनले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘सायद म नभएको भए प्रदेशले नाम मधेस न राजधानी जनकपुरधाम हुने थिएन । यो प्रदेश सरकारको होइन, मेरो भूमिकाले सम्भव भयो ।’

प्रदेशको नाम र राजधानी तोक्यौं भनेर दाबी गर्ने मुख्यमन्त्री र मन्त्रीहरु पनि झुटो बोलिरहेको सभामुख यादवले टिप्पणी गरे । नाम र ठेगाना तोक्न नसकेमा संघीयता नै धरापमा पर्ने भनेर एक/एक सांसदलाई कन्भिन्स गरेर प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोक्न सफल भएको उनले दाबी गरे ।

उनका अनुसार २०७४ माघ ७ गते सपथग्रहणपश्चात माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । अहिलेसम्म प्रदेशसभाको ९ अधिवेशनमा २२८ बैठक (३११ घण्टा १८ मिनेट ५६ सेकेण्ड) बसेको छ । प्रदेशसभामा ६१ विधेयक दर्ता भएकोमा ५५ वटा पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको छ ।

प्रदेशसभामा पेश भएका मदरसा शिक्षा बोर्ड गठन, प्रदेश प्रशासन सम्बन्धमा बसेको विधेयक, प्रदेश बालिका संरक्षण सम्बन्धमा बनेको विधेयकलगायतका ६ विधेयक विचाराधीन अवस्थामा छ । विचाराधीनमध्ये ५ विधेयक विभिन्न समितिमा छलफल गरी प्रतिवेदन सभामा पेश गर्ने अवस्थामा रहेको र विचाराधीन एक विधेयक प्रस्तुतकर्ताले अगाडि बढाउने प्रस्ताव नै पेश नगरेकाले अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

सभामुख यादवले प्रदेशसभा सञ्चालन गर्दा सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गरेको र कोभिड-१९ महामारीको समयमा पनि प्रत्येक माननीयलाई ल्यापटप उपलब्ध गराएकाले बैठक सञ्चालन तथा व्यवस्थापन खर्चमा कटौती भएको दाबी गरे । खर्च कटौतीमा अन्य प्रदेशको तुलनामा मधेस अगाडि भएको उनको भनाइ छ ।

उनले प्रदेश सरकारले उपलब्ध गराएको न्यून बजेटका कारण काम कारबाहीलाई पूर्ण प्रविधिमैत्री बनाउन नसकेको, प्रदेशको राजधानी कायम भएपछि प्रदेशसभाको लागि छुट्टै स्थायी संरचना बनाउन प्रारम्भ नभएको र आफ्नो भवनको अभावमा आम जनसमुदाय र पत्रकार एवं सरोकारवालाहरुलाई सभाको काम कारबाहीमा प्रत्यक्ष पहुँच स्थापित गराउन नसकेको गुनासोसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर