माओवादी प्रभावित क्षेत्रमा कांग्रेसको उम्मेदवारी शून्य ! पार्टी झन् कमजोर हुने कार्यकर्ताको चिन्ता – Nepal Press

माओवादी प्रभावित क्षेत्रमा कांग्रेसको उम्मेदवारी शून्य ! पार्टी झन् कमजोर हुने कार्यकर्ताको चिन्ता

रूपन्देही । माओवादी युद्वका वेला साविक राप्तीमा नेपाली कांग्रेस निशानामा परेको थियो । अहिले यहाँ माओवादीलाई छाडेर एक सीटमात्र पाउने भएपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा असन्तुष्टि बढेको छ ।

सत्ता गठबन्धनभित्र प्रतिनिधिसभामा सीट बाँडफांँट गर्दा कांग्रेसले अहिलेको लुम्बिनीमा १२ सीट पाउने भए पनि युद्वमा संघर्ष गरेर पार्टी जोगाएको साविकको राप्तीमा एक क्षेत्रमा मात्र पाउने भएको छ ।

लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनमा कांग्रेसले प्रतिनिधिसभातर्फ १२ सीट पाउने र अन्य पार्टीले बाँकी सीट लिने सहमति भएको कांग्रेस नेता गोविन्दराज पोखरेलले सार्वजनिक गरेका छन् ।

पोखरेलका अनुसार सीट बाँडफाँटमा पुरानो राप्ती अञ्चलअन्तर्गतका जिल्लाहरु रुकुम पूर्व, रोल्पा, प्यूठान र दाङबाट कांग्रेसले प्रतिनिधिसभामा एक सीटमात्रै पाउने सहमति भएको छ । ‘हामीले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पुरानो राप्तीका ४ जिल्लाबाट दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मात्रै पाउने भएका छौं’, पोखरेलले भने ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनविरुद्ध लडेको कांग्रेसले लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीमा २, नवलपरासीमा १ र कपिलवस्तुमा २ गरी ५ सीटमा जीत हासिल गरेको थियो ।

‘यसपटक गठबन्धनका कारण कांग्रेसबाट धेरै साथीहरु उम्मेदवार हुन बन्चित हुनुभएको छ । तर, कम ठाउँमा उम्मेदवारी दिए पनि धेरै जनाले प्रतिनिधिसभामा जीत हासिल गर्नुहुनेछ’, पोखरेलले भने ।

जनयुद्वका समयमा माओवादीसँग लडेर पार्टी जोगाएका क्षेत्रमा पार्टीको उम्मेदवारी नै नरहने र उही माओवादीका नेतालाई जिताउने गरी गठबन्धन भएकाले पार्टीको अस्तित्व झनै कमजोर हुने र नेतृत्वले यसमा विवेक पुराउन नसकेको कांग्रेस कार्यकर्ता दीपक पन्थी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर