भियतनामविरुद्ध खेल्दा नेपालले रक्षापंक्तिमा ध्यान दिने – Nepal Press

भियतनामविरुद्ध खेल्दा नेपालले रक्षापंक्तिमा ध्यान दिने

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज (शुक्रबार) नेपालले आयोजक भियतनामको सामना गर्दैछ । नेपाली टीमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरुद्ध खेल्दा रक्षापंक्तिमा ध्यान दिँदै काउन्टर अट्याक गर्ने बताएका छन् ।

‘भियतनाम बलियो टीम छ। तर, यसको मतलव हामी कमजोर छौं भन्ने होइन । जसरी हुन्छ भियतनामलाई रोक्ने हाम्रो योजना हो । त्यसका लागि हामी रक्षापंक्तिलाई मजबुत बनाउने छौं । अनि काउन्टर अट्याक गर्दै गोल निकाल्ने प्रयास गर्नेछौं’, श्रेष्ठले भने ।

मुख्य प्रशिक्षक श्रेष्ठले भियतनामको पासिङ गेमलाई अवरोध पुर्‍याउन नेपाली खेलाडीले पनि अनुशासित भएर रक्षात्मक खेल्नुपर्ने बताउँछन् । ‘हामी डिफेन्ड गर्दा समूहमा अट्याक गर्दा पनि समूहमै खेल्नेछौं । व्यक्तिगत कौशलभन्दा सामूहिक प्रयासमा ध्यान दिने हाम्रो योजना हो । पहिलो खेलको दोस्रो हाफमा हाम्रो रक्षापंक्तिको संरचना केही बिग्रिएको थियो । आजको खेलमा टीमको रणनीतिक संरचना (ट्याक्टिकल सेप) नबिग्रियोस् भनेर चनाखो रहनेछौं’, श्रेष्ठले भनेका छन् ।

यसअघि पहिलो खेलमा नेपाल बलियो थाइल्यान्डसँग ३-० ले पराजित भएको थियो ।

नेपाली टीमका कप्तान प्रशान्त लक्षम अत्यधिक गर्मीका बाबजुद दिउँसो खेल्नु परेकाले थाइल्यान्डसँग सोचे जस्तो खेल देखाउन नसकेको बताउँछन् । पहिलो खेलको अनुभवका कारण दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ ।

‘मलाई लाग्छ थाइल्यान्डभन्दा बलियो टीम हो भियतनाम । भियतनामी खेलाडीहरुको पासिङ राम्रो छ । हामी सबैले आआफ्नो भूमिका शतप्रतिशत निभाए उनीहरुलाई रोक्न सकिन्छ । प्रशिक्षकको रणनीति पछ्याउँदै आफ्नो पोजिसन नछाडी खेलेमा सकारात्मक नतिजा निकाल्न सकिन्छ जस्तो लागेको छ’, लक्षमले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर