रूपन्देहीमा एमालेले जसपा र राप्रपासँग तालमेल गर्दा यस्तो छ समीकरण – Nepal Press

रूपन्देहीमा एमालेले जसपा र राप्रपासँग तालमेल गर्दा यस्तो छ समीकरण

रूपन्देही । सत्तागठबन्धनबाट जनता समाजवादी अलग भएसँगै ५ निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा नेकपा एमालेको पूर्व तयारी फेरिएको छ । यसअघि नै राप्रपाका लागि समेत तालमेलको अनौपचारिक सहमति गरेको एमालेका लागि जसपासँगको तालमेलपछि पूर्ववत तयारी फेरिएको हो ।

जसपासँगको सहमतिअनुसार रुपन्देहीबाट जसपाले प्रतिनिधि सभाको लागि एउटा निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि २ वटा निर्वाचन क्षेत्र पाउने सहमति रहेको एमाले श्रोतले बताएको छ।

जसपाका एक नेताका अनुसार जनता समाजबादी पार्टीले रुपन्देहीको क्षेत्र नं ४ बाट प्रतिनिधि सभा र प्रदेशसभामा एक सिट पाउने छ भने एमालेले प्रदेशसभामा एक सिट पाउने छ। जसपाका लागि प्रदेशको ५ ख वा ३ ख बाट दिने सहमति भएको छ ।

त्यसैगरी राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासंग यसअघि निर्वाचनमा तालमेल गर्ने अनौपचारिक सहमति भएको थियो । राप्रपाबाट प्रस्तावित उम्मेदवार दिपक बोहोराले निर्वाचन क्षेत्र नं १ मा दावी गरेपछि सहमति हुन सकेको थिएन ।

तर बोहोराले पछिल्लो समय क्षेत्र नं ३ मा उम्मेदवार हुन सहमत भएपछि राप्रपासँग अनौपचारिक सहमतिको करिव टुंगो लागेको हो।
बोहोरा २०७४ सालको निर्वाचनमा नेपाली काग्रेससंगको तालमेलमा क्षेत्र नं ३ बाट उम्मेदवार बन्दा नेकपा एमालेका उम्मेदवार घनश्याम भुसालसंग पराजित भएका थिए।

त्यो सँगै राप्रपाले प्रदेशसभामा समेत एक सिट दावी गरेको भएपनि एमालेले सहमत भएको छैन ।राप्रपासँगको सहमतिमा एमालेले रुपन्देहीको क्षेत्र नं ३ राप्रपाका लागि सहयोग गर्ने सहमति भएको छ। उक्त निर्वाचन क्षेत्रबाट नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालसंगै बासुदेव घिमिरे र यज्ञजित शाहको नाम सिफारिस भएको थियो।

त्यसैगरी रुपन्देहीको क्षेत्र नं १ मा पार्टी सचिव छविलाल बिश्वकर्मा, क्षेत्र नं २ मा उपाध्यक्ष बिष्णु पौडेल, क्षेत्र नं ५ मा खिमलाल भटराईको एकल उम्मेदवारी प्रदेश कमिटीले केन्द्रमा पठाएको छ ।

यसअघि गठबन्धन दलमा रूपन्देहीका ५ क्षेत्रमा ३,४,५ नं क्षेत्र कांग्रेस, २ नेकपा एस १ जसपालाई दिने सहमति भएको थियो तर जसपा बाहिर आएपछि १ नं क्षेत्रमा माओवादीले दावी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर