हलमा ‘महापुरुष’ ट्रेलर, इन्टरनेटमा आउँदो हप्ता रिलिज हुने – Nepal Press

हलमा ‘महापुरुष’ ट्रेलर, इन्टरनेटमा आउँदो हप्ता रिलिज हुने

काठमाडौं । दसैँमा हल पुग्ने दर्शकलाई लक्षित गर्दै फिल्म ’महापुरुष’ को हल ट्रेलर रिलिज गरिएको छ । दसैँमा हलमा फिल्म हेर्ने दर्शकहरूलाई मध्यनजर गर्दै हल ट्रेलर रिलिज गरिएको कलाकार एवम् कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए । ‘हामीले राम्रो प्रतिक्रिया पनि पाइरहेका छौँ । फिल्मको नियमित दर्शक र फिल्मकर्मीको प्रतिक्रियाले हामीलाई सघाएको छ’, बानियाँले भने ।

इन्टरनेटमा ट्रेलर रिलिज भने आउँदो साता गरिने उनले बताए । ‘हलमा भन्दा केही फरक इन्टरनेटमा आउने ट्रेलर हुनेछ । हामी आउँदो साता सार्वजनिक गर्ने तयारीमा छौँ,’ उनले भने । ट्रेलरमा फिल्मको कथासारसँगै सम्पूर्ण चरित्रको बारेमा पूर्ण जानकारी पाउने उनले बताए । फ्याम्ली ड्रामामार्फत समाजमा विद्यमान सोचलाई भत्काउने प्रयास गरिएको लेखक एवम् निर्देशक प्रदीप भट्टराईले बताए ।

‘समाजको महत्वपूर्ण विषयमा फिल्मी शैलीमा सरल रुपले देखाउने प्रयास गरेका छौँ । हामीले फिल्मलाई अभिभावकको आँखाबाट देखाउने छौँ । यसलाई स–परिवार बसेर हेर्न सक्नुहुनेछ,’ निर्देशक भट्टराईले भने । फिल्मको मुख्य अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारी पश्चात नेपाली फिल्मबजार बढी नै उतारचढाव देखिएको बताउँछन् । उनले अहिले आर्ट र कमर्सियल भ्यालु बोकेको फिल्म बजारमा दर्शकले पर्खिरहनु भएको विचार राख्दै त्यो ‘महापुरुष’ रहेको बताए ।

‘अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नु भएको छ । महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ’ अभिनेता आचार्यले भने । नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझैँ फाईदा पुर्याउने उनको बुझाइ छ ।

अभिनेता आचार्यले निर्देशक प्रदीप भट्टराईसँग टेलिफिल्म हुँदै शत्रु गतेमा पनि काम गरिसकेका छन् । मह जोडीकै टेलिफिल्महरु मार्फत मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका भट्टराई अझै परिपक्क भएको अभिनेता आचार्यको बुझाई छ । जात्रा , शत्रु गते र जात्रै जात्राको सफलताले आफूलगायत टिममा दायित्व थपिएको निर्देशक भट्टराईले बताउछन् । ‘हामीलाई दर्शकले गर्नुहुने विश्वासले थप जिम्मेवार बनाएको छ । समाजमा विद्यमान सोचलाई भत्काउने प्रयास हाम्रो हो,’ उनले भने ।

सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामामा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय रहेको छ । यही फिल्ममार्फत अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यु गर्दैछन् । यसमा निर्देशक भट्टराईकै लेखन रहेको छ ।

षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ छन् । फिल्ममा दीपक बज्राचार्यले छायांकन, मित्र डी. गुरुङले सम्पादन गरेका हुन् । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य÷शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा किशोर आचार्य, रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *