कहाँ अल्झियो एमाले-राप्रपाको तालमेल प्रयास ? – Nepal Press

कहाँ अल्झियो एमाले-राप्रपाको तालमेल प्रयास ?

राप्रपालाई ६ सिटमा सहयोग गर्न एमाले ‘सकारात्मक’

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मनोनयन गर्ने दिन नजिक आइसक्दा पनि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेलको प्रयासले अझै मूर्तरूप लिन सकेको छैन । यद्यपि, दुई पार्टीबीच शीर्ष तहमा छलफल र संवाद जारी छन् ।

पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा समकक्षी राजेन्द्र लिङदेनबीच गत सोमबार संक्षिप्त भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता ठोस निष्कर्षमा पुग्न नसकेको स्रोतले बताएको छ । ओली–लिङ्देन भेटपछि अस्तिकै दिन बसेको राप्रपा पदाधिकारी बैठकले पनि एमालेसँगको तालमेलका विषयमा कुनै निर्णय लिएन ।

स्रोतका अनुसार प्रतिनिधिसभा चुनावमा राप्रपाका ६ जना नेताहरूलाई सहयोग गर्न एमाले सकारात्मक छ । राप्रपाले भने १२ सिटमा एमालेले सहयोग गर्नुपर्ने प्रस्ताव गरेपछि कुरा मिल्न नसकेको हो । अब स्थानीय आवश्यकताका आधारमा थोरै स्थानहरूमा तालमेल हुन सक्ने सम्भावना रहेको दुवै पार्टीका नेताहरूले बताएका छन् ।

एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेताहरूलाई सिट छोड्न सकिने प्रस्ताव गरेको थियो । लिङ्देन एमाले अध्यक्ष ओलीको गृह जिल्ला झापाबाट उम्मेदवार बन्दैछन् भने मिश्रले काठमाडौं १ बाट चुनाव लड्ने औपचारिक घोषणा गरेका छन् । २०७४ सालको चुनावमा जस्तै यसपालि पनि झापामा एमालेले लिङ्देनलाई र राप्रपाले ओलीलाई सघाउने निश्चितप्राय छ ।

वरिष्ठ उपाध्यक्ष मिश्र पनि काठमाडौं १ मा एमालेको समर्थन प्राप्त गर्नेमा आशावादी छन् । उनले राप्रपा प्रवेश गर्नु अगावै एमाले अध्यक्ष ओलीसँग व्यक्तिगत स्तरमा भेटघाट गरेर सहयोग मागेका थिए । ओलीले त्यस बेला सकारात्मक जवाफ दिएको उनको दाबी थियो ।

यद्यपि, मिश्रलाई समर्थन गर्ने विषयमा ओली टुंगोमा पुगिसकेका छैनन् । अहिले काठमाडौं १ बाट एमालेको सम्भावित उम्मेदवारका रूपमा किरण पौडेलको नाम चर्चामा ल्याइएको छ ।

एमालेले नेपालगञ्जमा डा. धवलशम्शेर राणा, जुम्लामा ज्ञानेन्द्रबहादुर शाही, रुपन्देहीमा दीपक बोहरा र चितवनमा विक्रम पाण्डेलाई समर्थन गर्न सकिने प्रस्ताव गरेको राप्रपाका एक नेताले बताए । तर राप्रपाले यत्तिमा चित्त बुझाएको छैन ।

अस्ति बसेको राप्रपा पदाधिकारी बैठकले एमालेसँग तालमेलको ढोकालाई खुल्ला राख्दै देशभरका सबै क्षेत्रमा उम्मेदवारीका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ । चुनावको मनोनयनअघि २० गते कार्यसम्पादन समितिको बैठक बसेर उम्मेदवारको अन्तिम टुंगो लगाइने एक पदाधिकारीले बताए ।

‘यो बीचमा एमालेसँग समझदारी भयो भने भने, नत्र हामी आफ्नै ढंगले निर्वाचनमा होमिन्छौँ,’ ती नेताले भने ।
एमाले उपमहासचिव विष्णु रिमाल भने आसन्न निर्वाचनमा पार्टीले केन्द्रबाट कसैसँग पनि गठबन्धन नगर्ने बताए ।

उनले दाबी गरे, ‘हामीले केन्द्रको स्तरबाट कसैसँग चुनावी तालमेलबारे छलफल गरिरहेका छैनौँ । राप्रपासँग स्थानीय स्तरमा सहमति भएर केही स्थानमा तालमेल हुन सक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर