दसैँको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले भने– निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सरकार प्रतिबद्ध छ – Nepal Press

दसैँको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले भने– निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सरकार प्रतिबद्ध छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बडादसैँ २०७९ को अवसरमा शुभकामना दिँदै उनले सरकारको प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताएका छन् ।

“बहुधार्मिक, बहुजातीय एवं बहुसांस्कृतिक नेपालका सबै जाति र समुदायको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ तुल्याउन सरकार प्रतिवद्ध छ । सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकासबाट मुलुकको राष्ट्रिय एकता थप मजबुत हुन्छ,” प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनले कोभिड– १९ को सङ्क्रमण कायमै रहेको र डेङ्गुको प्रकोप बढ्दै गइरहेको वर्तमान सन्दर्भमा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरूलाई समेत पालना गर्दै आवश्यक सजगता र सतर्कतासहित चाडपर्वहरू मनाउन सबैलाई अनुरोध गरेका छन् । प्रधानमन्त्री देउवाले यसवर्षको बडादसैँले सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन तथा सत्य र न्यायको मार्गमा अविचलित रूपमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस् भन्दै विजया दशमीको शुभकामना व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर