दसैँमा विदेश : परिवारको भविष्यका लागि पीडा भुल्नेहरू (तस्बिर/भिडिओ) – Nepal Press

दसैँमा विदेश : परिवारको भविष्यका लागि पीडा भुल्नेहरू (तस्बिर/भिडिओ)

काठमाडौं । सबैतिर दसैँको उल्लास छ । थातथलो फर्किनेको सडक जाम, पारिवारिक जमघट, पिङ र मेला अनि मीठोमसिनो परिकारले दसैँलाई झन् रमाइलो बनाइरहेको छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृष्य भने केही फरक छ ।

अधिकांश नेपाली दसैँको रमझममा रमिरहँदा रोजगारीका लागि विदेशिने युवाहरूको ताती छ विमानस्थलमा । रहरभन्दा पनि बाध्यताले विदेशिएका उनीहरूमा एकातिर चाडबाडको संघारमा परिवारसँग बिछोडिनुको पीडा त छँदैछ । अर्कोतिर तिनै परिवारको भविष्यको सपना ।

टीकाको साइत सुरू हुनु २४ घण्टाअघि हामी अन्तर्राष्ट्रिय टर्मिनलको डिपार्चर कक्ष पुग्दा छेउमा उभिएका एकजना युवाको फोन बज्यो । उनले जवाफ फर्काए ‘आमा भर्खर एयरपोर्ट छिरेँ, कागजपत्र मिलाउँदै छु , एकैछिनमा फोन गर्छु है । उनले रातो साइड ब्यागबाट केही थान कागजपत्र र पासपोर्ट निकाले । तस्बिर खिच्दा उनले केही असहज महसुस गरे । सायद विदेशिनुको विवशता झल्किन्थ्यो उनको अनुहारमा । उनले सोधे तपाईँहरू पत्रकार हो ? हामीले हो भन्ने भावमा टाउको हल्लायौँ । उनले भने, ‘परिवारबाहेक कसैलाई केही भनेको छैन सबैले फोटो देख्छन् होला भो नखिच्नुहोस् । उनको अनुरोधलाई हामीले सहर्ष स्वीकार्यौं र क्यामरा बन्द गरि सोध्यौं- कुन ठाउँ जान लाग्नु भएको ? उनले मलेसिया जान लागेको जवाफ दिए ।

दसैँकै बेला उड्नुपर्ने कारणबारे उनले भोलि नै रिपोर्ट गर्नुपर्ने भएकाले सार्न नमिलेको बताए । पहिलोपटक देश छाडेर जान लागेका ती २३ वर्षे युवा भन्छन् ‘आफ्नो घर परिवार छोडेर , आमाको काख छोडेर विदेश जाँदा कहिले पो कसलाई रमाइलो हुन्छ र ? चाडबाडको बेला मन अलि बढी कुँढिदो रहेछ । घरकालाई पनि नरमाइलो, साथीभाइलाई पनि नरमाइलो (खिस्स हास्दै) अझ केटाहरूलाई भनेकै छैन नत्र त मलाई हिँड्नै दिन्थेनन् ।’

बोल्दै गर्दा मोबाइल फेरि बझेपछि उनले भने ‘आमाको फोन हो , हामीसँगै जान लागेका अरु साथी त्यता छन् उनीहरूसँग बोल्नुस् है ।’

हातमा पासपोर्ट लिएर चेकिङमा उभिएका बैजनाथ-६, बाँकेका नारायण चन्द (२२ वर्ष) सँग भेट भयो । दाइ छुट्टिएपछि परिवारिक जिम्मेवारीको भारी बोकेर उनि पनि मलेसिया जान लागेका रहेछन् ।

‘दाइले आफ्नै मेलो गर्‍यो । दुई बहिनी र बुढेसकालतिर धकेलिँदै गरेका बा-आमाको भविष्यको उपाय के त ? यो दसैँ जसो भयो भयो अर्को दसैँ राम्रै हुन्छ ‘, उनले सुनाए ।

पहिले विदेश गएर हण्डर खाएका अर्का पात्र २९ वर्षीय अल आले मगर पनि भेटिए । उनी यसपाला राम्रो कम्पनी पर्छ भन्ने आशाका साथ उत्साही भएर हिँडेका छन् । चाड मनाएर जाने भन्दाभन्दै भिसा झरेपछि दसैँको मुखमा हिँड्न बाध्य भएको उनले बताए ।

आलेले थपे, ‘गरिबहरूलाई के दसैँ के चाड भिसा आएपछि हिँड्न परिगो ।’

उनीहरू तीनैजना दिउँसो २ बझेको फ्लाइटमा मंगलबार मलेसिया उडे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर