इटहरीमा ‘नील’ भएको माओवादीलाई द्वारिकले बलियो बनाउलान् ? – Nepal Press

इटहरीमा ‘नील’ भएको माओवादीलाई द्वारिकले बलियो बनाउलान् ?

इटहरी । २०४९ को स्थानीय चुनावको संघारमा धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार पढेर शिक्षक जागिर खाँदै गरेका युवा द्वारिकलाल चौधरीलाई एमालेले दुई उपहार दियो- एक हातमा संगठित सदस्यता र अर्को हातमा सुनसरीको हाँसपोसा गाविस अध्यक्षको टिकट । यी दुवै अवसर दिलाउने नेता थिए सुनसरी एमालेका तत्कालीन सचिव भीम आचार्य । थारु बाहुल्य वडामा मत तान्न थारु युवालाई खोजखाज गरेर टिकट दिएका थिए आचार्यले । उनको चलाखीले काम गर्‍यो द्वारिकलालले २०४९ र २०५४ दुवै चुनावमा बाजी मारे ।

सुनसरीको एक गुमनाम गाविसको अध्यक्ष जितेका द्वारिकले इटहरी उपमहानगरपालिका भएपछि पनि मेयरको टिकट पाए । उनी दुई कार्यकाल अध्यक्ष भइसकेको हाँसपोसा गाविस २०७१ मा उपमहानगरमा गाभियो । उनले इटहरीको प्रथम मेयर जिते । एमालेले उपमेयर पनि जित्यो ।

२०७९ को स्थानीय चुनावमा पुन: मेयर लड्ने चाहनामा थिए उनी । आफूनिकटलाई भन्थे, ‘मैले टिकट माग्दै पर्दैन । टिकट मलाई खोज्दै आउँछ ।’ आफू ‘चर्चित’ मेयर भएकोले मेयर टिकट स्वतः पाउने बताइरहेका उनलाई एमालेले टिकट दिएन । चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएको थियो । उसो त एमालेले टिकट नदिए नेकपा एसबाट पनि उठ्न तयार थिए द्वारिक । तर, गठबन्धनको भागबण्डाका क्रममा कांग्रेसले यहाँको मेयर टिकट हत्यायो । टिकटमा हौसिएका चौधरी केपी ओली सहभागी चुनावी सभामा पुगे र नेकपा एसका उपमेयर उम्मेदवार केशव विष्टलाई ‘भ्रष्ट’ र कांग्रेसबाट मेयर उम्मेदवार हेमकर्ण पौडेललाई ‘जरासन्द राक्षस’ भन्न भ्याए ।

इटहरीको चुनावका निर्णायक वडाहरू २, ४ र ५ मा पहिलोपटक कांग्रेसका मेयर उम्मेदवारले लिड गर्न थालेपछि द्वारिकलाल चौधरीले सामाजिक सञ्जालमा खुसी साट्न थाले । कमेन्टहरूमा कार्यकर्ताले गरेको प्रश्नमा उनले एमालेका मेयर उम्मेदवार यामकुमार सुब्बाले हार्नुपर्ने जवाफ फर्काएका थिए । ‘यारेल’ भन्दै उनले याम सुब्बा, रेवतीरमण भण्डारी र लक्ष्मी गौतमको उछितो काडिरहे । ५ हजारभन्दा बढी मतान्तरका साथ एमालेले मेयर हार्‍यो । तर, उपमेयरसहित १४ वडामा जित्यो ।

७४ मा ८ वडा मात्रै जितेको एमालेले १४ वडा जित्यो । द्वारिकको गृहवडा १७ नम्बरमा पनि वडाध्यक्ष एमालेले जित्यो । पार्टी हार्दा खुसी जनाएको भन्दै एमाले इटहरी सचिव रुपेश बस्नेतले सार्वजनिक रूपमै प्रश्न गरे, ‘तपाईँ कतिमा बिक्री हुनुभयो ?’ द्वारिकलालले त्यसको उत्तर दिएनन् । तर, मेयर भएका हेमकर्ण पौडेलले केही मञ्चमा चौधरीलाई च्याप्न थालेपछि एमालेमा उनको ‘स्पेस’ झन् घट्न पुग्यो ।

स्थानीय चुनावअघि एमाले सुनसरीको नेतृत्वको चुनावमा द्वारिकलाले लज्जास्पद हार ब्योहोरे । २२ सय ८० प्रतिनिधि भएको जिल्ला अधिबेशनमा उनले ८० मत मात्रै ल्याए । उनलाई आफ्नै नेता-कार्यकर्ताले सामाजिक सञ्जालमा ‘असीलाल’ उपनाम दिन थालेका थिए । एमालेजनले द्वारिकलाल र द्वारिकलालले एमाले मन नपराउने सिलसिला चलिरह्यो ।

मंसिर ४ को चुनावमा पनि टिकट नपाउने बुझेपछि चौधरी माओवादी प्रवेश गरेको बताइएको छ । सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ बाट उठ्ने उनको तयारी छ । निकट स्रोत अनुसार सुरूमा ‘टिकट फिक्स’ भए कांग्रेस जान खोजेपनि सम्भावना टरेपछि उनले माओवादी रोजेका हुन् ।

आइतबार खुमलटारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वमेयर चौधरीलाई पार्टीमा स्वागत गरे । माओवादीमा भित्र्याउँदै प्रचण्डले चौधरीको पार्टी प्रवेशले विशेष अर्थ राख्ने दाबी गरेका थिए ।

‘पार्टी प्रवेश त धेरै हुने गरेका छन् । तर, आजको यो पार्टी प्रवेशको विशेष वैचारिक सांगठानिक अर्थ र महत्व छ । द्वारिक चौधरी इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित हुनुन्छ । क्रान्तिकारी ढंगले उहाँले गर्नुभएको कामले जनतामा आकर्षण बढ्दै गएको छ’, प्रचण्डले फुर्क्याएका थिए ।

एमालेको विभिन्न जिम्मेवारीमा रहेको मान्छे माओवादीमा आउनुले परिवर्तन र क्रान्तिकारीको पक्षमा सही फैसला भएको प्रचण्डले बताए ।

उनले भने, ‘एमालेको त्यत्रो जिम्मेवारी सम्हालेको व्यक्ति माओवादीमा प्रवेश गर्नु विशेष राष्ट्रिय अर्थ छ । चुनावको विशेष मौका प्रतिगमनले पटकपटक टाउको उठाउन गरिराखेको जमर्कोलाई चोटिलो प्रहार गर्दै परिवर्तन र क्रान्तिको पक्षमा सही फैसला लिनुभएको छ । तपाईँको भूमिका दह्रो र राम्रो बनाउनेमा पूरै पार्टीको सहयोग हुन्छ ।’

माओवादी प्रवेशले इटहरीमा द्वारिक कि माओवादीलाई फाइदा ?

जनगणना २०५८ अनुसार इटहरीको जनसंख्या ४१ हजार २ सय १० थियो । १० वर्षपछि २०६८ मा यो १ लाख ४० हजार ५ सय १७ पुग्यो । १० वर्षमा एक लाख हाराहारी जनसंख्या बढ्नुको प्रमुख कारक माओवादी सशस्त्र युद्ध थियो । इटहरीमा नेपाली सेनाको पूर्वी पृतनादेखि सशस्त्रको पूर्वी मुख्यालय भएकाले पहाडबाट द्वन्द्वपीडित, माओवादीका कारण विस्थापित सुरक्षा खोज्दै इटहरी ओर्लिए । २०७८ मा आएर यहाँको जनसंख्या १ लाख ९८ हजार ९८ पुगेको छ ।

द्वन्द्वप्रभावित तथा पीडितहरूको मुकामजस्तै भएकोले यहाँ माओवादीको जनमत राम्रो नभएको राजनीतिलाई नजिकबाट नियाल्नेको विश्लेषण छ । पहिलो संविधानसभामा देशभर बलियो प्रस्तुति गरेको माओवादी इटहरी क्षेत्रमा पराजित नै भयो । स्थानीय चुनाव २०७४ मा इटहरीमा जम्माजम्मी वडा नम्बर १० मा एक सदस्य जितेको थियो । पछि उनी पनि एमाले प्रवेश गरे । २०७४ को चुनावमा माओवादी मेयर उम्मेदवारको मतलाई उछिन्दै राप्रपा तेस्रो भएको थियो ।

भर्खरै सकिएको स्थानीय चुनावमा पाँचदलीय गठबन्धन हुँदा वडा नम्बर १० र १८ अध्यक्ष टिकट पाएको माओवादीले त्यो पनि गुमायो ।

अहिले द्वारिकलालले आकांक्षा देखाएको सुनसरी २ (क) मा इटहरीमा वडा नम्बर १, २, ३, ४, ५ र १६, १७, १८, १९ र २० छन् । सीमावर्ति रामधुनी नगरपालिकाको वडा नम्बर ३ र ५ पनि यही क्षेत्रमा पर्छ ।

वैशाख ३० को स्थानीय निर्वाचनमा वडा नम्बर १८ मा एमालेका उम्मेदवार रामकुमार चौधरीले गठबन्धनका तर्फबाट माओवादीका राजदेव चौधरीलाई पराजित गरेका थिए । रामकुमारले ११६६ मत र राजदेवको ७१६ मत आएको थियो ।

रामधुनी वडा नम्बर ५ मा नेपाली कांग्रेस तथा वडा नम्बर ३ एमालेले जितेको ५ । वडागत हिसाबले हेर्दा इटहरीका २ (क) मा पर्ने १० वडाहरूमा वडा नम्बर १, २० मात्रै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको जित भएको छ । रामधुनीमा एक-एक वडा एमाले र गठबन्धनको छ । अर्थात् सुनसरी क्षेत्र नम्बर २ (१) मा पर्ने १२ वडामा एमालेले ९ र कांग्रेसले ३ वडा जितेका छन् । माओवादी नील छ । गठबन्धन हुँदा पनि नील भएको माओवादीमा प्रवेश गरेर द्वारिकलालले राजनीतिक जोखिम लिएका छन् ।

‘द्वारिकलाल चौधरीले सुनसरी यहाँ उठ्दा थारु मतदाताको आश गरेको देखिन्छ । तर, यहाँ आठ हजार हाराहारी मात्रै थारु मतदाता छन् अहिले जित्नलाई ३० हजार हाराहारी ल्याउनुपर्छ ’, एमाले सुनसरी जिल्ला नेता तथा इटहरीका स्थानीय होमनाथ घमला भन्छन् ।

एमालेमा इन्ट्रीदेखि निरन्तर स्थानीय सत्तामा भएपनि उनले नयाँ पुस्ताका थारु नेता नजन्माएको टिप्पणी धमलाको छ । पहाडबाट बसाइँ सरेर आएकाहरूलाई ‘छ धुरे’ र ‘दश धुरे’ अपमान गरेको देखि विभिन्न विवादास्पद विगतले द्वारिकलाई मतदाताको मन जित्न त्यति सहज नभएको उनको बुझाइ छ ।

‘इटहरीको कमजोर जनाधार भएको माओवादीका अब सबैभन्दा बलिया नेता द्वारिक नै हुन् किनभने अरु नेताको जनमतै छैन । तर, गठबन्धन हुँदा पनि प्रदेश सांसद जित्ने अवस्था कुनै कोणमा पनि छैन’, दाबी गर्दै धमला थप्छन्, ‘द्वारिकको माओवादी प्रवेशले उनलाई भन्दा धेरै फाइदा माओवादीलाई छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर