मासुबाट हुनसक्ने स्वास्थ्य जोखिमबाट कसरी बच्ने ? – Nepal Press
दसैँको खानपान :

मासुबाट हुनसक्ने स्वास्थ्य जोखिमबाट कसरी बच्ने ?

यतिखेर घरघरमा दसैँको रमझम छ । ठूलाबडा, मान्यजनको हातबाट टीका र आशीर्वाद थाप्ने र मीठोमसिनो खाने पर्वका रूपमा दसैँ मानिँदै आएको छ । ऋण नै काढेर भएपनि नयाँ लुगा लगाउने र मीठो मसिनो खाने होडबाजी नै चल्छ । त्यसैले पनि कतिपयले ‘आयो दसैँ आयो ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ उखान नै गर्छन् ।

दसैँमा विशेषगरी मासुका परिकार बनाएर खाने चलन बढी छ, तर स-सानो लापरबाहीले गर्दा चाडबाडका बेला बिरामी भएर अस्पताल पुग्नुपर्ने अवस्था यही मासुले पनि गराइरहेको हुन् । त्यसैले सोही कारण मासुका परिकारहरूको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ ।

मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन् । यी तत्वहरू हाम्रो शरीरको अत्यावश्यक हुन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, मासुबाट प्राप्त हुने् तत्वहरू यदि सही र सन्तुलित ढंगले प्रयोग नगरिए त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । स्वस्थ र सुरक्षित रूपमा मासु खान्न नजान्दा विभिन्न किसिमका रोगको कारक बन्न सक्छ ।

अमेरिका र यूरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूको अध्ययन र अनुसन्धानका क्रममा निकालेको निष्कर्षअनुसार खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसहरूको संवेदनशील अंग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ । सोही अनुसन्धानअनुसार दैनिक धेरै मासु खाँदा हड्डीहरू पनि कमजोर हुने जोखिम हुन्छ । आर्थाइटिस (हाडजोर्नीसम्बन्धी रोग) को सम्भावना अत्यधिक हुन्छ, महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला-पुरुष दुवैमा कोलस्ट्रोलको मात्रा पनि शरीरमा बढ्छ । जसका कारण जीवनभर इच्छाएको परिकार खानबाट वञ्चित रहनुपर्ने हुन्छ ।

मासु पसलहरूमा भएका लापरबाहीको कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको संक्रमण, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने चिकित्सकहरू बताउँछन । फोहर बधशाला, मासुको तयारी र रखबारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका फ्लू तथा सरुवा रोगहरू सर्ने गरेका छन् । यी र यस्तै कारण विभिन्न किसिमका चाडहरूको संघारमा अस्पताल भर्ना अनुपात पनि बढेको पाइन्छ ।

चाडबाडका बेला धेरै ‘फुड प्वाइजन’ का बिरामी अस्पताल आउने गरेको वीर अस्पताल, टिचिङ अस्पताल र पाटन अस्पतालको तथ्यांकले देखाउँछ । सही ढंगले मासु र अन्य परिकार नपकाउँदा, स्वस्थ र सुरक्षित ढंगले नराख्दा खानेकुरामा विषाक्तता बढ्छ । र, खाएको केही समयभित्रै पेट बटारिने, ढुस्स पर्ने, झाडापखाला हुने, अजीर्ण तथा अपच भई तत्कालै पेट फुल्नेलगायतका लक्षणहरू देखिन थाल्छ । यस्तो भएमा घरमै उपचार गर्नुका सट्टा तत्कालै नजिकको स्वास्थ्य संस्थाहरूमा गइहाल्नुपर्छ । त्यसैले रोगको जोखिमबाट बच्च हामीले व्यक्तिगत सरसफाइ, काँचो वा पकाइसकेका खानेकुराको सुरक्षामा ध्यान दिनुपर्छ ।

दसैँका लागि खसीबोका किन्दादेखि नै हामीले केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्य्राएर बस्ने, फनफनी घुम्ने खसी बोका किन्नु हुँदैन, यस्ता लक्षणहरू विचार गर्नुपर्छ ।

अहिले काठमाण्डौं भित्रने खसीबोकालाई सरकारीस्तरबाटै परीक्षण गरेर रातो र हरियो रंग दलिदिने गरिएको छ । सिंगमा हरियो रंग पोतिएका खसी बोका स्वस्थ हुन भने रातो रंग दलिएका खसीबोका अस्वस्थ छन् । दुई-चार सयको लोभमा अस्वस्थ्य खसी बोका किनेर ल्याउँदा आफैं भोलि बिरामी हुने जोखिम बढ्छ ।

त्यसैले खसीबोकाको बध गर्नेदेखि लिएर मासु पकाएर खाने, त्यसलाई भण्डारण गर्ने कुरामा पनि केही आधारभूत जानकारी राख्यौं भने मासुजन्य रोगबाट बच्न सकिन्छ ।

यस्तो अवस्थामा मासुबाट रोगहरू सर्न सक्छ

– काँचो, नपाकेको तथा पोलेको कालो मासु खाएमा

– बत्ती नभएको बेलामा फ्रिजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा

– मासु काट्ने स्थान, काट्ने चक्कु तथा हतियार सफा नभएमा

– सडेगलेको मासुमा लोभिएमा

– मासुको परिका तयार पार्ने व्यक्ति (कुक) स्वस्थ नभएमा

– राम्रोसँग फ्रिजमा भण्डारण प्रक्रिया नअपनाएमा

– अस्वस्थ्य तथा बिरामी पशुपन्छीको मासु खाएमा

– मासु काट्ने अचानो सफा नभएमा

– पशुपन्छीको बधशाला सम्पूर्ण रूपमा फोहरयुक्त र असुरक्षित भएमा

– बध गर्नेवित्तीकै पकाएर खाएमा

स्वस्थ्य मासु कसरी छान्ने ?

– मासु हलुका गुलाबी रंगको हुन नहुने

– मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भइसकेको हुन्छ ।

– मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुनुपर्छ

– मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा, चलेको फ्रिजमा राखेको हुनुपर्छ ।

– मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनु हुँदैन ।

– मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका, तराजु सफा छ कि छैन हेर्नु पर्दछ ।

कुन मासु खाने, कुन नखाने?

–फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ ।

– बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने

– काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा खानु हुँदैन । किनभने काँचो मासु नै रोगको भण्डार हो । काँचो मासुबाट रोग सर्ने सम्भावना अत्यधिक रहन्छ ।

– पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाएकै राम्रो । किनकी मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधिक हुन्छ ।

– राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने ।

–विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने

– बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने

मासु भण्डारण गर्ने तरिका

– मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै नराख्ने

– ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । राम्रा फ्रिजिङका माध्यमहरू पनि छन्, जुन व्यावसायिक संस्थाहरुमात्र हुन्छन् ।

– मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैनत । माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणुहरु मासुमै हुने, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा आउँदा झर्न सक्ने हुँदा तल राखिएका अन्य खाना, पाकिसकेका परिकारहरु, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका÷छुट्याइएका परिकारहरु, फलफुल तथा तरकारीमा पर्नसक्ने खतरा हुन्छ ।

– काँचो मासु र पाकेको मासु एकै स्थानमा नराख्ने ।

दसैँमा आवश्यक ध्यान दिनुपर्ने कुराहरू

– घरमा आफैले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने

– विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने

– सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने

– आफन्तहरूकहाँ दैनिक टिका लगाउन जाने क्रममा मासुको दैनिक प्रयोग नगर्ने

– मासु खानेवित्तिकै आइसक्रिम, दही, क्रिमका परिकारहरू नखाने

– दैनिक व्यायाम गर्ने

– अस्वस्थ भएको महसुस भएमा माछा-मासुको प्रयोग गर्दै नगर्ने

– सुरक्षित उपायहरू अपनाएर भण्डारण गरे-नगरेको आफैँले निरीक्षण गरेर मात्र खाने

– आफूले मासुसम्बन्धी जानेको जानकारी आफ्ना परिवार तथा आफन्तजनमा पनि बाँड्ने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *