‘अविवाहित पिता’ बनेका राजेशपायल के कानूनी उल्झनमा फस्न सक्छन् ? – Nepal Press

‘अविवाहित पिता’ बनेका राजेशपायल के कानूनी उल्झनमा फस्न सक्छन् ?

काठमाडौं । गायक राजेशपायल राई ‘विवाहबिना बाबु बनेको’ खबर सार्वजनिक भएसँगै धेरै किसिमका क्रिया–प्रतिक्रिया व्यक्त भइरहेका छन् । हिजोका दिनसम्म आफूलाई अविवाहित व्यक्तिका रूपमा प्रस्तुत गरिरहेका उनलाई पुत्रलाभ भएको खबरले सबैलाई आश्चर्यमा पारिदिएको छ ।

आफूभन्दा निकै कम उमेरकी युवतीसँग राजेशपायल ‘लिभ इन’ मा रहेको गाईंगुईं करिब एक वर्षदेखि चलिरहेको थियो । तर उनले कतै पनि यो विषयमा मुख खोलेनन् । बरु सबै अन्तरवार्ताहरुमा उनले आफू ‘सिंगल’ नै रहेको र विवाहका लागि उचित क्यान्डिडेट खोजिरहेको बताउने गर्थे ।

यता राजेशपायलकी प्रेमिका साङबुङ भने आफूहरुबीचको सम्वन्ध बाहिर ल्याउन व्यग्र थिइन् । उनी बेलाबखत राजेशपायलसँगका तस्वीरहरु टिकटकमा सेयर पनि गर्ने गर्थिन् । तर, उनले पनि आफूहरु प्रेमी–प्रेमिका भएको जनाउ दिन सकिनन् । अत्यन्त निकटस्थहरुलाई बाहेक उनीहरुको सम्वन्धका विषयमा सबै अनभिज्ञ नै थिए ।

धेरैको जिज्ञासा छ कि, राजेशपायलले आफूहरुबीचको सम्वन्धलाई किन यति धेरै गोप्य राख्न चाहे, जबकि दुवै अविवाहित नै हुन् । अनि सन्तान प्राप्ति भइसक्दा पनि उनीहले औपचारिक विवाह किन गरेनन् ? निकटस्थहरुका अनुसार दुवैको एउटै कारण साङबुङको उमेर हो ।

नेपालको कानूनअनुसार केटा र केटीबीच शारीरिक सम्बन्धका लागि दुवैको उमेर १८ वर्ष पुगेको हुनुपर्छ । यसैगरि, विवाहका लागि भने २० वर्ष पुरा भएको हुनुपर्छ ।

राजेशपायलसँग अफेयर सुरु हुँदाका बखत साङबुङ उमेरले ‘नाबालिग’ नै भएको बताइन्छ । उनको अहिलेको उमेर २० वर्ष भएको बताइएको छ । यदि २० वर्ष पूरा भइसकेको हो भने विवाह गर्न वाधा छैन । तर, २० वर्ष लागेको मात्रै हो भने कानूनतः विवाह गर्न मिल्दैन । यदि गरेको खण्डमा बालविवाह मानिन्छ र कानूनतः दण्डनीय हुन्छ ।

मुलुकी अपराध संहिताको दफा १७३ मा बालविवाह सम्वन्धी व्यवस्था छ । उक्त दफाको उपदफा १ मा भनिएको छ, विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु हुँदैन । दफा ३ मा यस्तो विवाह गर्ने–गराउनेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

राजेशपायल र साङबुङले औपचारिक विवाह गरिनसकेको भए पनि उनीहरुबाट बच्चा जन्मिएपश्चात स्वतः विवाह भएको मानिन्छ । मुलुकी देवानी संहिता २०७४ को दफा ७४ मा ‘शारीरिक सम्पर्कबाट शिशु जन्मेको अवस्थामा विवाह भएको मानिने’ स्पष्ट उल्लेख छ ।

उक्त दफाको उपदफा १ मा भनिएको छ, ‘..कुनै पुरुषससँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने छ ।’

तर, २० वर्ष उमेर नपुगेको अवस्थामा भने यो कानून आकर्षित हुँदैन । अर्थात्, स्वतः विवाह मानिँदैन । त्यसैले कानूनी उमेर पूरा हुञ्जेलसम्म प्रतिक्षा गर्नुपर्नेछ ।

राजेशपायलको सन्दर्भमा चर्चामा रहेको अर्को प्रसंग उमेर अन्तराल पनि हो । कतिपयले यो अनमेल विवाह भएकाले राजेशपायल समस्यामा पर्न सक्ने आशंमा पनि गरिरहेका छन् । राजेशपायल उमेरले ५० वर्षको नजिक रहेको निकटस्थहरु बताउँछन् । साङबुङसँग उनको झण्डै ३० वर्षको अन्तराल देखिन्छ ।

देशको विद्यमान कानूनले केटा र केटीबीच यति नै उमेर अन्तर हुनुपर्ने भनेर कुनै सीमा निर्धारण गरेको पाईंदैन । यसअघि प्रचलित मुलुकी ऐनमा उमेरको अधिकतम अन्तराल २० वर्ष तोकिएको थियो । त्योभन्दा बढी अन्तरमा विवाह भए दण्डनीय मानिन्थ्यो । तर, अहिलेको मुलुकी अपराध संहितामा त्यस्तो व्यवस्था राखिएको छैन । त्यसैले उमेर अन्तरले मात्रै राजेशपायलको विवाहमा रोकावट उत्पन्न हुँदैन ।

कानूनविद लव मैनाली केटा र केटी दुवैको उमेर पुगेको र आपसी समझदारी भएको अवस्थामा विवाहअघि सन्तान जन्मिनु ठूलो इस्यू नहुने बताउँछन् ।

उनले भने, ‘सामाजिक हिसाबले विवाह अगाडि बच्चा जन्माउनु राम्रो मानिँदैन । तर, लिभ इनमा बसेका केटा र केटीको आपसी समझदारीमा सम्वन्ध भएर सन्तान जन्मिँदा त्यसले कुनै कानूनी समस्या चाहिँ खडा गर्दैन । उमेर नपुगेको भए बेग्लै कुरा हो ।’

स्मरणीय यो छ कि साङबुङले हालै सार्वजनिक गरेको टिकटक भिडियोमा आफूहरुलाई ‘हसबेन्ड–वाइफ’ का रुपमा उल्लेख गरेकी छिन् । उनले सार्वजनिक गरेका तस्वीहरु हेर्दा साङबुङबाट जन्मेको छोरालाई राजेशपायलले सहतापूर्वक आफ्नो सन्तानका रुपमा स्वीकारेका छन् । यद्यपि, सार्वजनिक रुपमा भने उनले अहिलेसम्म कतै पनि साङबुङसँगको सम्वन्धबारे बोलेका छैनन् ।

स्रोतका अनुसार राजेशपायल र साङबुङलाई भएको सन्ताप्राप्त योजनावद्ध नभएर आकस्मिक हो । प्रेग्नेन्ट भइसकेपछि साङबुङ राजेशपायलको घरमा आएर बस्न थालेकी हुन् । उनले धुम्बाराहीको हेम्स अस्पतालमा नियमित स्वास्थ्य परिक्षण गराइरहेकी थिइन् । करिब दुई महिना अगाडि उनले सोही अस्पतालमा सन्तान लाभ गरिन् । अस्पताल स्रोतका अनुसार त्यसबखत उनलाई एकदमै कडा निगरानीमा राखिएको थियो । जोकोहीलाई भेट्न दिईंदैनथ्यो ।

सन्तान जन्माएपछि साङबुङले टिकटकमा बच्चा र आफ्नो तस्वीर पोष्ट गरेकी थिइन् । तर, केही बेरमै हटाइन् ।

दोस्रोपटक तीन दिनअघि साङबुङले राजेशपायलसहितका तस्वीरहरु टिकटकमा फेरि सार्वजनिक गरेपछि पहिलोपटक नेपाल प्रेसले समाचार प्रकाशित गरेको हो । यसअघि उनीहरु लिभ इनमा रहेको समाचार पनि पहिलोपटक नेपाल प्रेसले नै उजागर गरेको थियो ।

 


प्रतिक्रिया

One thought on “‘अविवाहित पिता’ बनेका राजेशपायल के कानूनी उल्झनमा फस्न सक्छन् ?

  1. मैले त अस्तिनै देखेको छु जुन कुरा को बैधानिकता के हो र समाजकता जादै छ अनि कसैलाई बिगार्न को लागि मिडियाहरू न्वारान देखिको वल लगाउछन जस्तै पछिल्लो उदाहरणका लागि पल र लामीछाने त्यसकारण सबैलाई राज्यको कानुन बराबर होस् न स्वर्गीय प्रकाश दाहाल न विना र तिवारी र बोगटी न पारस शाह न सामान्य जनता सबैलाई हेर्ने आखा को रङ्ग एउटै होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *