काठमाडौंमै बसेर दसैँ मनाउनेहरुका लागि यी हुन् नजिकका आकर्षक गन्तव्य – Nepal Press

काठमाडौंमै बसेर दसैँ मनाउनेहरुका लागि यी हुन् नजिकका आकर्षक गन्तव्य

काठमाडौं । दसैँको औपचारिक बिदा शुरु भएसँगै अहिले काठमाडौं उपत्यकाबाट आफ्नो थातथलो जानेको संख्या ह्वात्तै बढेको छ । तर केही भने काठमाडौं उपत्यकामै बसेर दसैँ मनाउने सोचमा छन् । दसैँ बिदा शुरु भयो कहाँ घुम्न जाने भन्ने सोचिरहनु भएको छ भने उपत्यकाबाट नजिकमा रहेका यी ठाउँमा पुगेर प्रकृतिसँग रमाउन सकिनेछ । पछिल्लो समय बिदाको सदुपयोग गर्दै घुम्ने लहर मौलाएको छ ।

शिवपुरी डाँडा

शिवपुरी काठमाडौँ उपत्यकाको बुढानीलकण्ठको सिमानामा पर्ने डाँडा हो । समुद्री सतहबाट २ हजार ५ सय ६३ मिटर उचाइमा रहेको शिवपुरी डाँडा काठमाडौं उपत्यकाको लागि आकर्षक गन्तव्य पनि हो ।

घना जंगलमा उकालो यात्रा गर्दै शिवपुरी डाँडा पुगेपछि हिमालको मनोरम दृश्यका साथै काठमाडौं उपत्यकाको दृश्य देख्न सकिन्छ । यात्राका क्रममा थकाइ तथा भोक प्यास महसुस भए सुविधा सम्पन्न होटेल, रिसोर्ट तथा होमस्टेको सुविधा पनि रहेको छ ।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने शिवपुरी डाँडा पदयात्राका लागि उपयुक्त छ । यो डाँडा काठमाडौँ उपत्यकाको मुख्य जलाधार हो । काठमाडौँमा बग्ने बाग्मती, विष्णुमती लगायत प्राय सबै नदीहरूको श्रोत शिवपुरी डाँडा हो ।

चिसापानी

चिसापानी सुन्दरीजलबाट ११ किलोमिटर र समुद्री सतहबाट २ हजार २ सय मिटर उचाइमा छ । यो स्थानबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्दा आनन्दको महसुस हुन्छ ।

वरिपरिका डाँडाहरू देखिने अग्लो स्थानमा रहेको चिसापानीबाट सगरमाथा, माछापुच्छ्रे, गौरीशङ्कर, अन्नपूर्ण, लाङटाङ, गणेश हिमाल लगायत हिमशृङ्खला देख्न सकिन्छ ।

फुलचोकी

फुलचोकी विशेष गरी पदयात्राका लागि उत्कृष्ट गन्तव्य हो । पाटनदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित रहेको फुलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल पनि हो । समुद्र सतहबाट २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको फुलचोकी काठमाडौँ उपत्यकालाई घेरेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो ।

फुलचोकीको विशेषता भनेको त्यहाँको आकर्षण वनस्पति तथा वन्यजन्तु हुन् । हिउँदको समयमा हिउँ खेल्न रुचाउनेहरूको पहिलो गन्तव्य पनि हो फुलचोकी ।

यो स्थानमा विभिन्न किसिमका पुतलीहरू, २५० भन्दा बढी प्रजातिका चराहरू र चितुवा र मृगहरू समेत रहेका छन् । सेता, प्याजी र राता रंगका गुराँस र विभिन्न किसिमका सुनाखरीहरूले पर्यटकहरूको मन लोभ्याउँछ । यस प्रकारको रंगमय र सुगन्धित वातावरण रहने यस फुलचोकीको अर्थ भने फूल पर्वत भन्ने हुन्छ । फुलचोकीको शिखरमा टेलिभिजन र रेडियोका प्रसारण एन्टेनाहरू रहेका छन् र यहाँ फुलचोकी माईको सानो मन्दिर पनि रहेको छ ।

सुन्दरीजल

सुन्दरी जल विशेष गरी झरना प्रेमीका लागि आकर्षक गन्तव्य हो । काठमाडौँबाट उत्तरमा १५ किलोमिटर दुरीमा रहेको यो ठाउँ हाइकिङ जानका लागि विशेष उपयुक्त छ । काठमाडौंबाट सुन्दरी जल पुग्न पदयात्रा जानेहरूका लागि ६ घण्टा लाग्छ । सुन्दरी जल हाइकिङका लागि मात्र नभएर पारिवारिक घुमघामका लागि आकर्षक मानिन्छ । बस्न, खानका लागि सुविधायुक्त होटेल पनि रहेको छ ।

सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा पनि मानिन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको धेरै हिस्सा समेत ओगटेको सुन्दरीजल काठमाडौँ उपत्यकामा खपत हुँदै आएको पिउने पानीको प्रमुख जलाधार भएको क्षेत्र पनि हो ।

गोदावरी

ललितपुरको सातदोबाटो चोकबाट ७ किलोमिटर दूरीमा रहेको गोदावरी काठमाडौँ बासीका लागि आकर्षक गन्तव्य हो । प्राकृतिक सौन्दर्यले भरिएको गोदावरीको आफ्नै खालको धार्मिक तथा पौराणिक महत्त्व छ ।

पिकनिक र पारिवारिक रिफ्रेसमेन्टका लागि गोदावरी उपयुक्त ठाउँ हो । यहाँ खान बस्नका लागि उपयुक्त होटलहरु रहेका छन् ।

लाकुरी भन्ज्याङ

ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको लाँकुरी भन्ज्याङ उपत्यकाको दृश्यावलोकन र सगरमाथा हिमशृङ्खला, गणेश हिमाललगायत हिमालहरूको दृश्यावलोकनका लागि उपयुक्त ठाउँ हो ।

चक्रपथबाट १३ किमीको दूरीमा पर्ने लाँकुरी भन्ज्याङ सूर्योदय राम्रोसँग देखिने भन्ज्याङका रूपमा परिचित छ । लाँकुरी भन्ज्याङबाट सगरमाथादेखि सबै हिमाल देख्न सकिन्छ । लाकुरी भन्ज्याङको मनमोहक दृश्यले काठमाडौँ उपत्यकाका अधिकांश शैक्षिक संस्थाको पिकनिक स्थल पनि बनेको छ । बसन्तऋतुमा लाकुरी भन्ज्याङ लालिगुँरासले राताम्मे बन्छ ।

चन्द्रागिरि

उपत्यकाबाट नजिकको दुरीमा रहेको आकर्षक गन्तव्य बन्न सकेको चन्द्रागिरिमा गएर बिदाको सदुपयोग गर्ने उपयुक्त अवसर पनि हो । केबलकार र सुविधा सम्पन्न होटेलको सुविधा रहेको चन्द्रागिरिमा बाह्रमास चिसो हावापानीको अनुभव गर्न सकिन्छ । हिउँदको समयमा काठमाडौँ उपत्यकाबाट हिउँ खेल्न जानेहरुपनि निकै हुन्छन् । उपत्यकाको दृश्यावलोकनका लागि चन्द्रागिरि उपयुक्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर