हिन्दू धर्म र लालबुझक्कडहरूको स्याल हुइयाँ – Nepal Press

हिन्दू धर्म र लालबुझक्कडहरूको स्याल हुइयाँ

अन्धविश्वास हटाउन सांस्कृतिक शिक्षा र सचेतना आवश्यक

नेपाली समाज हिन्दू बहुल समाज हो । हाम्रो समाजमा हिन्दू धर्म संस्कृतिको प्रभाव बलियो छ । यसका पछाडि धेरै कारणहरू छन् । ती कारणहरूबारे सबैको समान बुझाइ र धारणा छैन । बुझाइको सीमा र धारणाको भिन्नताले गर्दा यस्तो भएको हो । हिन्दू धर्म संस्कृतिमा रहेका जीवनोपयोगी पक्ष छन् । तर, यिनमा रहेका, पछिल्लो समय कुनै शासकहरूले शासकीय स्वार्थका लागि बिगारेका केही प्रसङ्ग र हाल समय सापेक्ष नरहेका असान्दर्भिक भइसकेका केही प्रसङ्गलाई उछालेर बदनाम गर्ने काम भइरहेको छ ।

बोक्सीको नाममा महिलालाई कुटपिट गरियो, बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाइयो, बोक्सीको नाममा महिला हिंसा गरियो । छाउगोठमा सुत्दा सर्पले डसेर किशोरीको ज्यान गयो, छाउ गोठमा बेहोस भएकी महिलाको उपचार नपाएर मृत्यु । मन्दिर प्रवेश गरेको निहुँमा दलितमाथि कुटपिट । व्रतालु महिला बेहोस, व्रतका नाममा महिला हिंसा, व्रतका कारण महिलाको स्वास्थ्यमा समस्या ।

यी सबै हाम्रो समाजमा घटिरहने सामाजिक घटना हुन् । यस्ता घटना जे, जस्तोसुकै बहानामा भए पनि अत्यन्त घटिया कर्म हुन् । यस्ता घटना र घटना घटाउनेहरू समाजका कलङ्क हुन्, ती अपराधी हुन्, ती हदैसम्मका दण्डका भागीदार छन् । यसका लागि कानूनको पालना गराउनुपर्ने जिम्मेवारहरूको यसप्रतिको उदासीनता उत्तिकै दोषभागी छन् । यस्ता अपराध कर्म देखेर पनि नदेखेजस्तो गर्ने, अपराध कर्म गर्नेहरूलाई जात, समुदाय, धर्म, क्षेत्र आदिका नाममा जोगाउन खोज्नेहरू पनि दोषी छन् ।

समाजमा अनेक जातजातिको उपस्थिति छ । समाजमा भिन्नभिन्न धर्म, संस्कृति, परम्पराका अनुयायी छन् । सज्जन, शिक्षक, समाजसेवी, राजनीतिकर्मी, सञ्चारकर्मी, व्यवसायी, उद्योगी, कर्मचारी, सुरक्षाकर्मी आदि सबै सबै कुनै न कुनै जात, धर्म, लिङ्ग, परम्परा, संस्कृति, राजनीति, क्षेत्रका हुनु स्वाभाविक हो । यस्तो अवस्थामा कुनै घटना घट्यो भने त्यो घटना घटाउने व्यक्ति, परिवार वा समूह दोषी हुन सक्दैन भन्ने हुँदैन । तर, यसैका नाममा सम्बन्धित जात, धर्म, राजनीति, पेसा, व्यवसाय आदि सबैमाथि एकमुष्ट दोष थोपर्नु र साम्प्रदायिक हिसाबले अतिरञ्जित पार्नु अर्को ठूलो सामाजिक अपराध हो ।

जात, धर्म, राजनीति, पेसा, व्यवसाय आदि सबैमाथि एकमुष्ट दोष थोपर्नु र साम्प्रदायिक हिसाबले अतिरञ्जित पार्नु अर्को ठूलो सामाजिक अपराध हो ।

पछिल्लो यस्तै घटना ‘रामेछापको खाँडादेवी गाउँपालिका- ३, भीरपानी सित्खामा रहेको माझी समुदायमा पितृ खुशी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन् । (असोज १७, २०७९’ सञ्चारमाध्यममा यस्तो समाचार आयो । यस विषयलाई लिएर हिन्दू सनातन धर्म-संस्कृतिलाई प्रहारको निशाना बनाउने प्रयास पनि भएको देखियो । यो एउटा समुदाय विशेषको एउटा परिवारमा घटेको घटना थियो र यो घृणित घटना जघन्य अपराध पनि हो । यसलाई कुनै हिसाबले पनि सही ठहर्‍याउन सकिँदैन ।

तर, यसलाई कुनै धर्म-संस्कृतिसँग जोडेर सम्बन्धित धर्म-संस्कृतिका अवलम्बी-अनुयायीहरूलाई लाञ्छित गर्नु झनै ठूलो अपराध हो । के यस घटनामा संसारभरिकै माझी समुदाय दोषी छ ? के यसका लागि हिन्दू धर्मावलम्बीहरूको श्राद्ध पद्धति वा मान्यता दोषी छ ? छैन । तर, पनि केही स्वघोषित सामाजिक अभियन्ता, डलरमुखी अधिकारकर्मी, प्रायोजित सञ्चारकर्मीहरू सनातन संस्कार संस्कृतिमाथि दोष थोपरेर घटनाका जरो कारणमा पुग्न नदिने प्रपञ्चमा संलग्न हुन्छन् ।

यात्रामा तपाईँका बगली मारिन्छ (पिक पकेट हुन्छ), त्यो पनि कुनै जातको, कुनै धार्मिक समुदायको हुन्छ । त्यतिबेला तपाईं उसको जात के हो, धर्म के हो भनेर खोज्नुहुन्छ ? मानिलिनुस्, त्यो हिन्दू रहेछ, ब्राह्मण रहेछ, पहाडे रहेछ, त्यो कम्युनिष्टलाई भोट दिएको मतदाता रहेछ वा अर्को धर्म, अर्को जात, अर्को भूगोल, अर्को पार्टीको मतदाता रहेछ । कसको गल्ती ठहरर्‍याउनु हुन्छ ? कसका विरुद्ध उजुरबाजुर गर्नु हुन्छ ? कसलाई कार्बाही गर्नुहुन्छ ? ऊ त चोर, बगलीमारा नै भयो, ऊ अपराधी नै भयो । तर, तपाईं त्यो सबै छोडेर उसको धर्म, जात, भूगोल, राजनीति जोडेर उफ्रन थाल्नुभयो भने तपाईं जत्तिको अपराधी ऊ हुन सक्दैन । किन भने समाजलाई भाँड्ने र उसलाई जोगाउने कसुरदार तपाईं हो । एउटाले गरेको गल्तीका लागि ठूलो समूहलाई पिर्ने अपराध सबैभन्दा ठूलो अपराध हुन्छ ।

सामाजिक रूपान्तरण दीर्घकालीन र भिन्न प्रक्रियाबाट हुने विषय हो । यो निरन्तर भइरहने विषय हो । यसका लागि स्पष्ट वैज्ञानिक दृष्टिकोण, त्यसलाई कार्यान्वयन गर्ने तदनुसारको शिक्षादीक्षा, सामाजिक अन्तरक्रिया आवश्यक हुन्छ । रूपान्तरणको कुनै सीमा हुँदैन । एउटा रूपान्तरणले अर्को रूपान्तरणको माग गर्दछ ।

कुनै धर्म-संस्कृतिसँग जोडेर सम्बन्धित धर्म-संस्कृतिका अवलम्बी-अनुयायीहरूलाई लाञ्छित गर्नु झनै ठूलो अपराध हो ।

सामाजिक रूपान्तरणका लागि अनुकूल बनाउने सुधारात्मक अभियानहरू, यसको पक्षमा रहेकाहरूबीच पूर्वाग्रहरहित सहिष्णु सामाजिक अभियान चलाउनुपर्दछ । सहकार्यका क्षेत्र पहिचान गर्नुपर्दछ । धर्म संस्कृतिका आधार, तिनीहरूको प्रभावका क्षेत्र र प्रयोगका स्वरूप पहिचान गरी सचेतना वृद्धि गर्नुपर्दछ । यसलाई जातीय संकीर्णताबाट माथि उठाउनु पर्दछ । तर, अहिले यस्तो भइरहेको छैन ।

नो व्रत-नो खुट्टाको पानी, ढुङ्गा पुज्ने चेतनाका कारण समाजको अग्रमगनमा बाधा, अरु मङ्गल ग्रह पुगे हामी ढुङ्गामा पानी चढाउँछौं । कर्मकाण्डी बाहुनले देश बिगारे, जातपात प्रथा टपरे बाहुनको स्वार्थ हो, धर्मले देश बिगार्‍यो आदि इत्यादि गीत र भाषणले समस्या समाधान गर्दैन, बरु बढाउँछ ।

व्रत भनेको के हो ? के व्रतको अर्थ लोग्नेको खुट्टा पखालेर त्यो पानी श्रीमतीले खानु हो ? के यस्तो गीत बजारमा आउनुअघिसम्म सबैले व्रत बस्ने, व्रतका नाममा खुट्टा पखालेर पानी खानेमात्रै थिए ? यही गीतपछि समाजमा यस्तो चेतना र सुधार भएको हो ? यसो होइन भनेर कहीं पढाइयो ? गीत बनाउने र गाउनेहरूले यस विषयमा पूरा जिम्मेवारीपूर्वक अध्ययन गरेका छन् ?

के ढुंगामा पानी चढाउनेबाहेक अरू मङ्गल ग्रहको यात्रामा निस्किसकेका छन् ? कि मङ्गल ग्रहको यात्रा ढुङ्गामा खन्याइएको पानीले बाटो चिप्ल्याएको छ ? पूजा के हो ? ढुङ्गा पूजाको अन्तर्वस्तु के हो ? यो सबै अध्ययन गरेर अब अन्तिम निष्कर्ष निकालिएकै हो ? मङ्गल ग्रहमा पुग्ने सिद्धान्त, यन्त्र, यान निर्माणको कुन ठाउँमा ढुङ्गा पूजाले बाधा पार्‍यो ? ती मङ्गल ग्रहमा पुग्ने वा पुर्‍याउनेहरू कुनै देवीदेवताको पूजा गर्छन् कि गर्दैनन् ?

एउटाले गरेको गल्तीका लागि ठूलो समूहलाई पिर्ने अपराध सबैभन्दा ठूलो अपराध हुन्छ ।

हिन्दू सनातन धर्म-संस्कृतिमा ब्राह्मणहरू कर्मकाण्ड गराउँछन् । यसो गर्नुलाई पुरोहित्याइँ भनिन्छ । कर्मकाण्डी ब्राह्मण आफ्नो आर्थिक स्वार्थका कारण पुरोहित्याइँ गर्दछन् । अन्य धर्ममा यसो गरिन्छ कि गरिँदैन ? के तपाईं हाम्रा घरमा ती लोभी टपरे बाहुनहरू आफैं आएर जबरजस्ती कर्मकाण्डका मन्त्र फलाकेर नगद जिन्सी लुटेर लैजान्छन् ? कि तपाईं हाम्रो आवश्यकताले बोलाइएको बेलामा मात्र आउँछन् ? बौद्ध, इस्लाम, ईसाईहरू यस्तो गर्ने लामा, मौलवी, पास्टर हुन्छन् कि हुँदैनन् ? उनीहरू अर्को कुनै नाममा दक्षिणा लिन्छन् कि लिँदैनन् ? आशीर्वाद लिने दिने गर्छन् कि गर्दैनन् ? उनीहरूको पूजा पद्धति हुन्छ कि हुँदैन ? उपासना या व्रत विधि हुन्छ कि हुँदैन ? हिन्दु धर्ममा जस्तै इहलोक परलोक होला, नहोला त्यो आफ्नो ठाउँमा छ । तर, जीवनपछिका लागि भनेर गरिँदैआएका केही विषय छन् कि छैनन् ?

के जातपातमा आधारित व्यवस्था र धर्म, संस्कृति एउटै विषय हो ? धर्ममा धार्मिक भेद छ कि जातीय विभेद ? जातीय विभेदमा धर्मको स्थान कहाँनेर छ ? जाति र वर्ण एउटै होइन भन्नेसम्म नबुझेकाहरूले जाति, धर्म, वर्णलाई मिसाएर कुरा गर्नु दुर्भाग्यपूर्ण हो । सनातन धर्म संस्कृतिको आधार ऋग्वेद हो । ऋग्वेद अध्ययन गर्दा पहिले जात बनेर पछि काम विभाजन भएको देखिँदैन । बरु कामका आधारमा जात विभाजन भएको नै देखिन्छ । यसलाई पछिल्लो श्रीमद्भगवत गीतामा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशमा ‘चार वर्णको सृष्टि गुण, कर्म, स्वभावका आधारमा मैले गरेको हुँ’ भनिएबाट पुष्टि भएकै छ । अन्यत्र पनि यस्ता धेरै प्रसङ्ग छन् ।

जातका विषयमा शास्त्रीय अध्ययन गर्न रुचाउने हो भने मनुस्मृतिमा धेरै कुरा बुझ्न सकिन्छ । यसमा जन्मका आधारमा अण्डज, उद्भिज, स्वेदज र जरायुजको बारेमा वर्णन गरिएको छ । यसमा वर्णसम्बन्धी व्यवस्थाबारे पनि अध्ययन गर्न सकिन्छ । तर, हाम्रो जातीय विभेद विरोधी आन्दोलनका केही लालबुझक्कडहरूले त्यहाँ उल्लेख गरिएका शुद्र नै अहिलेका दलित हुन् भनेर स्याल हुइयाँ मच्चाउँदै आएका छन् ।

ऋग्वेदको ‘ब्राह्मणोद्रस्य मुखमासीद् बाहू राजन्यः कृतः । ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रो अजायतः ।। यी विराट पुरुषको मुख ब्राह्मण, बाहु(पाखुरा) क्षत्रि, तिघ्रा वैश्य, पाद(गोडा) शूद्रका भावले प्रकट गराए ।’ (ऋग्वेद १०।९०।१२) यो एउटा प्रसंग हो । यो किटान गरिएको निर्देशन होइन, यो उनीहरूको त्यति बेलाको बुझाइ हो ।

के ढुंगामा पानी चढाउनेबाहेक अरू मङ्गल ग्रहको यात्रामा निस्किसकेका छन् ? कि मङ्गल ग्रहको यात्रा ढुङ्गामा खन्याइएको पानीले बाटो चिप्ल्याएको छ ?

यस मन्त्रलाई नै जात र जातीय विभेदको आधार भनी व्याख्या गर्नेहरूले ऋग्वेद दशम मण्डल, २८ औं सूक्त, मन्त्र १५ ‘सप्त वीरासो अधरादुदायन्नष्टोत्तरात्तात् समजग्मिरन्ते । नव पश्चातात्स्थिविमन्त आयन्दश प्राक्सानु तिरन्त्यश्नः अर्थात् प्रजापतिका नाभीबाट सात वीर उत्पन्न भए । त्यसपछि तल्लो भागबाट आठ वटा उत्पन्न भएर पछिल्ला भागबाट नौ र अघिल्लो भागबाट दस वटाको उत्पत्ति भयो । यी सबैले भोजन गर्दै द्युलोकबाट उत्पन्न क्षेत्रलाई बढाउन थाले’ भन्नेतिर कहिल्यै ध्यान दिएको र चर्चा गरेको सुनिँदैन ।

धर्म-संस्कृतिका विषय केही मिसिएका छन्, केही छुट्टाछुट्टै छन् । केही सामाजिक संहिता र नीतिनियमका रूपमा छन् भने केही व्यवस्थापनका रूपमा छन् । केही कर्तव्यका रूपमा छन् । केही खुशीयाली र उत्सवका रूपमा छन् । केही चिन्तनका विषय छन् । धर्म, अध्यात्म, संस्कृति, सामाजिक व्यवस्था, जातिप्रथा, परम्परा सबैलाई एउटै डालोमा हालेर हल्लाउने अनि आँखा चिम्लेर निकाल्दा जे हातमा आउँछ त्यही नाम दिनु विज्ञान हो ?

हिन्दू मन्दिर प्रवेशमा गरिएको विभेदका विषयमा जातीय विभेदमात्र देख्नेहरूले यस्तो नभएका ठाउँबारे कतै चर्चा गर्दैनन् । मन्दिर, गुम्बा, मस्जिद, गुरुद्वारा, चर्च सबैका आआफ्ना नियम छन् । सबैमा निश्चित प्रकारको श्रेणी छ । सबै ठाउँमा सबैको पहुँच हुँदैन । तर, सबै ठाउँको व्यवस्थापन एकै प्रकारको पनि छैन । पशुपति, गुह्येश्वरी, विश्वरूपा, मुक्तिनाथ, जानकी मन्दिर, लुम्बिनी आदि धेरै धार्मिक स्थलहरूमा जातीय भेदभाव छैन । केही निषेधात्मक व्यवस्था सबै ठाउँमा रहेको पनि छ । तर, सोलोडोलोमा कुनै जात(खास गरी ब्राह्मण) र केही धार्मिक स्थलहरूका केही घटनालाई लिएर कोकोहोलो मच्चाउनु बाङ्गो नियतको प्रकटीकरण हो । समस्या चर्काउने, बल्झाउने र फरक खाले स्वार्थको रोटी सेक्ने बदनियत हो ।

अब टुक्रा-टुक्रामा आलोचना र विरोध गरेर हामी हाम्रो समाजलाई अन्धविश्वासबाट मुक्त गर्न सकिन्न । केही उत्तम विषयको चर्चा र केही कमजोर विषयको उठान गरेर हाम्रो संस्कृतिलाई उन्नत बनाउन पनि सकिँदैन । अब पूर्वाग्रहरहित भएर धर्म, अध्यात्म, संस्कृति, परम्परा, प्रचलनबारे अध्ययन, व्यापक परिचर्चा, सचेतना विस्तार गर्नु आवश्यक छ ।

(लेखक कोइराला सांस्कृतिक अध्येता तथा अभियन्ता हुन् ।)

प्रतिक्रिया

3 thoughts on “हिन्दू धर्म र लालबुझक्कडहरूको स्याल हुइयाँ

  1. हो यसरी नै सबै हिन्दूहरू नयँ तरिकाले जागौं । हामीमाथि प्रहारै प्रहार हुँदा पनि किन चुप ? हिन्दू धर्म र राजतन्त्र, हिन्दूधर्म र समाजका कुरूतिहरू ई. लाई जोडेर हामीमाथि भैराखेक‍ा प्रहारक‍ो सशक्त प्रतिकार गरौ यस्तै लेख , विचार, वादविवाद मार्फत । हिन्दू धर्म त महान र वैज्ञानिक छ । न यो राजतन्त्रसँग जोडिन्छ न कुरूतिहरू , न कम्युनिष्ट । अभियान छेडौं ।

  2. समयको सपेक्षतामा रोग बनिसकेको जाति व्यवस्थालाई, दलित र सीमान्तकृत, आदिवासी र आगन्तुक, मधेसी र पहाडी, सवर्ण र अवर्ण, यो धर्म र त्यो धर्म, योभाषा-त्यो भाषा आदि भिन्नता जनाउने कुराहरूले, समाप्त पार्नुको साटो झन् दीर्घायु बनाइरहेका त छैनन र!!! अब यी र यस्ता शब्द संविधान बाट तुरुन्त हटाउनु पर्द छ। यी र यस्ता शब्द पत्र पत्रिकाहरुले लेख्न बन्द गर्न सकिँदैन र।

Leave a Reply

Your email address will not be published. Required fields are marked *