जसपाको नेतृत्वमा भएको आन्दोलन र संघर्षले मुलुकमा परिवर्तन आएको दावी – Nepal Press

जसपाको नेतृत्वमा भएको आन्दोलन र संघर्षले मुलुकमा परिवर्तन आएको दावी

रुपन्देही । मुलुकमा भएको परिवर्तनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) को भूमिका महत्वपूर्ण रहेको पार्टीका नेता तथा कार्यकर्ताहरुले दावी गरेका छन् । उनीहरुले विगतमा भएको आन्दोलनका कारण मुलुकमा संघीयता लगायत महत्वपूर्ण परिवर्तन आएको बताएका हुन् ।

बडादशैं, दिपावली तथा छठपर्वको अवसरमा जसपा क्षेत्रीय समन्वय समिति क्षेत्र नम्बर १, रुपन्देहीले आइतबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने नेताहरुले जसपाको अगुवाई र नेतृत्वमा भएको आन्दोलन र संघर्षले मुलुकमा विभिन्न परिवर्तन आएको बताए ।

कार्यक्रममा बोल्दै जसपाका संघीय परिषद् सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संघीयता आउनुमा जसपा र पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विभिन्न आन्दोलनका कारण संघीयता तथा स्थानीय सरकारको स्थापना भएपछि जनताले घरदैलोमा सरकारको अनुभुति गर्न पाएको बताए ।

नेता यादवले भने, ‘संघीयता आएपछि भ्रष्टाचार बढ्यो भनेर भ्रम फैलाइँदैछ, संघीयतालाई कमजोर बनाउने खेल भइरहेको छ ।’ संघीयता अझै पनि पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको उनले बताए ।

उनले पदमा पुग्नु भन्दा पनि पदमा रहँदा के काम गर्न सकियो भन्ने विषय महत्वपूर्ण रहेको बताए । कसले कुन क्षेत्रमा कति विकास गर्‍यो भन्ने कुराको मुल्यांकन गर्ने समय आएको उनको भनाइ थियो ।

उनले रोहिणी गाउँपालिकाको भवन, १५ शैयाको अस्पताल र क्याम्पस सञ्चालनका लागि लगिपरेको बताए । उनले आफू निरन्तर जनताको सुखदुःखमा साथ रहने बताए ।

त्यस्तै समाजवादी युवा संघ, नेपालका केन्द्रीय उपाध्यक्ष तथा युवा नेता असलम खानले एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले जसपाको सहयोगले नै नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाएको दावी गरे । उनले भने, ‘आगामी निर्वाचनमा एकताबद्ध भइ इमान्दारीपूर्वक लागौं ।’

जसपाका नेता मात्रिका प्रसाद यादवले रुपन्देही क्षेत्र नम्बर १ मा अन्य पार्टी भन्दा जसपा बलियो रहेको दावी गरे । उनले पार्टीले दिएको जिम्मेवारी आफूले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

रोहिणी गाउँपालिका–५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्रीले विगतमा एकताबद्ध भएर अघि बढे जस्तै आगामी निर्वाचनमा पनि एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

पार्टीका नेता कलामुद्दीन खान, भरथरी यादव, रामाशंकर यादव, समाजसेवी सतिशचन्द्र मिश्रा, युवा नेता शेषमणि यादव, विनय कुमार यादव, राजधर हरिजन लगायतले बोल्दै निर्वाचन जित्न अभियानमा लाग्न आग्रह गरे । उनीहरुले आगामी निर्वाचनमा जसपाले सम्मानजनक सिट पाउनुपर्ने माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर