कसरी मनाउँदैछन् वृद्धाश्रममा दशैं ? – Nepal Press

कसरी मनाउँदैछन् वृद्धाश्रममा दशैं ?

काठमाडौं । ‘हेलो आमा के ल्याइदिँउ ?’ उताबाट फोनमा प्रश्न आउँछ । ‘चकलेट मन पर्छ । तर अमलाको तितौरा ल्याइदे है अरु त केही पनि पर्दैन ल्याउन । गुलियो मन परिहाल्छ नि’ हास्दै फोनमा भन्छिन् । तितौरा भए मुखमा राखेर एक्लै बस्नुपर्छ नि त एक्लोपना गुनासो सुनाउँछिन् । खाना खाँदै थिइन् उनी । खाना खान फोनबाटै निम्तो गरिन् ।

उनले बुबाआमा छोरी सबैको हालखबर सोधेर विजया दशमीको शुभकामना छ है सबैलाई भनेर फोनबाटै शुभकामना दिन पनि भ्याइन् ।
सोमबार बिहान पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रममा नेपालप्रेसकर्मी पुग्दा गोलढुंगाको एकेन्द्र मल्लसँग फोनमा कुरा गरिरहेकी थिइन् उमेरले ९० टेकेकी लक्ष्मी देवी थापा ।

उनले फोनराखेपछि हामीसँग कुरा गर्दै भनिन्,‘ के गर्नु आश्रममा बसिरहेछु दुनियाँ छोराछोरीको माया पाइराखेको छु कस्तो कर्म मेरो भाग्यमानी होइन त ।’ अघि फोनमा कुरा गरेका उनको धर्मपुत्र हो रे उनको ।

उनले एकेन्द्रले केके खान मन लागेको छ म ल्याइदिन्छु भनेर भन्नलाई फोन गरेको भन्दै फोन गर्नुको तात्पर्य खुलाइन् । मलाई त खुब अमला मन पर्छ भन्दै खित्का छोडेर हाँसिन् ।

उनको हसाइले उनलाई आश्रममा होइन घरमा शहरबाट छोराले फोन गरेर के ल्याइदिउ आमा भनेको भान हुन्छ उनलाई । एकेन्द्र पनि बेलाबखत वृद्धाश्रम पुगिरहेकै हुन्छन् । आश्रममा भएका आमाबाहरुलाई केके खान मन लाग्छ त्यही सोधेर लगिदिन्छन् । लक्ष्मीलाई अन्य बेला भन्दा दसैंमा एकेन्द्रलाई सम्झिन्छन् ।

 

आफनो सन्तान नभएपनि अरुको सन्तानले माया गरेको देखेर दंग छिन् । लक्ष्मीका अनुसार उनले यो वृद्धाश्रममा दशैं मनाएको २२ वर्ष भयो । उनलाई सबै यही दशैं रमाइलो लाग्छ । उनको आफना भन्नेहरु कोही छैनन् । सानैमाबाबुआमा गुमाएकी उनले घरको दशैं कस्तो हुन्छ भन्ने याद पनि छैन ।

‘यहाँ बसेको २२ वर्ष भयो । मेरो घर छैन । बाउआमा नभएको टुहुरी हुँ । सबैको माया ममतामा हुर्के । पढेको छैन । ममीबुबा भएपो पढाउनु है ।’पढ्न नपाएकोमा गुनासो गरिन् ।

उनको देव्रे खुट्टा मोटरसाइकलले हानेर भाचिएको थियो । उनी यहाँ आउँदा भाचिएको खुट्टा लिएर आइपुगेकी हुन् । त्यसपछि त्यहीको भाइले उनलाई चावहिलको अस्पताल लिएर गएको थिइन् । उनले यही आश्रममा आएर हो दशैं राम्रोसँग मनाएकी ।

दशैंभरि वृद्धाश्रमका ज्येष्ठ नागरिहरुलाई संस्थामा बाहिरबाट दाताले पनि खुवाउँछन् । उनीहरु आफूखुशी दसैंमा बृद्धाश्रममा खाना खुवाउन आउने संस्थाका कर्मचारीहरु बताउँछन् । हाल संस्थामा ९१ जना ज्येष्ठ नागरिकहरु छन् ।

उनले देशविदेशमा बसेका सम्पूर्ण नेपालीलाई दशैंको शुभकामना दिइन् । छोराछोरीले ल्याएर छोडेकाहरु छोराछोरी सम्झेर भक्कान्छिन् । परिवारसँग दशैं मनाएको यादले नसताउने त कहाँ हो र । तर परिस्थितिले ती यादहरुलाई भुलाउनुपर्नेछ ।

कोही पुराना घाउहरु भुलाउन नाच्न गाउनमा व्यस्त हुन्छन् । छोराछोरीलाई साइतको टिका लगाउन नपाएकोमा दुखी भएपनि मन भुलाउनुको विकल्प नभएको अर्की वृद्धाले बताइन् ।

आश्रममा दशैं बाहिरका मानिसहरुलै दशैंको बेला एकसरो नयाँ लुगा दिन्छन् । आश्रमकै मान्छेले पनि दिन्छन्। दशैं लागेदेखि उनीहरुको भान्सामा मासु टुटदैन् । त्यति भएपछि दंग । टिकाको दिन त्यहीका कर्मचारीले साइतमा टिका लगाइदिएर दक्षिणा पनि दिन्छन् ।

दक्षिणा पाएपछि मक्ख पर्छन् ज्येष्ठ नागरिकहरु । संस्थाका कर्मचारीहरु भन्छन्,‘ कति त अरु बेला भन्दा नि दशैंतिहारमा छोराछोरी सम्झेर भक्कानिन्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर