दसैँभित्रै सरप्राइज हुने उपेन्द्रको ब्रिफिङ, एमालेसँग २५ सीट लिएर गठबन्धन भत्काउने ! – Nepal Press

दसैँभित्रै सरप्राइज हुने उपेन्द्रको ब्रिफिङ, एमालेसँग २५ सीट लिएर गठबन्धन भत्काउने !

काठमाडौं । ठीक ५ वर्षअघि दसैँकै बेला सिंगो मुलुक र अन्तर्राष्ट्रिय समुदायलाई समेत सरप्राइज दिँदै एमाले र माओवादीबीच वाम गठबन्धन र पार्टी एकताको घोषणा भएको थियो ।

कांग्रेससँग सरकारमा रहेको माओवादी केन्द्र विजयादशमीको दिन एकाएक एमालेसँग मिल्न पुगेको थियो । के यसपटक पनि दसैँमा कुनै सरप्राइज हुँदैछ ? सत्ता गठबन्धनको तेस्रो ठूलो घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यसको संकेत गरेका छन् ।

यादवले पार्टी केही शीर्ष नेतासँगको ब्रिफिङमा दसैँमै कुनै सरप्राइज हुने भन्दै सत्ता गठबन्धनसँगको सहकार्य अब धेरै लामो नरहेको संकेत गरेका छन् । जसपाका एक नेताले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार एमालेसँग जसपाको चुनावी तालमेल हुने लगभग निश्चित भएको छ ।

ती नेताले भने, ‘एमाले र हाम्रोबीच चुनावी तालमेल हुने ९९ प्रतिशत निश्चित भइसकेको छ । केपी ओली झापा जाने भएकाले दसैँको टीका अगाडि लिखित सहमति नहुनसक्छ तर दसैँमै सरप्राइज आउने निश्चित छ । सत्ता गठबन्धनबाट बाहिरिने कुरा अध्यक्ष उपेन्द्र यादवले बताइसक्नुभयो ।’

जसपाले एमालेसँगको तालमेलमा मधेस प्रदेशका आधासहित २५ सीट प्रतिनिधिसभामा पाउने भएको छ । मधेसका ३२ मध्ये कम्तीमा १६ सीट जसपाले पाउने निश्चित भएको छ । त्यस्तै प्रदेश १ मा दुई वा तीन सीट, वागमतीमा एक सीट काठमाडौंबाट र लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरेर तीन सीट जसपाले पाउनेछ ।

जसपाले प्रदेशमा पनि एमालेसँगको तालमेलमा राम्रो संख्या पाउने भएपछि गठबन्धनबाट बाहिरिने मनस्थितिमा उपेन्द्र पुगेका हुन् । एमाले स्रोतले पनि जसपासँग चुनावी तालमेल हुने पुष्टि गरेको छ । चाँडै लिखित सहमति हुने एक नेताले बताए । यो बुझेरै लोसपा अध्यक्ष महन्थ ठाकुर पनि एमाले जसपा गठबन्धनमा सामेल हुने प्रयासमा लागेका छन् ।

जसपाका एक नेताले भने, हामीले सत्ता गठबन्धनले १६ सीट दिने भन्यो,मुख्य आधार मधेसमा हाम्रो शक्तिको अवमूल्यन भयो । फेरि कांग्रेस र हाम्रो भोट वैंक पनि एउटै भएकाले एमालेसँग तालमेल गर्दा मत ट्रान्सफर हुने देखियो । हामीसँगको तालमेलले एमाले फेरि पनि चुनावपछि कांग्रेसभन्दा ठूलो पार्टी हुन्छ,हामी पनि मधेसको ठूलो पार्टी हुन्छौं,दुवैको स्वार्थ मिल्यो ।’

जसपासँग मिल्दा एमालेलाई पाँचथर, इलाम, धनकुटा, खोटाङ, ओखलढुंगालगायतका पहाडी जिल्लामा पनि केही मत थपिने भएकाले पनि एमाले सत्ता गठबन्धन फुटाएर जसपालाई आफूतिर तान्न अग्रसर भएको बताइन्छ । यसबीचमा शीर्ष तहमै छलफल भएर तालमेलको अनौपचारिक सहमति भइसकेको छ ।

यो जानकारी पाएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत गठबन्धनका शीर्ष नेताले उपेन्द्रसँग पटकपटक छलफल गरेका छन् । केही सीट थप दिएर भने पनि जसपालाई एमालेसँग मिल्न नदिने अन्तिम प्रयासमा गठबन्धन लागेको छ ।

जसपाले एमालेसँग मिल्दा मधेस प्रदेशमा सप्तरी २ सीट, धनुषा २ सीट, सिरहा २ सीट, महोत्तरी २ वा ३ सीट, सर्लाही २ सीट, रौतहट २ सीट, बारा २ सीट र पर्सामा २ सीट पाउने भएको छ ।

त्यस्तै रुपन्देही एक सीट, कपिलवस्तु १ सीट, बाँके १ सीट, मोरङ १ सीट र सुनसरीमा १ वा २ सीट पाउने सम्भावना छ ।


प्रतिक्रिया

One thought on “दसैँभित्रै सरप्राइज हुने उपेन्द्रको ब्रिफिङ, एमालेसँग २५ सीट लिएर गठबन्धन भत्काउने !

  1. एमालेको रणनीति न जसपा न लोसपा न माओवादी न समाजवादी । कसैसँग पनि तालमेल गर्नु हुँदैन । तर तिनलाई काँग्रेससँग मिल्न नदिन हरसम्भव उपाए भने गर्नुपर्छ । अन्तयमा माओपवादी र काँग्रेस मिलुन र देशव्यापी भण्डाफोर गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर