रामरिझनले छाडे बाबुरामको साथ, सिरहाबाट स्वतन्त्र लड्ने घोषणा – Nepal Press

रामरिझनले छाडे बाबुरामको साथ, सिरहाबाट स्वतन्त्र लड्ने घोषणा

''माखेसाङ्लो' बेचेर चुनावी खर्चको जोहो गर्छु'

जनकपुरधाम । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईनिकट रहेका बौद्धिक नेता रामरिझन यादव सिरहाको दुई क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यादव नेसपाका केन्द्रीय सदस्य छन् । तर, सिरहा क्षेत्र नम्बर २ र ३ बाट उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले धेरै मन्थनपछि संघमा स्वतन्त्र लड्ने निष्कर्षमा पुगेको बताए ।

यादवले नेपाल समाजवादी पार्टीमा आबद्ध नरहेको नेपाल प्रेससँग बताए । उनले भने, ‘पार्टी गठन गर्ने बेलामा मेरो नाम त्यत्तिकै राखिदिनुभो । तर म अहिले कुनै पार्टीमा छैन । स्वतन्त्र छु ।’

जनमोर्चा हुँदै माओवादीमा आएका यादवले जहिल्यै भट्टाईलाई साथ दिएका थिए । नयाँ शक्ति पार्टी गठन गर्दा र पछि उपेन्द्र यादवको पार्टीसँग एकीकरण गर्दा पनि नेता यादव सँगै थिए । डा. भट्टराई प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकार थिए ।

‘ओपेन हर्ट सर्जरी गराएकोले जनताले मागे जतिको समय दिन सक्दिनँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, एक पटक चाहि प्रत्येक गाउँमा पुग्ने मेरो विचार छ । किनकि, चुनावमा धन व्ययको जति कुरा गरेपनि म विचारको बलमा निर्वाचनमा उभ्छु ।’

नेता यादवले निर्वाचन अयोगले तोकेको रकमभन्दा बढी नखर्चिने दाबी गरे । तराई मधेसबारे भर्खरै लेखेको पुस्तक ‘माखेसाङ्लो’ बेचेर चुनावी खर्चको जोहो गर्ने उनले बताए ।

उनले पुस्तक खरिदका लागि सिरहाबासीलाई आग्रहसमेत गरेका छन् ।

नेता यादवले उम्मेदवारी घोषणा गरेको सिरहा २ बाट ७४ मा नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास यादव र सिरहा ३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ विजयी भएका थिए ।

यो पटक सत्ता गठबन्धनबाट सिरहा २ मा नेपाली कांग्रेसकी चित्रलेखा यादव र सिरहा ३ बाट माओवादीका विश्वनाथ साह उम्मेदवार बन्ने सम्भावना छ । एमालेबाट सिरहा २ मा उम्मेदवारको टुंगो छैन भने सिरहा ३ बाट पुनः श्रेष्ठको निश्चितजस्तै छ । अन्यले पनि उम्मेदवार टुंग्याएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर