चुनावलक्षित गठबन्धन यसकारण अलोकतान्त्रिक – Nepal Press
विचार

चुनावलक्षित गठबन्धन यसकारण अलोकतान्त्रिक

दुई पटक परीक्षण भएका सबैलाई ‘पावर होलिडे’ मा किन नराख्ने ?

हाम्रो लोकतन्त्रले राजनीतिक दलको भूमिकालाई उच्च स्थानमा राखेको छ । नेपालले अभ्यास गरेको लोकतन्त्र वेस्ट मिनिस्टेरियल पार्लियामेन्टरी सिस्टम अर्थात बेलायतको संसदीय प्रणालीको मिल्दोजुल्दो संसदीय प्रणालीको स्वरुप हो । जहाँ मुलुकको प्रधानमन्त्री हुन दलको नेता हुनुपर्छ । राजनैतिक दलका गतिविधि व्यवस्थित गर्न संविधानमै वार्षिक लेखापरीक्षणदेखि नेतृत्व छनोटमा आवधिक निर्वाचनको बाध्यकारी व्यवस्था रहेको छ । दलको आन्तरिक जीवनले नै राष्ट्रको जीवनको दिशानिर्देश गर्ने गर्छ । अवसरको समान वितरण, पछाडि परेको वर्ग र समुदायलाई राजनैतिक मूलप्रवाहमा ल्याउने समावेशी र समानुपातिक प्रणालीजस्ता अभ्यासहरु दलहरुले आफ्नो आन्तरिक जीवनमा पनि कार्यान्वयन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

राजनैतिक दलहरुले देशलाई सवल र सक्षम सरकार कसरी दिनसक्छन् भन्ने कुराको प्रत्याभूति दलहरुभित्रको लोकतान्त्रिक अभ्यासले प्रतिविम्बित गर्छ । जुन दलमा आन्तरिक लोकतन्त्र मजबुत छ, त्यो दलले मात्र सरकार निर्माणमा नागरिकको विश्वास प्राप्त गर्नसक्छ । सधैं त्यस्तो पार्टीले मात्र सवल र सक्षम सरकार दिनसक्छ । विगतमा नेपालले जसरी राजनैतिक अस्थिरताको सामना गर्नुप¥यो त्यो सब दलहरुले आन्तरिक लोकतन्त्रको राम्रोसँग अभ्यास नगर्नुको परिणाम हो । तसर्थ एक प्रमुख राजनीतिक पार्टीमा देखिएको अलोकतान्त्रिक अभ्यास अरु पार्टीमा देखिँदै जानु र राजनीतिक दलहरुका केही निश्चित नेताहरुको तजबिजमा आफ्नो राजनीतिक भविष्यसँग सिंगो पार्टी र यसका कार्यकर्ताहरुको भविष्यलाई गठबन्धनको नाममा खेलबाड गर्नु लोकतन्त्रको लागि लडेका दलहरुका लागि सुहाउने कुरा होइन ।

लामो संघर्ष र बलिदानको जगमा स्थापना गरिएको नेपालको लोकतान्त्रिक व्यवस्था र त्यसको सञ्चालनका लागि दुई-दुई पटक संविधानसभाको निर्वाचन गरेर, निकै लामो समय र पूँजीको लगानीमा निर्माण गरिएको वर्तमान नेपालको संविधानको पूर्ण कार्यान्वयन नगर्दै यसको विकल्पका पक्षमा बहस हुन थालेका छन् । यो अवस्थाको सिर्जना हुनु नै नेपालका प्रमुख राजनैतिक दलका लागि प्रमुख चुनौती हो । विगतमा राजनैतिक दलले तत्कालीन राजनैतिक प्रणाली नै समग्र समस्याको जड रहेको निष्कर्ष निकाल्दै नागरिकलाई आन्दोलनका लागि तयार गरे । यतिमात्र होइन नागरिकमा नयाँ नेपाल निर्माणको सपना देखाएर अभिमत लिन सफल भए पनि प्राप्त अवसरलाई सदुपयोग गरेर नेपाली जनतालाई सुशासन दिन नसक्दा नागरिकले वर्तमान राजनैतिक प्रणाली र प्रमुख राजनैतिक दलहरुप्रति चरम असन्तुष्टि प्रकट गरेका छन् । स्वतन्त्र व्यक्तिका रुपमा नागरिकले निर्वाचन जित्नु एवम् वैकल्पिक शक्तिको खोजी हुनु यसको पछिल्लो उदाहरण हो ।

विगतमा नेपालले जसरी राजनैतिक अस्थिरताको सामना गर्नुपर्‍यो त्यो सब दलहरुले आन्तरिक लोकतन्त्रको राम्रोसँग अभ्यास नगर्नुको परिणाम हो ।

दलहरुले लोकतन्त्रको मूल सिद्धान्त तथा आफैंले निर्माण गरेको संविधानको व्यवस्था र भावनालाई आत्मसात गर्न नसक्नु नै नेपालको राजनैतिक अस्थिरताको प्रमुख कारण हो । साथै विकासमा देखिएको पछौटेपनको दोष राजनीतिक दलहरुले कर्मचारी प्रशासन र कर्मचारीले राजनीतिक दलहरुमा तेर्स्याएर नागरिकको विकासप्रतिको अभिलाषालाई लामो समयसम्म आश्वासनमा सीमित राख्नु र आफ्ना घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरु आफैंले तिलाञ्जली दिएका कारण नागरिकहरुमा दलहरुको विकल्पमा स्वतन्त्र उमेदवारहरुको लहर आएको देखिन्छ ।

नेपालका प्रमुख राजनैतिक दलहरु अहिले पनि सत्ता राजनीतिभन्दा पर गएर परिस्थितिको आंकलन गर्ने एवम् आफ्ना कर्मको स्वतन्त्र मूल्याङ्कन गर्न तयार देखिएका छैनन् भन्ने कुराको प्रमाण मंसिर ४ गते हुने निर्वाचनलाई लिएर दलहरुभित्र उम्मेदवार छनोटको क्रममा बढेको गर्मागर्मी तथा दलको आन्तरिक छलफलमा भएका असहमतिका स्वरहरू छताछुल्ल भएर सतहमा पोखिनुलाई लिन सकिन्छ । दलको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्नुको विकल्प छैन । यसका लागि लामो समयसम्म निरन्तर अभ्यासको जरुरी हुन्छ । सोका लागि दलका नेताले लोकतन्त्रलाई व्यक्तिगत एवम् पार्टीको जीवन पद्धतिका रूपमा अभ्यास गर्नुपर्छ ।

दलहरुले टिकटका आकांक्षीहरुको बढ्दो दबाबलाई यथोचित व्यवस्थापन गर्न सकेनन् भने खासगरी कांग्रेस र अन्य दलहरुमा विद्रोह हुने तथा दल विभाजन हुनेसम्मको खतरा देखिन्छ । यसो हुँदा दलमात्र कमजोर हुने छैनन्, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्यप्रति पनि प्रश्नचिन्ह खडा हुने निश्चित छ ।

यतिखेर वर्तमान राजनैतिक प्रणालीका सर्जक एवम् नेपालको संविधान २०७२ का निर्माता प्रमुख राजनीतिक दल एवम् मुख्य नेताहरुसामु युगिन चुनौतीहरु र अवसरहरु उपस्थित भएका छन् । नेता त्यस्तो व्यक्ति हो, जसले अरुले नदेख्ने विषय देख्छ, वर्तमानको क्षणिक र व्यक्तिगत लाभभन्दा माथि उठेर देश र नागरिकको साथै आफू सम्बद्ध संस्थाको बृहतर हित हुने गरी निर्णय लिनसक्छ । हामी एकांकी भएर अमूक व्यक्तिमा त्यो विशिष्ट क्षमता हुनैपर्छ भन्दै गर्दा आफैप्रति प्रश्नचिन्ह खडा हुनु हाम्रो विडम्बना हो । यतिखेर हामीसँग भविष्य देख्न सक्ने व्यक्तिगत स्वार्थभन्दा माथि उठेको नेतृत्व सायदै छन् । यदि उपलब्ध सूचना र तथ्यको विश्लेषण गर्ने प्रयत्न गर्दा अधिकतम रुपमा सही निर्णय सम्पादन गर्न सहज हुन्छ ।

दलको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्नुको विकल्प छैन । यसका लागि लामो समयसम्म निरन्तर अभ्यासको जरुरी हुन्छ । सोका लागि दलका नेताले लोकतन्त्रलाई व्यक्तिगत एवम् पार्टीको जीवन पद्धतिका रूपमा अभ्यास गर्नुपर्छ ।

दलहरुले टिकट वितरणको पूर्वसन्ध्यामा दलका कार्यालय, नेताका घरहरुमा भीडभाड देखिएको छ । त्यस्तै समानुपातिक निर्वाचनका लागि प्रस्तावित गरिएका व्यक्तिको नाम हेर्दा लाग्छ, दलले परिवर्तित सन्दर्भ र अवस्थालाई राम्ररी विश्लेषण गर्न सकेकै छैनन् । सबैभन्दा समस्या कांग्रेसभित्रै देखिन्छ । पार्टीहरुले आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको निर्णय गर्दा जिम्मेवारीमा रहेका सीमित व्यक्तिले विवेक पुर्‍याएको देखिँदैन । दलका सामु निर्वाचन जित्ने चुनौती त छँदैछ यसका साथै निर्वाचनपछि आत्मनिर्भर नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्नुछ । यसका लागि सक्षम, अनुभवी, इमानदार र सिर्जनशील व्यक्तिको चयन गर्नु पनि त्यत्तिकै आवश्यक छ ।

आजका मतदाता, नागरिक आफ्नै जीवनकालमा समृद्ध र विकसित भएको नेपाल हेर्न चाहन्छन् । लोकतन्त्रको करिब ३४ वर्षसम्म दलहरुले गरेका प्रयासहरुले नागरिकलाई पूर्ण विश्वस्त पार्न सकेको देखिँदैन । यसर्थ दलहरुले उम्मेदवार चयन गर्दा खुला दिमाग र बृहत हृदयका साथ स्पष्ट मापदण्ड निर्माण गर्न जरुरी थियो र छ । मापदण्ड निर्माण गर्दा मेरो साधारण दिमागले देखेको एउट विकल्प प्रस्तुत गर्न यो आलेख तयार गरिएको छ । प्रमुख दलका बीचमा, चुनाव लक्षित गठबन्धन आफैंमा लोकतान्त्रिक मान्यताको प्रतिकूल हो । यदि गठबन्धनले विशिष्ट परिस्थितिको सामना गर्न दलका बीचमा सहकार्य गर्नु नै पर्ने बाध्यता महसुस गर्‍यो भने सोका आधारहरु आम नागरिकले बुझ्ने गरी प्रस्तुत गर्नुपर्छ । यसो हुँदा लोकतान्त्रिक प्रणाली र नेपालको संविधानलाई केन्द्रमा राखेर यसको स्थायित्व प्रधान विषय हो भने नागरिकको सहयोग गठबन्धनलाई प्राप्त हुनसक्छ । तर, यसको अनुभूति दलहरुले गर्ने निर्णय र कार्यशैलीमा मुखरित हुनु पर्दछ ।

दलहरुले टिकट वितरणको पूर्वसन्ध्यामा दलका कार्यालय, नेताका घरहरुमा भीडभाड देखिएको छ । त्यस्तै समानुपातिक निर्वाचनका लागि प्रस्तावित गरिएका व्यक्तिको नाम हेर्दा लाग्छ, दलले परिवर्तित सन्दर्भ र अवस्थालाई राम्ररी विश्लेषण गर्न सकेकै छैनन् ।

नेपालका प्रमुख दलहरु, यसको पछाडि सचेत एवम् अनुभवी कार्यकर्ताहरुको विशाल पंक्ति रहेको छ, उक्त जागरूक कार्यकर्ताको पंक्ति सम्मानजनक व्यवस्थापनको पर्खाइमा रहेको छ । यो हरेक दलका लागि आफैंमा चुनौतीपूर्ण छ, सबैभन्दा बढी कांग्रेसमा । यसका लागि कांग्रेस र अन्य पार्टीले पार्टीलाई आन्तरिक कलहको भूमरीबाट बचाउने हो भने यो पटक दुई पटक सांसद भएका वा दुई पटक निर्वाचनमा परीक्षण भई उपविजेता भएका सबै नेतालाई ‘पावर होलीडे’मा राखेर युवा, अवसर नपाएका, इमानदार, उच्च नैतिक र शैक्षिक योग्यता भएका, सृजनशील व्यक्तिलाई उम्मेदवार प्रस्तावित गर्ने हो भने दलभित्रको असन्तुष्टि पनि व्यवस्थापन हुन्छ । दलहरुप्रति नागरिकको आशा तथा भरोसा पनि जीवित हुन्छ र दलहरुको भविष्य सुरक्षित हुन्छ । यसका लागि नयाँ पुस्तालाई सहयोग र साथ दिन ५-७ प्रतिशत सिनियर सक्षम व्यक्तिहरुलाई पनि लिन सकिन्छ ।

टिकटका लागि देखिएको लुछाचुँडी र मारामार रोक्न यो व्यवस्था गर्नु अनिवार्य छ । अन्यथा पुराना राजनैतिक दलहरुसँगै शिशु गणतन्त्रको भविष्यसमेत संकटमा पर्ने निश्चित छ । बच्चा जन्माउने र स्याहार गर्ने आमाहरुका बीचमा छोरोको दाबी प्रस्तुत गर्दा वास्तविक आमाको पहिचानमा न्यायाधीशले गरेको घोषणासँगै वास्तविक आमाले छोरा आफूसँग नहुँदा पनि जिउँदो देख्न जुन त्याग गरिन्, त्यस्तै त्याग नगर्ने हो भने दलहरुको भविष्य रहला नरहला । शिशु गणतन्त्र अलपत्र पर्ने निश्चित छ । तथ्यलाई दृष्टिगत गरी राजनैतिक दलहरुले निर्णय लिनुपर्ने हुन्छ ।

आफू सत्तामा रहँदासम्म र यसको लाभ लिँदासम्म लोकतन्त्र र वर्तमान संवैधानिक व्यवस्थाको वकालत गर्ने र सत्ता बाहिर रहँदा वर्तमान राजनीतिक प्रणालीलाई दोषी देख्नु प्रमुख राजनीतिक दलहरुको गम्भीर विचलन र बेइमानी हो । देशका वर्तमान र भविष्यका चुनौतीहरुको सामना गर्न एउटै घोषणापत्रमार्फत न्यूनतम साझा कार्यक्रम र पाँच वर्षको योजना लिएर सक्षम कार्यकर्तालाई उम्मेदवार बनाइ नागरिकको घरदैलोमा नलाने हो भने आगामी चुनावमा गठबन्धन गर्दैमा बहुमत आउँछ र सरकारको बागडोर आफ्नै हातमा रहन्छ भन्ने सोच लिनु दलहरुको गम्भीर भूल हुनेछ । शिक्षित नागरिकमा दलहरुप्रति विश्वास कम हुनु लोकतन्त्रको लागि घातक छ । सबैलाई चेतना भया ।

(गुल्मी २ बाट उम्मेदवार सिफारिस भएका लेखक नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश योजना आयोगका सदस्य हुन् । )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *