आगामी निर्वाचनमा कति मतदाताले कहाँ-कहाँबाट गर्दैछन् मतदान ? – Nepal Press

आगामी निर्वाचनमा कति मतदाताले कहाँ-कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनभन्दा यो पटक साढे २५ लाखभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार आगामी निर्वाचनमा २५ लाख ६० हजार ८३९ मतदाता थपिएका हुन् ।

१३ लाख ६४ हजार १७८ पुरुष थपिँदा ११ लाख ९६ हजार ४३६ महिला तथा नौ जना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता सहभागी हुने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । जसमा ९१ लाख ४० हजार ८०६ जना पुरुष रहेका छन् । ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता रहेको उनले बताए ।

प्रवक्ता शर्माका अनुसार २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता थिए । जसमा ७७ लाख ७६ हजार ६२८ पुरुष थिए । त्यस्तै ७६ लाख ५१ हजार १४३ महिला र १६७ जना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता रहेका छन् ।

सबैभन्दा बढी मधेसमा थपिए मतदाता

२०७४ को भन्दा आसन्न निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेस प्रदेशमा थपिएका छन् । यहाँ ६ लाख १९ हजार २५९ जना मतदाता थपिएका छन् । दोस्रोमा लुम्बिनीमा ५ लाख ८ हजार ७१२ मतदाता थपिएका छन् ।

यस्तै सबैभन्दा कम मतदाता भने कर्णालीमा १ लाख ६१ हजार ४७० मात्रै थपिएका छन् । सुदूरपश्चिममा २ लाख २२ हजार ३३३ मतदाता थपिएको आयोगले जनाएको छ ।

मोरङमा मात्रै थपिए साढे ९० हजार मतदाता

आयोगका अनुसार मोरङमा जिल्लागत सबैभन्दा धेरै मतदाता बढेका छन् । यहाँ ९० हजार ७४३ मतदाता थपिएका छन् । सबैभन्दा कम मतदाता मनाङमा थप भएका छन् । यहाँ जम्मा ८९८ मात्रै मतदाता थपिएको आयोगले जनाएको छ ।

झापामा ७८ हजार १४५ जना मतदाता थपिँदा मुस्ताङमा एक हजार ५३० मतदातामात्रै बढेका छन् ।

निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन नहुने कानूनी व्यवस्था छ । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भइसकेको छ । सोहीअनुसार ७ प्रदेशका ७७ वटै जिल्लाका प्रतिनिधिसभातर्फको १६५ र प्रदेशसभातर्फको ३३० निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसमेत तोकिसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर