माफीनामाबारे सचिवालय बैठकमा ओलीको जवाफ- एमालेमा अविश्वास सिर्जना गर्ने विरोधीको हल्ला हो – Nepal Press

माफीनामाबारे सचिवालय बैठकमा ओलीको जवाफ- एमालेमा अविश्वास सिर्जना गर्ने विरोधीको हल्ला हो

काठमाडौं । नेकपा एमालेभित्र टिकट वितरणमा दश बुँदे सम्झौतामार्फत माधव नेपाल छाडेर पार्टीमै बसेका नेताहरूमाथि विभेद हुन लागेको र माफी मगाएर मात्र टिकट दिइने चर्चाबारे पदाधिकारी बैठकमा नेताहरूले चासो राखेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको सचिवालय बैठकमा आफूहरूले यसबारे चासो राख्दा अध्यक्षले त्यसलाई खारेज गरेको र विरोधीको हल्ला मात्र हो भनेर जवाफ दिएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

ज्ञवालीले भने– पछिल्लो पदाधिकारी बैठकमा हामीले यो चर्चा के हो ? बाहिर आइरहेको हल्लाबारे चासो राखेका थियौँ । अध्यक्ष कमरेडले त्यो विरोधीहरूले चलाएको हल्ला हो भन्नुभयो । एमालेलाई विभाजित गर्ने, अन्तर्विरोध चर्काउने र अविश्वास सिर्जना गर्ने बाह्य शक्तिहरूको चलखेल हो भन्ने कुरा त्यहाँ चल्यो ।

पार्टीभित्र विभेदको महसुस आफूहरूले नगरेको भन्दै ज्ञवालीले बैठकमा आफूहरूले जमेर छलफल गरेको र अध्यक्षलाई टिकट वितरणका सन्दर्भमा आवश्यक सुझाव दिइएको बताए । पार्टी विभाजन गरेर माधव नेपालले अक्षम्य गल्ती गरेकाले अब पनि विगतमा आफूहरू नेपालसँग नजिक रहेको आधारमा पार्टीले नहेर्ने समेत ज्ञवालीले प्रष्ट पारे ।

ज्ञवालीले एमाले हराउने एक मात्र मिसनमा रहेका माधव नेपालसँग कुनै पनि सहकार्य नहुने समेत बताए ।

रात भरी बैठकमा आफू अध्यक्षसँगै रहेको भन्दै माफी माग्ने वा आत्मालोचना गरे पछिमात्रै टिकट दिने कुरा नभएको बताए । उनले एमाले विरोधीहरुले चलाएको हल्लाको सिंगो पार्टीले संस्थागत रूपमा प्रतिवाद गर्ने बताए ।

ज्ञवालीले भने– बैठकमा मैले नै के हो आत्मालोचनाको हल्ला भनेर सोधेँ । उहाँले नै लौ साथीहरू केपी ओलीको आलोचना गर्न पाइन्न भनेर हल्ला गरिएको छ बाहिर । तपाईँहरूका के कुरा छन्, मलाई केही भन्नु छ यहीँ बैठकमा भन्नुस् भन्नुभयो । हामी सबैले आफ्ना कुरा राख्यौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर