४० वर्ष यताका त्यस्ता घटना, जब रङ्गशालामा रक्तपात मच्चियो – Nepal Press

४० वर्ष यताका त्यस्ता घटना, जब रङ्गशालामा रक्तपात मच्चियो

काठमाडौं । इन्डोनेसियाको पूर्वी शहर मलङमा शनिवार राति घटेको घटना विश्व खेल इतिहासमा सम्भवतः सदाका लागि त्रासदीपूर्ण घटनाको रूपमा स्थापित भएको छ ।

बीआरआई लिग–१ अन्तर्गत अरेमा फुटबल क्लब र पर्सेबाया सुराबाया बिचकोको खेलमा अरेमा फुटबल क्लब सुराबायासँग ३—२ ले पराजित भएसँगै अरेबाका समर्थकहरुले मैदानमा आक्रमण सुरु गरेका थिए ।

सोही भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो । त्यसपछि सुरु भएको भाग दौडमा परी १ सय ७४ जनाको ज्यान गएको छ । १८० जना भन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउने मध्ये २ जना प्रहरी रहेको बताइएको छ ।

खेलको क्रममा घटेको यस किसिमको अप्रिय घटना यो पहिलो भने होइन । विगत चालिस वर्ष यता घटेका यस्तै केही घटनाहरूका दृष्टान्त यस प्रकार छन् ।

मार्च १९८८ , नेपाल

सन् १९८८मा दशरथ रंगशालामा खेलको बिचमा असिना परेपछि मच्चिएको भागदाैडमा परी ९० जना भन्दा बढीको ज्यान गएको थियो ।

जनवरी २०२२, केमरुन

कोमोरोससँगको अफ्रिका कप अफ नेशन्सको अन्तिम १६ को खेलअघि याउन्दे ओलेम्बे स्टेडियममा भएको भाग दौडमा कम्तीमा आठ जनाको मृत्यु भएको थियो भने ३८ जना घाइते भएको थिए ।

फेब्रुअरी २०१२, इजिप्ट

पोर्ट सइद शहरमा अल मास्री र अल अहली का फ्यानहरू बिच भएको दङ्गामा कम्तीमा ७३ जनाको मृत्यु भएको थियो भने १ हजार भन्दा बढी घाइते भएका थिए । सो घटनापछि इजिप्टियन लिगलाई दुई वर्षको लागि निलम्बन समेत गरिएको थियो ।

मार्च २००९, आइभेरी कोस्ट

मावलीविरुद्धको विश्वकप छनोट खेलअघि अबिडजानको फेलिक्स हाउफुएट—बोइग्नी रङ्गशालामा भाग दौड हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको थियो।

मे २००१, घाना

फ्यानहरूबिचको दङ्गा नियन्त्रणका लागि प्रहरीले अश्रु ग्यास प्रहार गर्दा १०० जना भन्दा बढीको ज्यान गएको थियो ।

अक्टोबर १९९६, ग्वाटेमाला

ग्वाटेमाला सिटीमा भएको विश्वकप छनोट खेलमा ग्वाटेमाला र कोस्टारिकाबीचको खेलमा ८० जना भन्दा बढीको मृत्यु भएको थियो ।

मे १९९२, फ्रान्स

ओलम्पिक डे मार्सेली विरुद्धको फ्रान्सेली कप सेमिफाइनल अघि बास्टियाको फुरियानी स्टेडियमको स्ट्यान्ड भाँचिदा १८ जनाको मृत्यु भएको थियो । २३ सय भन्दा बढी घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर