पदमुक्त सभामुखले छाडेनन् झण्डा र डण्डा, सचिवालयले असोजको तलब भत्ता नदिने – Nepal Press

पदमुक्त सभामुखले छाडेनन् झण्डा र डण्डा, सचिवालयले असोजको तलब भत्ता नदिने

काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिएपछि स्वतः पदमुक्त भएका सभामुख अग्नि प्रसाद सापकोटाले पदीय हैसियतमा प्राप्त सेवा सुविधा त्याग्न अस्वीकार गरेका छन् ।

संविधान बमोजिम प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनको अघिल्लो दिनबाट सभामुख र उपसभामुख पदमुक्त हुने भनिएको छ । त्यस अनुसार बन्द सूची पेश भएको असोज २ को अघिल्लो दिन अर्थात् असोज १ गते रातिदेखि सभामुख पदमुक्त भइसकेका छन् ।

तर सापकोटा आइतबार बडा दशैंको फूलपाती बढाइँका क्रममा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा आयोजित समारोहमा पनि सभामुखकै हैसियतमा सहभागी भए । उनी सभामुखको सरकारी गाडी बा १ झ ८२२९ नम्बरको सवारीमा थिए ।

सापकोटाले यसअघि सभामुखकै हैसियतमा व्यवस्थापन समिति बैठक बोलाएर कर्मचारीको सरुवा बढुवा गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।

यो पनि पढ्नुहाेस् : सेटिङको शासन- बहालवाला प्रधानन्यायाधीशलाई डण्डा, पदमुक्त सभामुखलाई झण्डा !

उनले निर्वाचन आयोगलाई पनि सभामुख र उपसभामुखको कार्यकाल कहिलेसम्म हो भनेर पत्र लेखेकोमा आयोगले बन्द सूची पेश भएपछि पदमुक्त भएको भन्दै यसको व्याख्या आयोगले नगर्ने बताएको थियो । सभामुखकोविरुद्ध सर्वोच्चमा रिट सुनुवाइकै क्रममा छ ।

यसैबीच संसद् सचिवालयले सभामुख सापकोटा र उपसभामुख पुष्पा भुसाललाई असोज १ गतेपछिको तलब भत्ता भने नदिने भएको छ ।

महालेखा र अख्तियारले समेत हेर्ने भएकाले बेरुजु मानिने सुविधा नदिइने सचिवालय स्रोतले जनाएको छ ।


प्रतिक्रिया

One thought on “पदमुक्त सभामुखले छाडेनन् झण्डा र डण्डा, सचिवालयले असोजको तलब भत्ता नदिने

  1. अहिलेका सभामुख जस्तो असंवैधानिक, अनैतिक, लोभी र पदमा भएर पनि पार्टीको झोले अरू कोहि देखिएन । माधव नेपालहरू बचाउन असंवैधानिक काम गरे । विपक्षीले बारम्बार कि सिफारिश कार्यान्वयन गर कि राजिनामा देउ भन्दा पनि केही नगर्ने अनैतिक, प्रचण्डले जे भन्यो त्यहि गर्ने पार्टीको झोले र कार्यकाल सकिईसकेपछि पनि गाडी र क्वाटर नछोडी अझै मै सभामुख हुँ भन्दै यताउता डुल्ने लोभी देखिए ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर