साफका रजत विजेता भट्टराईको डेंगुबाट निधन – Nepal Press

साफका रजत विजेता भट्टराईको डेंगुबाट निधन

काठमाडौं । आठौँ साफ खेलकुदमा बक्सिङ खेलमा रजत पदक जितेका रामकुमार भट्टराईको डेंगु संक्रमणबाट निधन भएको छ ।

५१ वर्षको उमेरमा महाराजगञ्जस्थित मनमोहन अस्पतालमा शुक्रवार बेलुकी उनले अन्तिम सास फेरेका हुन् ।

भट्टराई गत महिना मात्रै हृदयाघात भएर सोही अस्पताल भर्ना भएका थिए । मुटुका दुई भल्भ बन्द भएको अवस्थामा चिकित्सकले तत्काल शल्यक्रिया गरी स्टेन्ट राखेर उनको ज्यान बचाएका थिए ।

शल्यक्रियापछि घर फर्केर स्वास्थ्य लाभ गरिरहेका उनी एक साताअघि फेरि अस्वस्थ बनेको पारिवारिक स्रोतले बतायो । त्यसपछि पुनः मनमोहन अस्पताल ल्याएर भर्ना गरिएको थियो । अस्पताल पुग्नासाथ बेहोस भएका उनको स्वास्थ्य परीक्षण गर्दा डेंग संक्रमण देखिएको थियो ।

आइसीयूमा राखेर उपचार गरिए पनि उनको होस खुल्न सकेन । स्वास्थ्य अवस्था जटिल हुँदै तेस्रो दिनमै निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । शुक्रवार नै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ ।

भट्टराईले सन् १९९९ मा नेपालमै सम्पन्न भएको साफ खेलकुदमा बक्सिङको हेभिवेटतर्फ रजत पदक जितेका थिए । त्यसको केही समयपछि उनी खेलबाट अलग भए । हाल उनी व्यापार–व्यवसायमा संलग्न थिए ।

दुखद संयोग यो छ कि, सन् १९९९ को साफमा बक्सिङमै रजत पदक जितेका अर्का खेलाडी हरिबहादुर केसीको गत वर्ष कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *