नयाँ नोट र दसैँ, कति लाग्छ पैसा छाप्न ? – Nepal Press

नयाँ नोट र दसैँ, कति लाग्छ पैसा छाप्न ?

काठमाडौं । दसैँमा टीका, आशीर्वादसँगै दक्षिणा दिने चलन उहिल्यैदेखि छ । दसैँ भन्नेबित्तिकै नयाँ नोट पनि सँगसँगै आउँछ । आर्थिक चलायमान हुने पर्वका रूपमा पनि पर्छ दसैँ । सबैभन्दा उमंग भरिएको टीकाको दिन नयाँ नोटको प्रयोग बढी हुन्छ ।

नेपालमा राजा त्रिभुवन र राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा विक्रम सम्वत् २०२२ बाट कागजी नोट छापिएको थियो । त्यसअघि सिक्का चल्थ्यो । पहिलोपटक दसैँकै संघारमा नयाँ नोट बजारमा पठाइएको बताइन्छ ।

नयाँ नोट, नयाँ लुगा र मिष्ठान्न परिकार (विशेषगरी मांसाहारी परिकार) दसैँको विशेषता हो । ऋणै गरेर भएपनि दसैँमा मीठो खाने, राम्रो लाउने हाम्रो समाजमा छन् । नयाँ र पुरानो नोटको मूल्यमा कुनै फरक भने हुन्न । दसैँ सुरू हुनु एक महिनाअघि देखि नयाँ नोटका लागि बैंकमा लाम लाग्ने गरेको छ ।

दसैँ र नयाँ नोटबीच कुनै पनि सम्बन्ध नरहेको राष्ट्र बैंकका अधिकारी बताउँछन् । हाम्रै मनोविज्ञान दसैँमा सबैकुरा नयाँ भनेजस्तै नयाँ नोट भन्ने छाप परिसकेको छ । अत्यधिक प्रयोग हुने नयाँ नोट यतिबेला नै फोहोर समेत हुने गरेको छ । रातो अबिर, पानीलगायतले आयु घटाउने भएकाले नोटको सुरक्षाका लागि राष्ट्र बैंकले आग्रह गर्दै आएको छ ।

नयाँ नोट छाप्न कति खर्च लाग्छ त यहाँ हामीले चर्चा गर्न लागेका छौं । नेपाल राष्ट्र बैंकले यो दसैँका लागि हालसम्म ५, १०, २०, ५०, १०० गरी १० अर्ब वितरण गरिसकेको छ । बैंक दसैँमा पनि खुल्लै रहने भएकाले थप २ अर्ब बजारमा जाने अनुमान राष्ट्र बैंकको छ ।

केन्द्रीय बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले दसैँका लागि मात्र भनेर नयाँ नोट नछापिने तर एकपटक छापेको नोट साढे तीनवर्षसम्म रहने बताउँछन् ।

‘नेपाल राष्ट्र बैंकले बर्सेनि नयाँ नोट छाप्दैन, एकपटक छापेपछि त्यसले साढे तीन वर्षसम्म काम गर्छ’, उनले भने ।

नेपालका अनुसार ५ सय र हजार दरका नोट भने २० अर्ब रूपैयाँ वितरण भएको छ ।

कुन नोट छाप्दा कति लाग्छ ?

नेपालमा अहिले सातवटा डिनोमिनेसन ( ५, १०, २०, ५०, १००, ५०० र १००० रूपैयाँ) प्रचलनमा छ । एक हजार रूपैयाँको एउटा नोट छाप्न ३ रुपैयाँ ७ पैसा, ५०० रूपैयाँको छाप्न ४ रुपैयाँ ६८ पैसा, १०० रूपैयाँको एउटा नोट छाप्न २ रुपैयाँ ९९ पैसा, ५० रूपैयाँकोलाई २ रूपैयाँ ६२ पैसा, २० रूपैयाँदेखि तलका नोट छाप्न साढे २ रूपैयाँ टेण्डर मूल्य पर्छ । तर, सुरक्षा र दूरीका आधारमा नोटको लागत बढ्नसक्ने नेपालको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर