टीकाको चार दिनअघि नै तलेजु दसैंघरमा सवारी – Nepal Press

टीकाको चार दिनअघि नै तलेजु दसैंघरमा सवारी

भक्तपुर । भक्तपुरकी तलेजु भवानी आइतबार कुमारी चोकस्थित दसैंघरमा सवारी भएकी छन् । विजया दशमीको सप्तमी तिथिको बिहान १०ः०५ बजेको साइटमा मूलचोकका दक्षिणस्थित मूल देवघरमा रहेकी तलेजु भवानी दसैंघरमा सवारी भएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिइन् ।

उनका अनुसार मूल देवघरमा रहेकी तलेजुलाई दसैंघर सवारी हुने यात्रालाई तुलजा यात्रा भनिन्छ ।

बाजागाजासहित तुलजा यात्रा गराउन पुरानो लुगा (घाजी नङ) लगाएका पुजारीहरु (राजोपाध्याय, जोशी र कर्माचार्य) ले तलेजु भवानीलाई बोकेर कुमारी चोकस्थित दसैंघरमा स्थानान्तरण गरेका छन् । पञ्चाङ निर्णायक समितिको साइतअनुसार हरेक वर्षको सप्तमीको दिन तुलजा यात्रा हुँदै आएको छ ।

तुलजा यात्रापछि विभिन्न स्त्रोत्रसँगै वेद तथा चन्डी पाठ भएको मूल नाइके जोशीले जानकारी दिए ।

भक्तपुरसँगै काठमाडाैं, ललितपुरलगायतका तलेजु भवानी रहेकाे स्थानमा तुलजा यात्रा गराएर दसैंघर सवारी गराइने प्रचलन रहेकाे छ ।

सप्तमीमा तुलजा यात्रा गरी दसैंघरमा सवारी भएकी तलेजुलाई दशमीको दिन टीकाको साइतपछि टीका र जमरा ग्रहण गराएरमात्रै मूल देवघरमा फर्काइने नाइके जोशीले बताए । ‘दसैंको टीकापछि तलेजु भवानीलाई पुनः तुलजा यात्रा गराएरै दक्षिणस्थित मूल देवघरमा विराजमान गराइन्छ’, उनले भने ।

अष्टमातृकाभित्र पर्ने शक्तिदेवीहरुमध्ये तलेजु मूल देवी मानिन्छ । त्यसैले तलेजुमा सप्तमीको दिन हुने तुलजा यात्रामा सर्वसाधारणको भव्य उपस्थिति हुने गर्दै आएको छ ।

दसैंको महानवमीको दिन तलेजु भवानी रहेको दसैंघरमा जीवित देवी एकान्तकुमारीको पनि सवारी हुने प्रचलन छ । त्यस्तै विजया दशमीको राति तलेजुको पायो (खड्ग) जात्रा हुनेछ ।

पायो जात्रामा तलेजु भवानीको प्रतीकस्वरुप खड्गलाई सेतो घोडामा सवार गराएर भक्तपुर नगर परिक्रमा गराइन्छ । यस जात्रामा सर्वसाधारणको उल्लेखनीय सहभागिता हुँदै आएको छ ।

भक्तपुरमा दसैंको पहिलो दिनदेखि दशमीसम्म सर्वसाधारणहरु क्रमशः ब्रह्मायणी, माहेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरी शक्तिपीठमा नवरात जाने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर