देउवाले ३० प्रतिशत दिए प्रतिनिधिसभामा को-को छन् शेखर-गगन समूहका उम्मेदवार ? – Nepal Press
आमचुनाव

देउवाले ३० प्रतिशत दिए प्रतिनिधिसभामा को-को छन् शेखर-गगन समूहका उम्मेदवार ?

काठमाडौं । टिकट वितरणमा नेपाली कांग्रेसभित्र देखिएको विवादलाई समाधानका लागि छलफल भइरहेको छ । शेखर-गगन (शेखर कोइराला-गगन थापा) समूहले पार्टीको टिकट वितरणमा ४० प्रतिशत हिस्सा चाहिने भन्दै खबरदारी अभियान चलाइरहेका छन् ।

यही दबाबपछि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा केही लचक देखिएका छन् । समानुपातिक तर्फको बन्दसूची सच्याउनेदेखि लिएर प्रत्यक्षतर्फको टिकट बाँडफाँटमा पनि भागबण्डा दिन देउवा तयार भएका हुन् ।

स्रोतका अनुसार शेखर-गगन समूहलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ३०/३० प्रतिशत हिस्सा दिन उनी तयार भएका छन् । यद्यपि सहमति जुटाउन कोइरालासहितको कांग्रेस पदाधिकारीहरूको बैठक हिजोदेखि बसिरहेको छ ।

कांग्रेसले सत्तारूढ गठबन्धन दलबीचको भागबण्डामा ८५ सीट पाएको छ । यसबारे अन्तिम सहमति भने भइसकेको छैन । देउवाले शेखर पक्षलाई दिने भनेको ३० प्रतिशतको गणना टिकट वितरणमा पनि यही आँकडाका आधारमा तय हुनेछ ।

जसअनुसार ३० प्रतिशत मान्ने हो भने प्रतिनिधिसभाका २५ सीट शेखर-गगन समूहले पाउने देखिन्छ ।

जसमध्ये १२ सीट शेखर-गगन समूहले पाउने लगभग निश्चित नै छ । त्यसबाहेक थप १३ सीटमा शेखर-गगन समूहका नेताहरूले उम्मेदवारी पाउनेछन् ।

पक्कापक्की १२ सीट र उम्मेदवार

शेखर-गगन समूहका नेताहरूले पाउने पक्कापक्की भएका क्षेत्रहरूमा मोरङका ३ क्षेत्र छन् । जसमा मोरङ-१ मा जिल्ला सभापति डिकबहादुर लिम्बु फेरि उम्मेदवार बन्ने देखिएका छन् । उनी अघिल्लो पटक एमालेका घनश्याम खतिवडासँग पराजित भएका थिए ।

यस्तै मोरङ-३ मा मेडिकल व्यवसायी सुनिल शर्मालाई शेखर समूहले उम्मेदवार बनाउने देखिन्छ । अघिल्लो पटक एमालेका भानुभक्त ढकालसँग पराजित भएका उनी यसपटक यहाँबाट एक्लै सिफारिस भएका छन् ।

यस्तै मोरङ-६ शेखर कोइराला आफै उम्मेदवार बन्दैछन् । उनी अघिल्लो पटक एमालेका लालबाबु पण्डितसँग पराजित भएका थिए ।

उता मधेस प्रदेशमा सप्तरी-४ तेजुलाल चौधरी निश्चित जस्तै छन् । उनी अघिल्लो पटकका निर्वाचित सांसद हुन् । यस्तै महोत्तरी-२ अघिल्लो पटक पराजित किरण यादव फेरि उम्मेदवार बन्दैछिन् ।

वागमती प्रदेशबाट काठमाडौं-४ मा गगन थापा यो समूहबाट निश्चित रहेका एकमात्र उम्मेदवार हुन् ।

गण्डकीमा स्याङ्जा-२ बाट उपसभापति धनराज गुरुङ यसपटक उम्मेदवार बन्ने देखिएका छन् । पूर्वउपसभापति गोपालमान श्रेष्ठ समानुपातिकमा परेपछि गुरुङको उम्मेदवारी यहाँ निश्चित भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा गुल्मी-१ बाट चन्द्र भण्डारी र वर्दिया-१ बाट सञ्जय गौतम उम्मेदवार बन्नेछन् । तर, गौतमलाई भने उनकै समूहमा रहेका नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्माले रोक्ने सम्भावना छ । शेखर-गगन समूहमा गौतमभन्दा शर्मा बढी निकट रहेको मानिन्छ ।

कर्णाली प्रदेशको सुर्खेत-२ मा हृदयराम थानी उम्मेदवार बन्नेछन् भने सुदूरपश्चिम प्रदेशमा दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र बाजुरामा पार्टी सहमहामन्त्री बद्री पाण्डे उम्मेदवार बन्ने निश्चित छ ।

अनिश्चित ! तर, पाउनसक्ने उम्मेदवार

आन्तरिक भागबण्डामा ३० प्रतिशत नै भएपनि थप १३ सीट शेखर-गगन समूहले पाउने देखिन्छ । जसका लाागि १५ सीटमा यो समूहका नेताको दाबी छ ।

प्रदेश-१ को मोरङ-२ डा. मिनेन्द्र रिजालले बलियो दाबी पेस गरिरहेका छन् । उनी अघिल्लो पटक यही क्षेत्रबाट निर्वाचित सांसद हुन् । यो क्षेत्रमा अहिले गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइरालाले दाबी गरेका कारण रिजाललाई कठिनाइ भइरहेको छ ।

उता सुनसरी-२ मा केन्द्रीय सदस्य राजीव कोइरालाले दाबी गरिरहेका छन् । उनका लागि बाधक २०७४ मा निर्वाचित सांसद सीताराम मेहता र नेविसंघका पूर्व अध्यक्ष राजीव ढुंगाना देखिएका छन् । कोइराला यसअघि सोही क्षेत्रको प्रदेशसभा सीटमा जितेका थिए ।

मधेस प्रदेशमा धनुषा-२ मा पूर्वमन्त्री रामकृष्ण यादवको दाबी छ । उनी शेखर-गगन समूहबाट सहमहामन्त्रीका उम्मेदवार थिए । यद्यपि यो क्षेत्र नेकपा एस र जसपाको पनि दाबी कायमै छ । सिरहामा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले पनि दाबी गरिरहेका छन् । यहाँ क्षेत्र नम्बर १ र २ कांग्रेसको भागमा परेको छ ।

यस्तै सर्लाही-४ मा अघिल्लो पटक निर्वाचित सांसद अमरेशकुमार सिंहलाई पार्टीका तल्ला समितिहरूले नाम नै सिफारिस गरेको छैन् । यद्यपि यो समूहले सिंहलाई नै त्यहाँ उम्मेदवार बनाउनुपर्ने माग गर्दै आएको छ । कतिपयले सोही क्षेत्रमा उम्मेदवार बनाउनेगरी लोसपाकी चन्दा चौधरीलाई कांग्रेस प्रवेश गराइएको बताएका छन् ।

वागमती प्रदेशबाट काभ्रे-२ मा मधु आचार्यको दाबी छ । यहाँ अघिल्लो पटक उनी एमालेका गोकुल बाँस्कोटासँग पराजित भएका थिए । तर, कृष्ण सिटौलाले सो क्षेत्रमा शिव हुमागाईलाई टिकट दिलाउन खोजेका छन् ।

नुवाकोट-२ मा अर्जुननरसिंह केसीको जबरजस्त दाबी छ । अघिल्लो पटक एमालेका नारायण खतिवडासँग पराजित भएका उनी फेरि यसपटक उम्मेदवार हुने चाहनामा छन् । यो क्षेत्रमा संस्थापनपक्षीय बहादुरसिंह लामाको पनि बलियो दाबी छ ।

यस्तै सिन्धुपाल्चोक-२ मा शेखर-गगन पक्षीय विकास लामा, गुण्डागर्दी र हत्या अभियोगमा जेल परेर निस्केका राजु गोर्खाली र वंशलाल तामाङको दाबी छ । तर, मोहन बस्नेत २ मा आउन चाहे उनैले पाउनेछन् ।

उता धादिङ-२ मा यो पक्षका जिल्ला सभापति रामनाथ अधिकारी र रमेश धमलाको दाबी छ । यहाँ संस्थापन पक्षीय दिलमान पाख्रिनको सम्भावना बलियो छ । उनी अघिल्लो पटक पराजित उम्मेदवार पनि हुन् ।

गण्डकी प्रदेशका थप ३ क्षेत्रमा शेखर-गगन पक्षीय उम्मेदवारको बलियो दाबी छ । जसमध्ये गोरखा-१ मा राजेन्द्र बजगाईँको दाबी छ । यहाँ संस्थापनपक्षीय केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले दाबी गरे पनि बजगाईँको सम्भावना बढी छ ।

यस्तै कास्की-१ मा शेखर-गगन समूहका यज्ञबहादुर थापाका लागि टिकट माग गरिएको छ । यद्यपि उनको सम्भावना कम देखिन्छ । कास्की १ माओवादी केन्द्रले पाउने बढी सम्भावना रहेकाले अब कास्की ३ मा नेपाली कांग्रेसले पाउँदा शेखर गगन समूहबाट बाबुराम आचार्य दाबेदार हुन् । पोखरा महानगरपालिकाको मेयरको दाबी गरेका आचार्य नेकपा एसको भागमा सो पालिका परेपछि उम्मेदवार बन्न पाएका थिएनन् ।

यस्तै पर्वतमा शेखर-गगन पक्षीय ऋषिकेश तिवारीको दाबी छ । यहाँ अघिल्लो पटक अहिलेका प्रदेश सभापति अर्जुनप्रसाद जोशी पराजित भएका थिए ।

लुम्बिनी प्रदेशको रुपन्देही-४ मा प्रमोद यादवको दाबी छ । उनी अघिल्लो पटक निर्वाचित सांसद पनि हुन् । यहाँ उनको एकल सिफारिस भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर