हराउँदै रातोमाटो र कमेराे लिपपोत गर्ने चलन – Nepal Press
गाउँमै हराउँदै छन् दशैँका मौलिक संस्कृतिः

हराउँदै रातोमाटो र कमेराे लिपपोत गर्ने चलन

रुपन्देही । पहिले दशैंको मुख्य काम भनेको घरगोढ लिपपोत गर्ने, बाटोघाटो चौडा बनाउने अनि केही साता अगाडिबाट नै यसको तयारी गर्ने अधिकांशको जिम्मेवारी हुन्थ्यो । तर अहिले धेरैको यो परम्परा फेरिएको छ । बडादशैं घर आगनमा आइसकेको छ । सोह्र श्राद्ध समाप्त भएर नवदुर्गा आरम्भ हुने वित्तिकै दसैं सुरु भए पनि दशैंको रौनक र मौलिकता भने अहिले धेरै फेरिएको छ ।

पाका पुस्ताहरुको अनुभवमा दशैंको पूर्व तयारी सुरु हुने वित्तिकै गरिने पहिलो काम भनेको घर आगनको लिपपोत, सरसफाइ हो ।

रातोमाटो र कमेरोले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राखेसँगै दसैँको उत्सव सुरु हुने गर्दथ्यो । तर केही वर्षयता रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएपछि रातोमाटो र कमेराेका मड्किना (माटो निकालिने ठाउँ) पुरिदै गएका छन् । अहिले यसै पनि पहाडी क्षेत्रमा जनसंख्या कम हुँदै गएको छ भने भएकाहरु पनि धेरै कामकाजी भएर बसेका छैनन् ।

गाउँमा विकास र सुविधासँगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको हो । पहाडी ग्रामीण भेगका अधिकांश घर पनि सिमेन्टले प्लास्टर गरेर लिपपोत गर्नै नपर्ने किसिमका बनाइएकाले पनि यस्तो संस्कृति हराउँदै गएको गुल्मीको रेसुङ्गाका ८२ वर्षीय डिलाराम खनाल बताउँछन् ।

 

त्यसो त बजारमा आयातित रङ किनेर घर रङ्गाउने चलन सुरु भएपछि कमेरो र रातोमाटोले घर पोत्ने चलन हराउँदै गएको उनको अनुभव छ ।
अर्घाखाँचीको मालारानीका ७८ वर्षीय सुमन विश्वकर्मा धेरै युवा पुस्ता रोजगारको लागि गाउँभन्दा बाहिरै बस्ने र पाकापुस्ताको काम गर्ने क्षमता कमजोर भएकाले पनि यस्ता परम्पराहरु हराउँदै गएका हुन् ।

उनीहरुका अनुसार एक समय थियो, दसैँ भित्रिदै गर्दा रातोमाटो र कमेरोले घर आगन लिपपोत गरी घर चिटिक्क बनाइन्थ्यो । गाउँका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो ।

बाबियोले बाटेको लिङ्गे पिङ र स्थानीय काठबाट निर्माण गरिन्थ्यो, रोटे पिङ लगाइन्थ्यो, अनि गाउँभरिका सबै भेला भएर रमाउने गरिन्थ्यो । अहिले यी सबै चलन हराउँदै गएकाले दशैंको मौलिकता नै नासिएको स्थानीयवासीको भनाइ रहेको छ । दशैंमा घर लिपपोत गर्नका लागि रातोमाटो र कमेरो लिन दुई तीन दिनको बाटो हिँडेर विभिन्न स्थानमा पुग्ने चलन अहिले पूरै हराएको छ ।

दशैं सुरु हुनुभन्दा चार पाँच दिन अघिदेखि नै रातोमाटो र कमेरोका खानीमा स्कुलका विद्यार्थीदेखि गृहिणीको भीडले माटो र कमेरो निकाल्न पालो कुर्नुपथ्र्यो । तर, अहिले माटो लिन जानेको सङ्ख्या नगन्य रहेको छ ।

त्यसैगरी दशैंका लागि आवश्यक पर्ने चिउरा चामल आदि खाद्यान्न ढिकी जातोमा कुट्ने, पिध्ने गरिन्थ्यो । तर अहिले यी सबै चलन एकादेशको कथामा परिणत भएका छन् ।

गाउँघरमा ढिँकीजाँतोमा अन्न कुट्ने पिध्ने चलन हराएको छ । ढिँकीजाँतोदेखि नै छोडेका छन् । दशैंमा यी प्रचलन सबै लोप हुँदै गएका छन् । दशैं पहिलेको भन्दा महँगो र पृथक बन्दै गएकोे अर्घाखाँची पाणिनिका गणेश घिमिरेले बताए । रातो माटो र कमेरोले लिपपोत गर्ने घरमा अहिले आयातित विभिन्न कलर(रङ)लगाउन थालिएको छ ।

प्रत्येक घरबाट एकएकजना सदस्य अनिवार्य उपस्थित भएर श्रमदान गरी गरिने बाटोघाटोको सरसफाइ गर्न छोडिएको छ । गोरेटो बाटो पुरिँदै गएका छन्, मोटरबाटो डोजर लगाएर सफा गर्न थालिएको छ । त्यस्तै पिङ लोप हुँदै गएका छन् । दसै‌ँका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न बजारमै पाइने हुँदा ढिँकीजाँतोमा कुटानीपिसानी गर्न छोडिएको छ ।

दसैँको मौलिकता नै हराउँदै गएको छ, मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दशैं पनि महँगो बन्दै गएको स्थानीयवासीको बुझाइ रहेको छ । पहिला–पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दशैं मनाइन्थ्यो । अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दशैं दशा बन्न थालेको वुद्धिजीवीले बताएका छन् । रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दशैंको आभाष हुने गरेको थियो ।अहिले त पूरै हराइसकेको रहेछ– काठमाण्डौबाट गुल्मीको पिपलधारा जन्मघर पुगेका शोभाखर खनाल बताउँछन् ।

हराउँदै रोटे पिङ
एक जमाना थियो, दशैं आएपछि गाँउघरमा अनिवार्य पिङ हालिन्थ्यो । पिपलकारुखहरु भएका ठाँउमा रुखमै पिङ झुण्ड्याइन्थ्यो भने कतिपय ठाँउमा लिङ्गे पिङ होलन्थ्यो ।

५ दशक पहिले सम्म चर्खे पिङ हाल्ने चलन पनि थियो । भिरबाट बाबियो काटेर ल्याउने गाँउघरका सम्मो स्थानमा बाबियोको डोरी (कतै कतै लट्ठो पनि भनिन्छ) बाट्ने । बाँसका लिङ्गो गाड्ने र पिङ झुण्ड्याउने । युवा, केटाकेटीहरुलाई भ्याई नभ्याई हुन्थ्यो ।समय बित्दै जाँदा नयाँ पुस्तो पिङ भनेको एकादेशको दन्त्य कथा जस्तै बनेको छ ।

नयाँ पुस्ताका अधिकांस युवाहरुलाई पिङ केहो ? कसरी बन्छ ? मच्चिँदा कति मज्जा आउँछ ? कुनै मतलव हुने गर्दैन । फुर्सदमा पब्जी, टिकटक, फेसबुक र ट्युटर नै संसार सम्झेने युवाहरुको जमात हरेक दिन बढ्दै गएको छ ।

नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ । विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ ।

अहिले बजार तथा शहरी क्षेत्रबाट दशैमा जन्मघर जानेहरु पुनः अर्को पर्वबिना फर्कने योजना नै नबनाएका कारण यस्ता समस्या बढ्दै गएका हुन् ।शहर बजारमा त होडबाजीका साथ बनेका कंक्रिटका महलहरुले पिङ हाल्ने मिल्ने स्थानको समेत अभाव हुँदै गएको छ । सार्वजनिक जग्गा मिच्ने होड र खुल्ला स्थान रहन नदिने प्रबृत्तिले खुल्ला हावा खान समेत शहरमा मुस्किल हुँदै गएको छ ।

शहरमा पिङ संस्कृति लोप हुँदै गएको अवस्थामा केही स्थानमा युवाहरुले भने लिङ्गे पिङ गाडेर परम्परा जोगाएका छन् । यसरी पिङ हालेपछि वषौंदेखि पिङ खेल्न नपाएका जेष्ठ नागरिकदेखि युवा र बालबालिकाहरु पिङमा रमाउन पाएका छन् तर गाउँमा भने यिनै सामान्य पिङहरु पनि भेटाउन मुस्किल रहेको काठमाडौंबाट धुर्कोट पुगेका युवा सुरज खनालले बताए ।

युवा पिँढी, बालबालिका कोठामै रमाउने, घरबाहिर ननिस्कने र मनोरन्जनका सबै साधनहरु मोबाइल, ट्याव र कम्प्युटरमै प्राप्त हुने गरेकाले पिङ संस्कृति पछि पर्दै गएको संस्कृतिविद् राजेन्द्रकुमार आचार्य चिन्ता व्यक्त गर्दछन् ।

गाँउघरमा साउनमा घाँसकाटन जाँदा नै दसैंमा पिङका लागि भन्दै बाबियो छुट्याउने, काटेर सुकाउने र ३ वटा लहर बनाएर मोटो डोरी बाट्ने गरेको स्मरण गर्दै उनले हरियो बाबियोले लत्ठो बात्दा झोर्लिन्छ भने बाबियो सुकाउने गरिएको सम्झन्छन् ।

गाँउघरमा भेटघाट र सुखदुख बाँड्ने स्थान नै पिङ खेल्ने ठांउमा हुने गरेको उनले सम्झन्छन् । ‘उहिलेका जमानामा हवाई जहाज थिएन, वर्षमा एक पटक भुँई छाड्नु पर्छ भनिन्थ्यो,’ उनी भन्छन्– ‘त्यसैका लागि पनि पिङ खेल्नेहरुको भिड लाग्थ्यो ।’

मुख्य चाडपर्वका यस्ता महत्व बोकेका संस्कृतिलाई जोगाउन स्थानीय पालिकाहरुले लगानी गर्नुपर्ने र स्थानीय युवा, आमा समूह, क्लवहरुलाई प्रेरित गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर