देव गुरुङलाई कास्की १ र लमजुङमध्ये कहाँ सहज ? – Nepal Press

देव गुरुङलाई कास्की १ र लमजुङमध्ये कहाँ सहज ?

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रका महासचिव देव गुरुङ आगामी चुनावमा लमजुङबाट लड्न चाहन्छन् ।

अघिल्लो चुनावमा पनि वाम गठबन्धनबाट लमजुङबाट विजयी भएका गुरुङ मंसिर ४ मा हुने चुनावमा यहीँबाट नै निर्वाचन लड्ने मनस्थितिमा देखिन्छन् ।

‘लमजुङमा केही वर्ष बसेर काम गरेको र जनसम्पर्क पनि त्यहीँ राम्रो भएकाले म लमजुङबाट उठ्ने इच्छा छ,’ शनिवार पोखरामा आयोजित एक कार्यक्रम पनि गुरुङले भने ।

गुरुङको नाम कास्की–१ र लमजुङबाट सिफारिस भए पनि उनी लमजुङमै चुनाव लड्न चाहन्छन् ।

२०६४ को चुनावमा कास्की–१ बाट निर्वाचित गुरुङले २०७० को चुनाव भने बहिष्कार गरेका थिए । २०७४ को चुनावमा वाम गठबन्धनबाट उनी लमजुङमा नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई ८ हजार ४ सय मतान्तरले हराएका थिए । तर, आगामी चुनावमा भने गुरुङलाई यहाँबाट चुनाव जित्न हम्मे हम्मे पर्ने देखिन्छ ।

अघिल्लो पटक नेकपा एमालेको साथ पाएर चुनावमा सहज जित हात पारेका देव गुरुङलाई अहिले नेकपा एमाले नै चुनाव जित्न बाधक बन्ने देखिन्छ ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले पनि गुरुङलाई चुनाव जित्न सहज नहुने देखाउँछ । स्थानीय तह निर्वाचनमा लमजुङका ८ मध्ये ४ पालिकामा एमालेले एकल रूपमा जितेको छ । बाँकी ४ मा ३ नेपाली कांग्रेस र १ मा माओवादी केन्द्रले जितेको छ ।

सो चुनावमा लमजुङ भर १ लाख ३१ हजार ४९४ मतदाता थिए । स्थानीय तह प्रमुखको चुनावमा नेकपा एमाले एक्लैको मत गठबन्धनको मत भन्दा बढी छ ।

नेकपा एमालेले ८ पालिकाको प्रमुखमा कुल ४२ हजार ७२१ मत पाएको थियो । यता, गठबन्धनका दलमध्ये नेपाली कांग्रेसको ३६ हजार ४१२ मत हो भने माओवादी केन्द्रको मत ४ हजार ६५१ प्राप्त मत हो । नेकपा एमाले र गठबन्धनको प्राप्त मतको अन्तर १ हजार ६५८ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लाभर ८२९ मत पाएको थियो ।

स्थानीय तह चुनावको मत परिणामले त्यहाँ माओवादीको उपस्थिति कमजोर देखिन्छ । माओवादी एक्लैको मत कम हुनु र एमाले एक्लैले ४ पालिका जित्नुले लमजुङमा देव गुरुङलाई अबको चुनावमा जित्न सहज नहुने देखिन्छ ।

एमालेले अहिले सो क्षेत्रमा संविधान सभा सदस्य जमिन्द्रमान घले वा एमाले जिल्ला सचिव सुवास पौडेलको नाम सिफारिस गरेको छ । चुनावमा जमिन्द्रमान घले नै लड्ने निश्चित प्राय छ । जमिन्द्रमान घले उम्मेदवार बने भने देव गुरुङलाई झनै अप्ठेरो पर्ने छ ।

लमजुङका कांग्रेसले घलेलाई छाडेर देव गुरुङलाई भोट नदिने त्यहाँका लमजुङ मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ बताउँछन् ।

‘जमिन्द्रजी गाविस अध्यक्ष, जिविस अध्यक्ष, संविधान सभा सदस्य भएर काम गरिसक्नु भएको छ, कांग्रेसबाटै एक खालको समर्थन उहाँले पाउनुहुन्छ,’ उनले भने, ‘देवजी तल्लो तहमा भिज्नुभएकै छैन, जनयुद्धका बेला लमजुङ कमान्ड सम्हाल्दैमा कांग्रेसले भोट दिँदैन, अघिल्लो पटक जित्नुले पनि तात्त्विक फरक पारेको छैन ।’

आगामी चुनावमा जमिन्द्रमानले देवलाई ५ हजार बढी मतान्तरले हराउने एमाले लमजुङको अनुमान छ । गठबन्धनका दलले नै क्रस गरेर जमिन्द्रमानलाई मत दिनेमा उनीहरू आशावादी छन् ।

‘कांग्रेसका अगुवा नेताले जमिन्द्रजीको योगदान नकारेर देव गुरुङलाई भोट दिँदैनौँ भन्नुहुन्छ । ५ हजार बढी मतले जित्छौँ,’ गुरुङले भने ।

यता देव गुरुङ भने लमजुङमा आफ्नो जनसम्पर्क भएकाले निर्वाचन सहज हुने बताउँछन् । अघिल्लो पटक निर्वाचित भएपछि लमजुङमा जनसेवाको काम गरेकाले रोज्नुपरे लमजुङ नै रोज्ने तर्क उनको छ ।

‘मैले त्यहाँ काम जनसेवाको काम गर्दै आएकाले लड्नै परे लमजुङमा होला, निर्णय शीर्ष नेताले गरे पनि मेरो रोजाइ लमजुङ नै हुन्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर