बाङ्गेमुढामा खबरदारी सभा हुँदै, बालेनले नेवा: सभ्यतामाथि डोजर चलाएको आरोप (भिडिओ) – Nepal Press

बाङ्गेमुढामा खबरदारी सभा हुँदै, बालेनले नेवा: सभ्यतामाथि डोजर चलाएको आरोप (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेवा: सभ्यता र संस्कृतिमाथि नै डोजर चलाएर आतंकित बनाएको भन्दै ‘कोर सिटी’का नेवार समुदाय आन्दोलनमा उत्रिने भएका छन् ।

टुकुचाको डेढ सय वर्ष पूरानो सुरुङ भत्काएपछि असन र बाङ्गेमुढामा आक्रमण गरिएको भन्दै स्थानीयले आज साँझ बाङ्गेमुढा चोकमा खबरदारी सभा आयोजना गरेका छन् ।

बाङ्गेमुढाको त्वाःछेँ भवन (सामुदायिक भवन) महानगरपालिकाले शुक्रवार डोजर लगाएर भत्काएपछि यहाँका स्थानीय विरोधमा उत्रिएका हुन् । वडा भवन बनाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदारहँदै महानगरपालिकाले जबरजस्ती भत्काइदिएको विरोधमा बाङ्गेमुढाका स्थानीय बासिन्दाबाट आज साँझ ५ बजे बाङ्गेमुढा चोकमा खबरदारी सभा आयोजना गरिएको भाषा अभियन्ता विराजकाजी राजोपाध्यायले बताए ।

उनका अनुसार ४५ वर्षअघि स्थानीयले बनाएको सामुदायिक भवन नभत्काउन आग्रह गर्ने ८२ वर्षका वृद्धलाई समेत प्रहरी लगाएर लछारपछार गरिएको थियो । त्यस बेला २५ नम्बर वडाका वडाध्यक्ष राजेश डंगोल पनि थिए ।

उनले भने– ८२ वर्षको बुढो मान्छे, नसकी नसकी आएर यो भवन नभत्काऊ, हामीले दुःख गरी बनाएको भन्न आउँदा वडाध्यक्षले वास्ता पनि गरेनन् । नगर प्रहरीले लछार पछार गर्‍यो,अरूमाथि दुर्व्यवहार भयो र अदालतमा विचाराधीन रहेको कुरालाई समेत बेवास्ता गरियो ।

डोजरसँगै आएका एक हुल अपरिचित बाहिरिया व्यक्तिहरूले स्थानीयलाई गालीगलौज गर्दै बालेन जिन्दावादको नारा लगाएर हिँडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर