कांग्रेसमा सिटौलाको शक्ति- प्रतिनिधि सभामा ६ सीट दाबी, प्रदेशमा पनि भाग पाउने – Nepal Press

कांग्रेसमा सिटौलाको शक्ति- प्रतिनिधि सभामा ६ सीट दाबी, प्रदेशमा पनि भाग पाउने

काठमाडौं । नेपाली कांग्रेसभित्र समानुपातिक र प्रत्यक्ष दुवैतर्फ ४० प्रतिशत सीट मागेर विद्रोहको चेतावनी दिइरहेका बेला सीट बाँडफाँट कार्यदल संयोजक समेत रहेका कृष्ण सिटौलाले प्रतिनिधि सभामै कम्तीमा ५ उम्मेदवार आफ्नो समूहबाट पार्ने भएका छन् ।

१३ औँ महाधिवेशनमा सभापति उठेर पराजित भएपछि दोस्रो चरणमा शेरबहादुर देउवालाई साथ दिएका सिटौलाले त्यसयता सबैतिर आफ्नो गुटलाई भाग लिइरहेका छन् । देशभर थोरै र चिनिएका नेताहरुमात्र उनको समूहमा रहेकाले उनलाई फाइदा समेत भएको छ ।

यस पटक शेखर गगन समूहले १२–१५ सीट पाउन संघर्ष गरिरहेका बेला सिटौलाले भने आफैं भान्से बसेर आफू निकट नेताहरूको व्यवस्थापन गर्दैछन् । स्रोतका अनुसार सिटौलाले आफूसहित ६ जना नेतालाई प्रतिनिधिसभा र करिब दर्जन बढी नेतालाई प्रदेश सभामा टिकट दिलाउँदै छन् ।

सिटौला आफैँ झापा ३ बाट उम्मेदवार बन्दैछन् । उनको समूहका सह महामन्त्री उमाकान्त चौधरी बारा १ बाट उम्मेदवार बन्नेछन् भने महामन्त्रीमा पराजित भएका प्रदीप पौडेललाई तनहुँ २ बाट टिकट दिलाउन सिटौला लागिपरेका छन् ।

सो क्षेत्रबाट टिकटका मुख्य दाबेदार देउवा पक्षका शंकर भण्डारीलाई मुख्यमन्त्रीका लागि प्रदेशमा पठाएर प्रदीपलाई संघको टिकट दिलाउन सिटौला लागेका छन् । त्यसैले काठमाडौं ५ वा ७ मा उठ्ने चर्चा चलेका पौडेल अहिले तनहुँमै केन्द्रित छन् । उनी २०७४ सालमा प्रदेशसभा सदस्य उम्मेदवार बनेर ६ मतले पराजित भएका थिए ।

सिटौला समूहका शिव हुमागाईँले काभ्रे २ मा टिकट पाउने लगभग निश्चित भएको कांग्रेस स्रोतले जनाएको छ । यसअघि गोकुल बास्कोटासँग पराजित भएका मधु आचार्य केन्द्रीय सदस्य भए पनि शेखर गगन समूहमा रहेका कारण उनको टिकट हुमागाईँले खोस्ने देखिएको छ ।

सिटौला समूहका भीमसेनदास प्रधान काठमाडौं ६ मा चौथो पटक प्रतिस्पर्धा गर्दैछन् । सो क्षेत्रमा प्रकाशमान सिंह समूहका सबुज बानिया पनि दाबेदार हुन् । तर सिटौला पक्षका प्रधान नै फेरि उम्मेदवार बन्ने देखिएको छ ।

सिटौलाले दोलखाको प्रतिनिधिसभाको सीट कांग्रेसमा आउँदा कुन्दन काफ्लेलाई टिकट दिलाउन प्रयास गरेका छन् । तर रामेछाप कांग्रेसले लिएर दोलखा माओवादीलाई छाडेको खण्डमा काफ्ले टिकटबाट वञ्चित हुनेछन् ।

सिटौला समूहमा रहेका संखुवासभाका तारामान गुरुङ, झापाका उद्धव थापा, मोरङका भीम पराजुली, चितवनका दिनेश कोइराला, कालिकोटमा हर्ष बम लगायतलाई प्रदेशमा व्यवस्थापन गर्ने प्रयास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर