प्रदेशसभा चुनाव लड्न द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्दै, इटहरीबाट काठमाडौं हिँडे – Nepal Press

प्रदेशसभा चुनाव लड्न द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्दै, इटहरीबाट काठमाडौं हिँडे

इटहरी । नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि इटहरी उपमहानगरपालिका पूर्व मेयरद्वारिकलालचौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने भएका छन् ।

प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेश गर्न चौधरी केही माओवादी नेताहरुसँगै काठमाडौं हिँडेका छन् । पूर्व मेयर चौधरीलाई आइतबार खुमलटारबाटै प्रवेश गराउने तयारी रहेको सुनसरीका एक माओवादी नेताले बताए ।

चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएकाले एमालेले टिकट दिएन । त्यसपछि पनि संसदीय चुनावमा प्रदेशसभा भए पनि खाने भनेर बसेका चौधरीले त्यो संकेत नपाएपछि माओवादीबाट उम्मेदवार बन्न लागेका हुन् ।

सोही क्षेत्रबाट माओवादीका सम्भावित उम्मेदवार समेत रहेका नेता शिव डाँगीले चौधरीलाई पार्टी प्रवेश गराएर टिकट दिने सम्भावना रहेको बताए । चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् । सो क्षेत्रमा यसअघि एमालेका सर्वध्वज साँवाले जितेका थिए ।

गठबन्धनमा प्रतिनिधिसभाको सीट कांग्रेसको भागमा परेको छ । प्रदेशसभातर्फ पनि सो क्षेत्रका ख बाट कांग्रेसका राजीव कोइरालाले जितेका थिए । प्रदेशसभा क तर्फ नेकपा एसले पनि दावी गरेको छ ।

इटहरी उपमहानगरपालिकाका वडा समेटिएको सो क्षेत्रमा माओवादी र नेकपा एस दुवै कमजोर छन् । उपमहानगरपालिकामा गठबन्धन गरेर चुनाव लड्दा पनि कांग्रेसले मेयर जित्दा नेकपा एसले उपमेयर भारी मतले हारेको थियो । दुवै पार्टीले एउटा वडा सदस्य पनि जित्न सकेका छैनन् । नगरसभामा एमालेको वहुमत छ भने नेकपा एस र माओवादी नील छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर