माधव नेपालको क्षेत्रका पूर्वमेयर थापाद्वारा नेकपा एस परित्यागको घोषणा – Nepal Press

माधव नेपालको क्षेत्रका पूर्वमेयर थापाद्वारा नेकपा एस परित्यागको घोषणा

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापाले नेकपा एस छाडेका छन् । कागेश्वरी माधव नेपालको क्षेत्र हो । नेता नेपालको विश्वास पात्र मानिएका थापा गत स्थानीय चुनावदेखि नै नेतृत्वप्रति असन्तुष्ट थिए ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना दिँदै उनले आजकै मितिबाट पार्टीको कुनै पदमा नरहेको घोषणा गरेका हुन् ।

‘आज मिति २०७९ आश्विन १५ गते (१ अक्टोवर २०२२) गतेदेखि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत गठबन्धनवादी) को कुनै पनि पदमा नरहेको सबैमा जानकारी गराउँदछु ‘, थापाले लेखेका छन् ।

उनी नेकपा एसका केन्द्रीय लेखा आयोग सदस्यसमेत रहेका थापा काठमाडौं-२ का प्रभावशाली नेता मानिन्छन् । ७४ मा उनी एमालेबाट मेयर निर्वाचित भएका थिए ।

गत वैशाखको स्थानीय चुनावमा यहाँ नेकपा एसलाई बाहिर राखेर कांग्रेस-माओवादीले मात्र तालमेल गरेका थिए । आफ्नै क्षेत्रमा नेकपा एसलाई दिलाउन नसकेको भन्दै उनी नेपालसँग असन्तुष्ट थिए । एक्लै मेयर उठेका थापा ३५५६ मतका साथ तेस्रो भएका थिए । माधव नेपालले कांग्रेससँग गठबन्धन गरेर वाम आन्दोलनलाई धोका दिएको उनको गुनासो छ ।

आसन्न मंसिर ४ को चुनावमा पनि नेपालले यो क्षेत्र छाडेर रौतहट जाने तयारी गरेको तथा ७४ जितेको हिसाबले अहिले स्वत: मापदण्डमा पर्ने भएपनि अहिले पनि टिकट गुम्ने भएपछि उनले पार्टी नै छाड्ने निर्णय गरेको निकट स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर