राजन भट्टराईको दावी- सरकार ढाल्न तत्कालीन नेकपाका नेताहरु विपक्षी र विदेशीसँग मिले (भिडिओ) – Nepal Press

राजन भट्टराईको दावी- सरकार ढाल्न तत्कालीन नेकपाका नेताहरु विपक्षी र विदेशीसँग मिले (भिडिओ)

‘हाम्रो सरकारलाई पार्टीभित्रैबाट घेराबन्दी गरेर स्थिरता र विकासको अभियान रोकियो’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा।राजन भट्टराईले ५ वर्षमा स्थिर सरकार चलाएर मुलुकलाई विकासको बाटोमा लैजाने प्रयासमा तत्कालीन नेकपाभित्रैबाट अवरोध भएकाले केपी ओलीले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियान रोकिएको दावी गरेका छन् ।

बडा दशैंको अवसरमा काठमाडौं क्षेत्र नम्बर ४ को पार्टी कमिटीले सो क्षेत्रमा बसोबास गर्ने बुद्धिजिवी तथा सामाजिक व्यक्तिहरुसहित मित्रपार्कमा आयोजना गरेको चियापान कार्यक्रममा नेता भट्टराई सरकार बनेको शुरुदेखि नै पार्टीभित्रकै पूर्व प्रधानमन्त्रीहरुको नेतृत्वमा घेराबन्दी गरिएको बताए ।

तत्कालीन प्रधानमन्त्री ओलीका सल्लाहकार समेत रहेका भट्टराईले ठूलो अवरोधका बीच पनि मुलुकको आर्थिक सूचांक निकै मजबुत बनाएको सरकारलाई चुच्चे नक्साबाट नेपालको गुमेको भूभाग समेटेसँगै विस्थापित गर्ने षड्यन्त्र भएको बताए ।

उनले सरकारलाई कामै गर्न नदिने पार्टीभित्रका नेताहरुलाई पछिल्लो समय विपक्षी दल र विदेशी शक्तिहरुले समेत साथ दिएपछि आफूहरु सरकारबाट हटाइउको दावी गरे ।

भट्टराईले भने–पार्टीभित्रैबाट पूर्व प्रधानमन्त्री समेत रहेका नेताहरुले कामै गर्न दिएनन् । त्यसबीचमा मुलुकको आर्थिक स्थिति पछिल्ला वर्षहरुमध्ये राम्रो भएको थियो । तर पाँच वर्षमा स्थिरता र विकासको बाटोमा लैजाने हाम्रो प्रयासमा अवरोध भयो,जान दिइएन,पार्टीभित्रबाट शुरु भयो र विपक्षी तथा राष्टिय तथा अन्तर्राष्टिय शक्तिको मिलेमतोमा बाहिर पठाइयो ।

भट्टराईले अबको निर्वाचनमा एमाले सोही एजेण्डा लिएर जाने समेत बताए । नेता भट्टराई काठमाडौं ४ बाट दोस्रोपटक गगन थापासँग प्रतिस्पर्धा गर्दैछन् । पहिलोपटक २०७४ मा चुनाव लड्दा भट्टराई झिनो मतले पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर