दसैँको किनमेल गर्दै हुनुहुन्छ ? यी हुन् काठमाडौंका सस्ता बजार – Nepal Press

दसैँको किनमेल गर्दै हुनुहुन्छ ? यी हुन् काठमाडौंका सस्ता बजार

काठमाडौं । नयाँ लुगाका लागि चाड नै पर्खनुपर्ने त होइन तर नेपालमा दसैँ भन्नासाथ नयाँ लुगा र मिठो खानाको चर्चा हुने गरेको छ । अहिले काठमाडौंमा ‘फुटपाथ’ देखि ‘सपिङ मल’ सम्म नयाँ लुगा किन्नेको चहलपहल बढेको छ ।

काठमाडौं महानगरले काठमाडौंको फुटपाथमा कपडा बिक्रीमा केही कडाइ गरे पनि विभिन्न ठाउँमा बेलुका ७ बजेदेखि अझै कपडा बिक्री हुने गरेको छ । अघिल्ला दसैँमा साँझ ५ बजेदेखि भिडभाड हुने फुटपाथ अहिले ७ बजे मात्रै भिडभाड हुने गरेको छ ।

ग्राहकले आफ्नो गच्छेअनुसारको किनमेलका लागि अनुकूल स्थानमा जाने गरेका छन् । दसैँको किनमेल सस्तोमै गर्न चाहनेका लागि पनि काठमाडौंमा केही बजारहरू छन् । व्यापारीबिच तीव्र प्रतिस्पर्धाका कारण काठमाडौंका केही स्थानमा तुलनात्मक रूपमा अन्यत्र भन्दा सस्तैमा लत्ताकपडा किन्न सकिन्छ ।

कहाँ किन्ने सस्तोमा ?

भृकुटीमण्डप : भृकुटीमण्डपमा रहेको खुला बजारमा सस्तो कपडा किन्न सकिन्छ । भृकुटीमण्डप आसपासको फुटपाथ हटाएको कारणले पनि अहिले धेरैको रोजाइमा भृकुटीमण्डप गरेको छ ।

समाज कल्याण परिषद्बाट सञ्चालित भृकुटीमण्डपको भाडा पनि सस्तो भएर कपडा सस्तो हुने गरेको छ । यहाँ चीन र नेपालमा उत्पादन भएका कपडाको विक्री धेरै हुने गरेको छ । सयौँ पसलहरू एकै स्थानमा भएकोले छानिछानी कपडा किन्न पनि भृकुटीमण्डप उपयुक्त स्थान हो ।

बिजनेस कम्प्लेक्स (एनबीटीसी) : कलंकीमा रहेको एनबीटीसीमा पनि तुलनात्मक रूपमा सस्तो बजार हो । सो कम्प्लेक्स १ हजार भन्दा बढी पसल रहेकोले उपभोक्ताले आफ्नो रोजाइ अनुसार लत्ता कपडा खरिद गर्न सक्छन् ।

लगनखेलको मिनी बजार : लगनखेलको मिनी बजार पनि सस्तोमा कपडा किन्न सकिन्छ । सस्तो मूल्यमा गुणस्तरीय सामान पाइने भएकाले लगनखेलको मिनी बजार पनि सर्वसाधारणका धेरै भीड लाग्ने गरेको छ । काठमाडौंको पुरानो र सस्तो बजारका रूपमा मिनी बजारलाई लिइने गरेको छ । त्यहाँ जुनसुकै चाडपर्व पनि सामान किन्ने ग्राहकको भीड लाग्ने गरेको छ ।

असन : काठमाडौंको प्राचीन बजारका रूपमा रहेको असन अहिले पनि ‘नुनदेखि सुनसम्म’का लागि परिचित छ । न्यूरोड, महाबौद्ध हुँदै असनसम्मको क्षेत्रका पसलमा सेल नै लागि रहेको छ । अधिकांश पसलमा ‘सेल मेला’ लाग्ने हुँदा तुलनात्मक रूपमा असन बजार लत्ता कपडा किन्नका लागि सस्तो र उपयुक्त गन्तव्य हो । दसैँको बेलामा भिडभाड धेरै हुने भएकोले किनमेलमा जाँदा ध्यान दिनु चाहिँ जरुरी छ ।
काठमाडौंमा यी लगायत धेरै ठाउँमा साँझ लाग्ने फुटपाथ बजारमा पनि सस्तोमा कपडा पाइन्छ । साँझ ७ बजेदेखि विभिन्न क्षेत्रमा लाग्ने फुटपाथमा ग्राहकले खोजेको मूल्यमा सामान पाइने गरेको छ ।

कपडा किन्दा कतिसम्म मोलमोलाइ गर्ने ?

लत्ता कपडा किन्दा सस्तो मात्रै हेरेर हुँदैन, सचेत पनि हुनुपर्छ । सामान्य कपडा पसलदेखि ठूला मलसम्म कपडामा मोलमोलाइ हुने गर्छ । मोलमोलाइ गरेन भने व्यापारीले ग्राहकलाई धेरै मुनाफा लिएर कपडा बिक्री गर्छन् ।

सामान्य बजारमा १ हजार पर्ने जिन्स पाइन्टलाई व्यापारीले ग्राहकको ‘अनुहार हेरेर’ ३ हजारदेखि ४ हजारसम्म मूल्य तोक्ने गरेका छन् । अन्य वस्तुमा जस्तो कपडामा लेबल तोकिएको हुँदैन । त्यसैले पनि व्यापारीले आफूखुसी मूल्य राखेर ग्राहक अनुसार फरक–फरक मूल्य लिने गरेका छन् ।

चाडपर्व लगायतको समयमा कपडा किन्दा ग्राहकले सस्तोमा पाउनका लागि धेरै मोलमोलाइ गर्नुपर्छ । ४ सय मूल्यमा दिन मिल्ने टिसर्टको मूल्य व्यापारीले १५ सयको हाराहारीमा भन्ने गरेका छन् । व्यापारीले लगाएको मूल्यमा ग्राहकले कति मोलमोलाइ गर्न सक्छ त्यही अनुसार कम मूल्यमा कपडा पाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *